बलियो नेपाल पोषण अभियानबारे उठेका जिज्ञासाको समाधान

बलियो नेपाल पोषण अभियानको शुभारम्भमा सम्माननीय राष्ट्रपतिज्यूसँग केही कुरा गरियो । धेरैले यो अभियानबारे जिज्ञासा राखेकाले एकमुष्टमा छोटा–छोटा उत्तर दिँदै छु ।

१. पोषण कार्यक्रम अरू पनि छन्, यो किन फरक ?
नेपालमा ५ वर्षमुनिका ३६% बालबालिका दीर्घकुपोषणको सिकार छन् । सन् २०३० सम्म यसलाई १५% मा झार्ने लक्ष्य छ, जुन परम्परागत पोषण कार्यक्रमबाट मात्र सम्भव छैन । दिगो विकास लक्ष्य प्राप्तिका लागि वार्षिक औसत २० खर्ब रुपैयाँ लाग्नेछ, जसमध्ये सरकारले ५७% र निजी क्षेत्रले ३७% लगानी गर्नुपर्नेछ । प्रेरणादायी जनचेतनामार्फत स्वस्थ आहारको माग बढाउने र खाद्य उत्पादनको पोषण गुणस्तर बढाउन निजी र सामुदायिक संस्थासँग एकैपटक काम गर्ने, सहयोग बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन (बिएमजिएफ) को हुनेछ ।

यो समयसीमा भएको अनुदानमा आधारित प्रोजेक्ट होइन, सित्तैँमा केही नदिने दिगो अभियान हो, जुन निरन्तर चलोस् भन्ने ध्येय छ । पछि बलियो ‘लोगो’को प्रयोगबाट संस्थालाई आय पनि आउला । अप्रिल २०१९ देखि यो स्वतन्त्र, गैरमुनाफामुखी संस्थाका रुपमा दर्ता भएको छ । डेढ–दुई महिनामा एकपटक हुने बोर्ड बैठकको अध्यक्षता गर्छु ।

२. ‘पोषण गुणस्तर’ कसरी नाप्ने ?
अस्ट्रेलियाको हेल्थ स्टार रेटिङ (एचएसआर) मा ३ स्टारभन्दा माथि तोकिएका उत्पादनसँग मात्रै काम गरिनेछ, जस्तै लिटो । पत्रु भनिने प्रायः जंकफुडको स्तर १ को हाराहारी भएकाले हामी तिनलाई छुँदैनौँ । एचएसआरको उद्देश्य सुगर, सोडियम, स्याचुरेटेड फ्याट र क्यालोरी घटाउने अनि फाइबर, प्रोटिन, फलफूल, तरकारी, गेडागुडीको आहार बढाउने हो ।

३. अर्थशास्त्री मान्छे, किन पोषणमा हात हालेको ?
योजना आयोगको उपाध्यक्ष हुँदा नेपालको ‘बहुक्षेत्रगत पोषण योजना, २०१८–२०२२’ तयार गरियो । नेपालमा आज सुरु हुने स्केलिङ अप न्युट्रिसन (एसयुएन) को विश्वसम्मेलनको बिउ त्यहीवेला रोपेको हो । सम्मेलनमा ६१ देशका १२०० व्यक्ति आउँदै छन् । मानव संसाधन अर्थशास्त्रमा रुचि पुरानो हो, नोबेल विजेताहरु शुल्त्ज, सोलो, हेक्म्यान, बेनर्जीको कामबाट प्रभावित छु । जन्मेदेखि २३ महिनाको अवधिमा गरिने स्वास्थ्य र पोषणको लगानी पछि कैयन गुणा राष्ट्रले जिडिपी वृद्धिमार्फत उठाउने कुरा रोचक शोधको विषय छँदै छ । संयुक्त राष्ट्रसंघ (युएन) को पाँचवटा ‘मानव विकास प्रतिवेदन’मा काम गरियो ।

४. बिल गेट्स धनी छन्, उनको फाउन्डेसनले तलब पैसा टन्न दिएको होला नि ?
यो अवैतनिक पद हो । एक पैसा पनि तलब, भत्ता र सुविधाका रुपमा लिएको छैन । मेरो नैतिक ब्रह्मास्त्र यही हो । कोही पनि बोर्ड सदस्य वा सल्लाहकारले पैसा पाउन्नन् । यो स्वःस्फूर्त स्वयंसेवाको भावनाबाट प्रेरित राष्ट्रिय अभियान हुनेछ । मैले पैसा लिएको प्रमाण ल्याए त्यो रकमको दोब्बर तपाईंलाई नै दिन्छु ।

५. पत्रु खानामा पोषकतत्त्व मिसाउने हल्ला कसरी चल्यो ?
सन् २०१७ मै बिएमजिएफलाई नेपालमा काम गर्न प्रोत्साहन गर्ने उद्योगपति विनोद चौधरीको प्रसिद्धि वाईवाई चाउचाउसँग जोडिएको छ । बलियो नेपाल अभियान सुरु गर्न बिएमजिएफले चौधरी फाउन्डेसनलाई सन् २०१८ (अक्टोबर) मा केही रकम पनि दियो । नेपालमा चाउचाउको खपत व्यापक भएकाले यसैमा पोषकतत्त्व हाल्न सकिन्छ कि भनेर बिएमजिएफले अध्ययन गरेको चाहिँ रहेछ । तर, स्वाद फेरिने, टोक्न असजिलो र महँगो हुने भएपछि यो छलफल अघि नबढेको मलाई बताइयो ।

६. केही नगर्नुभन्दा त्यस्ता खानालाई थप पोषक बनाउँदा राम्रै हुन्थ्यो भन्ने पनि छन् नि ?
छन्, तर हामी त्यसमा लाग्दैनौँ । अरुले गरे उहाँहरुकै मर्जी ।

७. सरकारको कामलाई कसरी सघाएका छौ ?
बहुक्षेत्रगत पोषण योजना (एमएसएनपी–२) को सचिवालय योजना आयोगमा छ । उसले स्वास्थ्यलगायत ५ वटा मन्त्रालयको पोषणसम्बन्धी कामको संयोजन गर्छ । एमएसएनपीमा निजी र सामुदायिक क्षेत्रको ठूलो भूमिका उल्लेख छ । हामी राष्ट्रिय र प्रादेशिक योजना आयोगसँग मिलेर काम गर्छौं ।

८. सबै कुरा सुन्दा यो अभियान गज्जब होलाजस्तो छ, म कसरी जोडिने ?
यो भिडिओ हेर्नुहोस् : tinyurl.com/y6lzgpjc

यो पढ्नुहोस् : tinyurl.com/y6gegqat

यो पनि पढ्नुहोस् : baliyonepal.com/faq

अनि, हाम्रो सचिवालयमा सम्पर्क गर्न आउनुहोस्, बलियो नेपाल बनाउन सही पोषणमा काम गरौँ । छिट्टै प्रदेश ५ मा जाँदै छौँ, लिटो र अण्डा बोकेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय