काउन्सिलमा युवा चिकित्सक संघको तालाले ६७२ विशेषज्ञ चिकित्सकको शनिबारको लाइसेन्सिङ परीक्षा प्रभावित होला ?

युवा चिकित्सक संघ नेपालले नेपाल मेडिकल काउन्सिलमा गरेको तालाबन्दीका कारण चिकित्सकको शनिबारको विशेषज्ञ लाइसेन्सिङ परीक्षाको तयारीमा समस्या देखिएको छ । संघले कानुनविपरीत चल्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्नुपर्नेलगायत माग राख्दै शुक्रबार काउन्सिलमा तालाबन्दी गरेको थियो । यससँगै २३ कात्तिक (शनिबार) का लागि निर्धारित स्पेसलिस्ट लाइसेन्स परीक्षा प्रभावित हुने देखिएको हो ।

आइतबार मात्र काउन्सिलले नयाँ अध्यक्षका रूपमा प्रा.डा. भगवान कोइरालालाई पाएको छ । मन्त्रिपरिषद्ले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालालाई अध्यक्षमा नियुक्त गरेसँगै ५ महिनाको प्रतीक्षापछि काउन्सिलले नयाँ अध्यक्ष पाएको हो । यद्यपि, कार्यकक्षमा संघको तालाबन्दीका कारण उनले कार्यभार सम्हाल्न भने पाएका छैनन् । एक महिनाअघि त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि एक नम्बरमा सिफारिसमा परेका डा. कोइरालालाई उपकुलपतिमा यसअघिका काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बास्कोटाले उछिनेका छन् । काउन्सिलमा अझै रजिस्ट्रार र ५ सदस्य पद रिक्त छन् ।

अवैध असुल गरिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्नेलगायत माग राखेर देशभरका मेडिकल कलेजका विद्यार्थीले महिनौँदेखि आन्दोलन गरिरहँदा विद्यार्थीको जायज आवाज र सरकारको निर्देशनलाई समेत अटेरी गर्ने मेडिकल कलेहरूलाई कारबाही गर्नतर्फ काउन्सिलले कुनै कदम नचालेको भन्दै संघले तालाबन्दी गरेको हो । संघले विद्यार्थीको समस्या समाधानमा मौन रहेको भन्दै काउन्सिलका अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारसमेतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । अवैध शुल्क फिर्ता नगर्ने ४ वटा कलेजको सम्बन्धन खारेज गर्नुपर्ने माग संघको छ ।

संघको माग काउन्सिलसँग विलकुलै असम्बन्धित– उपाध्यक्ष डा. थापा
काउन्सिल भने राष्ट्रिय चिकित्साशिक्षा आयोग गठनसँगै मेडिकल कलेजको नियमनसम्बन्धी सम्पूर्ण अधिकार आयोगमा गएकाले कारबाहीमा अफ््नो कुनै भूमिका नहुने बताउँछ । यद्यपि, कलेजका सिटनिर्धारणलगायत काम यो वर्ष पनि आयोगको निर्देशनमा काउन्सिलले नै गर्दै आएको छ । मेडिकल कलेजको नियमन र नियन्त्रणसम्बन्धी सम्पूर्ण अधिकार आयोगमा गइसकेको अवस्थामा संघको मागमा काउन्सिलको कुनै दायित्व नभएको काउन्सिलका उपाध्यक्ष डा. नारायणविक्रम थापा बताउँछन् । गत साउनमा अध्यक्ष पद रिक्त भएदेखि आइतबारसम्म काउन्सिलको जिम्मेवारी डा. थापाले नै सम्हाल्दै आएका थिए ।
‘हामीसँग कुनै सरोकार नभएको विषयलाई लिएर संघले तालाबन्दी गरेको छ,’ उपाध्यक्ष डा. थापा भन्छन्, ‘केही गरी एक्जाम सरेको खण्डमा यसको जवाफदेही संघ नै हुनुपर्छ ।’ २३ गतेका लागि तोकिएको लाइसेन्सिङ परीक्षामा ४८ वटा छुट्टा–छुट्टै विधामा ६ सय ७२ पिजी गरेका चिकित्सक परीक्षार्थी सम्मिलित हुँदै छन् ।

संघका महासचिव डा. लोहनी भन्छन्– जिम्मेवार व्यक्तिले उत्तरदायित्व वहन गरे परीक्षालाई असर पुर्याउँदैनौँ


सबै निकायमा पटक–पटक हाम्रा माग लिएर जाँदा पनि केही सुनुवाइ नभएकाले संघले सबै सम्बन्धित निकायलाई एकैपटक ज्ञापनपत्र बुझाउँदै काउन्सिलमा तालाबन्दी गरेको युवा चिकित्सक संघ नेपालका महासचिव डा. सुलोचन लोहनी बताउँछन् । ‘आयोग बने पनि मेडिकल काउन्सिलले हालसम्म मेडिकल कलेजको सिट निर्धारणको काम गर्दै आएको छ,’ महासचिव डा. लोहनीले भने, ‘डा. गोविन्द केसीको आन्दोलनका कारण मेडिकल कलेजका केही सिट कटौती भएका थिए, अवैध असुल्ने मेडिकल कलेजको सिटसंख्या घटाए मात्र पनि केही हदसम्म कारबाहीको दायरामा आउँछन् ।’

काउन्सिलका जिम्मेवार व्यक्तिले आफ्नो उत्तरदायित्व वहन गर्न खोजेको खण्डमा संघभित्र छलफल गरी परीक्षामा रोकतोक नगर्ने डा. लोहनी बताउँछन् । ‘चिकित्सकको भविष्यप्रति हामीलाई पनि चिन्ता लाग्छ,’ डा. लोहनी भन्छन्, ‘सम्बन्धित निकायले यस विषयलाई आफ्नो ठाउँबाट सकेजति पहल गरेमा समस्या समधान हुने देखिन्छ ।’

सरकारले सबै मेडिकल कलेजहरूलाई अवैध असुलेको अतिरिक्त शुल्क फिर्ता गर्न निर्देशन दिए पनि कलेजहरूले अटेरी गर्दै आएका छन् । अवैध शुल्क फिर्ता नगरेको भन्दै युनिभर्सल, गण्डकी, चितवन र नेसनल मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा छन् । सरकार र कानुनलाई अटेरी गर्दै विद्यार्थीको आवाज दबाउनमा उद्यत यी चारवटै मेडिकल कलेजको सम्बन्धन खारेज गर्नुपर्ने माग संघको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय