पदभार ग्रहणलगत्तै काउन्सिल अध्यक्ष डा. कोइरालाले थाले विद्यार्थीमारा मेडिकल कलेजमाथि कारबाहीको पहल

नेपाल मेडिकल काउन्सिलका नवनियुक्त अध्यक्ष प्रा.डा. भगवान कोइरालाले विद्यार्थीमाथि ज्यादती गर्ने मेडिकल कलेजहरूमाथि कारबाहीको पहल थालेका छन् । सोमबार अध्यक्ष कोइरालाले पदभार ग्रहण गरेकै दिन काउन्सिलले विद्यार्थीमाथि भइरहेको मेडिकल कलेजहरूको ज्यादती र शोषणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूमाथि छानबिन र कारबाहीका लागि आफ्नोतर्फबाट पहल थाल्ने भएको छ । यद्यपि, चिकित्साशिक्षा आयोगको गठनसँगै मेडिकल कलेजको नियमन र नियन्त्रणसम्बन्धी अधिकार आयोगमा गएको छ ।

काउन्सिलले छानबिन समिति बनाएर समस्याग्रस्त मेडिकल कलेजहरूमा स्थलगत अनुगमन गरी दोषी देखिएकाहरूलाई कारबाहीका लागि आयोगमा लेखी पठाउने विज्ञप्तिमार्फत जानकारी दिएको छ । त्यसैगरी, काउन्सिलले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीलाई कलेजले कुटपिट गर्ने, बन्धक बनाउने, डर–त्रास–धम्की देखाउनेलगायत विषयमा मेडिकल कलेजका सञ्चालक, प्राचार्य तथा प्रशासकीय पदाधिकारीहरूसँग स्पष्ट बुझी आवश्यक कारबाही अगाडि बढाउन आयोगमा लेखी पठाउने भएको छ । आयोग बनिसकेको अवस्थामा मेडिकल कलेजहरूमाथि कारबाही, नियमन तथा नियन्त्रणको मूल काम आयोगको जिम्मेवारीमा गएकाले त्यसका लागि काउन्सिलले आवश्यक सहयोग गर्दै आयोगसमक्ष पहल गर्ने भएको हो ।

मेडिकल कलेजहरूले विभिन्न मेडिकल कलेजहरूमा अध्ययनरत विद्यार्थी आर्थिक, मानसिक तथा अन्य प्रकारको शोषण गर्दै आएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको काउन्सिलको भनाइ छ । कलेजहरूले सरकारले तोकेभन्दा बढी अवैध शुल्क असुलेको र सोको फिर्ताका लागि शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्नेक्रममा विद्यार्थीमाथि कुटपिट तथा बन्धक बनाउने काम भएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको काउन्सिलले जनाएको छ ।

विद्यार्थीमाथि भएको अमानवीय कार्य तथा मेडिकल कलेजसम्बन्धी अन्य समस्या समाधानका लागि बृहत् छलफल र अध्ययन गरी तत्कालै उल्लेखित कदमहरू आरम्भ गर्ने काउन्सिलले बताएको छ । साथै, काउन्सिलले चिकित्साशिक्षा र चिकित्सा व्यवसायसँग सम्बन्धित विषय आफ्नो कार्यक्षेत्रभित्रै पर्ने भएकाले त्यहाँका हरेक समस्या, जटिलता तथा सम्भावनाहरूको सम्बोधन गर्ने काममा आफू सधैँ प्रतिबद्ध रहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय