१७औँ सत्याग्रह सुरु गर्न डा. केसी डडेल्धुरामा, अनशन बस्नुअघि स्वास्थ्यपरीक्षण जारी

चिकित्साशिक्षा सुधार अभियन्ता प्रा.डा. गोविन्द केसी १७औँ सत्याग्रह सुरु गर्न सुदूरपश्चिमको डडेल्धुरा जिल्ला पुगेका छन् ।  अनशन बस्नुअघि यतिवेला डा. केसीको स्वास्थ्यपरीक्षण भइरहेको छ । १६औँ अनशन पूर्वी नेपालको इलामबाट सुरु गरेका डा. केसी यसपटक सुदूरपश्चिम पुगेका हुन् ।

डडेल्धुरामा डेटा मेडिकल कलेज निर्माणाधीन अवस्थामा छ । कलेज सञ्चालनको निर्णय भएको लामो समय भए पनि अझै पठन–पाठन सुरु हुन सकेको छैन । मुलुकका दुर्गम क्षेत्रमा सरकारले आफ्नै लगानीमा सरकारी मेडिकल कलेज सञ्चालन गर्नुपर्ने माग डा. केसीले उठाउँदै आएका छन् ।

१६ पटकसम्म सत्याग्रह चलाउँदा डा. केसी त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानमा प्राध्यापकका रूपमा कार्यरत थिए । अवकाशपछि डा. केसीको यो पहिलो अनशन हो । उनले चिकित्साशिक्षा सुधारका लागि २१ असार ०६९ मा आफू कार्यरत त्रिवि शिक्षण अस्पतालबाट पहिलो अनशन सुरु गरेका थिए । त्यसपछि पटक–पटक कठोर अनशनमार्फत चिकित्साशिक्षा सुधारका अनगिन्ती क्षेत्रमा सरकारलाई सम्झौता गराएका डा. केसीका केही महत्त्वपूर्ण मागमा सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेपछि उनले १७औँ अनशन थालेका हुन् ।

२७ असोजमा उमेरहदका कारण सेवाबाट अनिवार्य अवकाश पाएकै दिन डा. केसीले विगतका सत्याग्रहका क्रममा आफूसित सरकारले आफूसित गरेका सम्झौता कार्यान्वयनसहित ६ बुँदे माग राख्दै त्यसलाई पूरा गर्न ८ कात्तिकसम्मको समयसीमा दिएका थिए । तोकिएको समयभित्र माग पूरा नगरेमा तिहार सकिएलगत्तै १३ कात्तिकदेखि १७औँ अनशन सुरु गर्ने चेतावनी दिएका डा. केसीले सरकारले त्यसलाई बेवास्ता गरेपछि तिहार, छठजस्ता महत्त्वपूर्ण पर्वलाई मध्यनजर गर्दै अनशनको मिति १८ कात्तिकलाई सारेका थिए । १७औँ सत्याग्रह सुरु गर्ने मिति तोके पनि उनले अनशनस्थलबारे भने जानकारी दिएका थिएनन् ।

यस्ता छन् डा. केसीका ६ बुँदे माग
१. हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्साशिक्षा ऐनमा संशोधन गरियोस् ।

२. विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाबअनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गरियोस् ।

३. आन्दोलनरत मेडिकल विद्यार्थीका माग पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रूपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस् । अर्बौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरूलाई फौजदारी कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरियोस् ।

४. संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सिट संख्यामा वृद्वि गर्नेसम्बन्धीलगायत निर्णय तत्काल खारेज गरियोस् ।

५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस कार्यक्रम सञ्चालन गरियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी ःम्न्ए कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढंगले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरियोस् । प्रदेश २ र ४ तथा डोटी र डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।

६. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा दलीय भागबन्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरूलाई नियुक्त गरियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय