स्वास्थ्य व्यवसायी परिषद्ले पायो लाइसेन्सिङ परीक्षा सञ्चालन अनुमति

हेल्थपोस्ट
प्रकाशित
२०७६ कार्तिक १९ गते १५:५५

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्वास्थ्यकर्मीको लाइसेन्सिङ परीक्षा सञ्चालन गर्न स्वीकृति पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णयबाट परिषद्लाई कार्यविधि बनाएर परीक्षा सञ्चालनको अनुमति दिएको हो । यसअघि प्रवेश परीक्षाविनै स्वास्थ्यकर्मीहरू प्रमाणपत्रका आधारमा परिषद्मा दर्ता हुँदै आएका थिए ।

मन्त्रालयले मंगलबार परिषद्लाई अनुमतिको पत्र दिएको छ । मन्त्रालयले आइतबार परिषद्लाई लाइसेन्स परीक्षा सञ्चालनको अनुमति दिने निर्णय गरेको थियो । स्वीकृति पाएसँगै तत्कालै परीक्षाका लागि आवश्यक प्रक्रिया बढाउने परिषद्ले जनाएको छ । परिषद्को ऐन तथा नियमावलीले स्वास्थ्यकर्मीको नाम दर्ताका लागि परिषद्ले लाइसेन्सिङ परीक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ ।

परिषद्ले लाइसेन्सिङ परीक्षा सञ्चालनका लागि २ वर्षअघि तयारी बढाएको थियो । परीक्षा सञ्चालनका लागि भन्दै परिषद्ले २० लाख रूपैयाँ खर्चिएर मेसिनसमेत खरिद गरेको थियो । तर, कार्यविधि र ठोस योजनाविनै अघि बढ्दा महँगो मूल्यमा किनेको मेसिन र अन्य प्रयास अहिलेसम्म अलपत्र अवस्थामा थिए ।

परिषद्को वर्तमान कार्यसमितिले आफू निर्वाचित भएसँगै कार्यविधि बनाएर लाइसेन्सिङ परीक्षा सञ्चालन गर्ने निर्णयसहित मन्त्रालयमा स्वीकृति माग गरेको थियो । स्वीकृति प्रप्त भएसँगै ऐनको व्यवस्था कार्यान्वयनका साथै स्वास्थ्यकर्मीको गुणस्तरमा सुधार आउने भएको छ । पहिलो चरणमा स्नातक तहको योग्यताका स्वास्थ्यकर्मीको परीक्षा सञ्चालन गर्ने योजनामा परिषद् छ । त्यसपछि चरणबद्ध रूपमा अन्य स्वास्थ्यकर्मीको परीक्षा सञ्चालन गर्दै जाने परिषद्ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय