पुन दम्पतीको सहयोगले ४ डाक्टर

कृष्ण मल्ल
प्रकाशित
२०७६ कार्तिक १७ गते १०:५९

बुटवलका एक दम्पती अक्षयकोष स्थापना गरी आर्थिक अभावका कारण पढाइबाट टाढिने अवस्थामा पुगेका बालबालिकालाई सहयोग गर्नमा लागेका छन् । उनीहरूले सुरु गरेको शैक्षिक क्षेत्रको सामाजिक कामले सामाजिक काम गर्न मन पनि हुनुपर्छ भन्ने सन्देश दिएको छ । सँगसँगै उनीहरूको यो कामले परिवारका लागि मात्र धनसम्पत्ति बटुल्न मरिहत्ते गर्नेहरूका लागि सेवाभावको सन्देश दिएको छ ।

खेमराज पुन र ओमीकला पुन बुटवलको एक औषधि पसलका थोक बिक्रेता हुन् । यी दम्पतीले खेमओमी पुन कल्याणकारी प्रतिष्ठान स्थापना गरी पैसा नभएर पढ्नबाट वञ्चित बालबालिकालाई सहयोग गरिरहेका छन् ।

प्रतिष्ठानले अहिले १५ जनाको पठन–पाठनमा सहयोग गरिरहेको छ । त्यसमध्ये ११ जना छात्र र ४ जना छात्रा छन् । तीमध्ये ४ जनाले एमबिबिएस पूरा गरिसकेका छन् भने २ जना बन्नेक्रममा छन् । डा. नगेन्द्र श्रीश, डा. जमुना श्रेष्ठ, डा. विपिन चौधरी र डा. काशीराम विक प्रतिष्ठानकै सहयोगमा डाक्टर बनेका हुन् । राजकुमार गुप्ता र दिनेश बफाल पुन एमबिबिएस अध्ययन गरिरहेका छन् । अर्का एकजना दीपक जिआर युनिभर्सल मेडिकल कलेज भैरहवामा बी फार्मेसी पढिरहेका छन् । अन्य ५ जना डिप्लोमा तहको अध्ययन गरिरहेका छन् । प्रतिष्ठानको सहयोगमा विद्यालय तहमा ४ जना अध्ययन गरिरहेका छन् ।

परोपकारी मन भएका दम्पतीले कमाइको केही रकम छुट्याएर सामाजिक क्षेत्रमा सक्रियता देखाएका हुन् । उनीहरूको सहयोग आर्थिक अभावका कारण पढ्न कठिन भएका बालबालिकाका लागि हो । सुरुवातमा खेमराज पुनले आफ्नो जन्मदिनको अवसरमा १७ लाख रुपैयाँ अक्षयकोषमा छुट्याएर बालबालिकालाई पढाउने कामको थालनी गरेका थिए । उनले ०७० सालमा आफ्नो ५१औँ जन्मदिनका अवसरमा यो काम सुरु गरेका हुन् । त्यसपछि उनले जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा ०७१ मा खेमओमी पुन कल्याणकारी प्रतिष्ठान दर्ता गरे । संस्थामा सामाजिक काममा सक्रिय व्यक्तिहरूलाई समावेश गरी सामुदायिक संस्थाको रूपमा विकास गरे । हाल सो अक्षयकोषको परिचालनमार्फत बालबालिकाले अध्ययनमा सहयोग पाउँदै आएका छन् ।

पुनले बर्सेनि अक्षयकोषमा रकम थप्दै आएका छन् । उनले ०७१ को जन्मदिनमा ८ लाख, ०७२ मा ८ लाख, ०७३ मा ८ लाख रकम अक्षयकोषमा थप गरे । त्यसैगरी, ०७४ सालको जन्मदिनमा ९ लाख, ०७५ सालमा १२ लाख र ०७६ सालमा १३ लाख रकम अक्षयकोषमा थप गरेका छन् । १७ लाखबाट सुरु भएको अक्षयकोषमा अहिले ७५ लाख पुगेको छ । पुन दम्पतीको अक्षयकोषमार्फत पठन–पाठनमा सहयोगको काम अहिले छैटौँ वर्षमा प्रवेश गरेको छ ।

प्रतिष्ठानको सहयोगमा एमबिबिएस पढ्नेहरू के भन्छन् ?

डा. काशीराम विक

मैले अरूको सहयोगमा कक्षा १२ उत्तीर्ण गरेँ । त्यसपछि एक वर्षसम्म निजी स्कुलमा पढाएर पैसा जम्मा गरेँ । नेपाल सरकार शिक्षा मन्त्रालयको एमबिबिएस छात्रवृत्तिको परीक्षामा नाम निस्किएपछि गाउँमा ऋण खोजेर पढ्ने निधो गरेँ । छात्रवृत्तिबाट ३० लाख शुल्क मिनाहा भए पनि बस्न, खान, आन्तरिक परीक्षा शुल्क, प्रयोगात्मक सरसामानलगायतलाई लाग्ने पैसा मसँग थिएन । महिना बित्दै गर्दा खर्च कसरी जुटाउने भन्ने चिन्ता हुन्थ्यो । त्यही चिन्ताका बीच खेम अंकल मेरो दुःखको अभिभावक बनिदिनुभयो । उहाँको सहयोगमा एमबिबिएस पढाइ पूरा गरेर हाल जिल्ला अस्पताल गुल्मीमा कार्यरत छु । उहाँले गरेको सहयोग र गुन म शब्दले वर्णन गर्न सक्दिनँ । त्यो सहयोगको ऋण म कसरी तिर्न सकूँला र !
डा. काशीराम विक
जिल्ला अस्पताल, गुल्मी

मेरो परिवारमा म, दिदी र भाइ छौँ । हाम्रो परिवार निम्न वर्गीय परिवार हो । म सानै छँदा बुबाको देहान्तपछि घरमा आर्थिक अभाव भएको थियो । घरको सबै दायित्व आमामाथि आइपर्यो । कक्षा १२ पछि शिक्षा मन्त्रालयले लिएको परीक्षामा एमबिबिएस पढ्नका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेँ । तर, पढ्नका लागि खाने, बस्ने र शैक्षिक सामग्रीका लागि आर्थिक स्रोत थिएन । यस अवस्थामा खेम ओमी पुन कल्याणकारी प्रतिष्ठान मेरा लागि सञ्जीवनी बुटी बनिदियो । मेरा लागि उहाँहरू जीवनकालभरका लागि सहयोगी र प्रेरणाको स्रोत बन्नुभएको छ । उहाँको प्रेरणाको गुन तिर्न म प्रतिष्ठानमा संलग्न रहेर सामाजिक काममा अघि बढ्नेछु ।

डा. जमुना श्रेष्ठ

डा. जमुना श्रेष्ठ
मणिपाल मेडिकल कलेज, पोखरा

म गण्डकी मेडिकल कलेज पोखरामा एमबिबिएस अध्ययन गरिरहेकी छु । मेरो घर सुर्खेत रजेना हो । यो संसारमा अरूका लागि सोच्ने मान्छे पनि हुँदा रहेछन् । त्यही सोचका व्यक्ति खेम अंकलको सहयोगबाट म डाक्टर पढ्ने सपना पूरा गर्दै छु । माओवादीमा लागेको अवस्थामा बुबाको मृत्यु, घरमा आम्दानीको बाटो नभएकी मजस्तालाई माथिल्लो कक्षाको पढाइ सपनाजस्तो हुँदो रहेछ । उहाँको सहायोगविना मेरो डाक्टर बन्ने सपना कसरी पूरा हुन्थ्यो र ?

दिनेश बफाल पुन मगर
गण्डकी मेडिकल कलेज, पोखरा

वीरगन्जमा होम ट्युसनको फिस निकै कम थियो । ५ सयदेखि एक हजार मात्र एउटा ट्युसनबाट आउँथ्यो । म दिनमा ६ वटा ट्युसनसम्म पढाउँथेँ । ट्युसनबाट महिनाको ७ हजारजति आउँथ्यो । तर, मैले कलेजमा १७ हजार बुझाउनुपर्थ्यो ।

दिनेश बफाल पुन मगर

बिहान र साँझ ट्युसन पढाउँदैमा म थाक्थेँ । ट्युसन पढाउँदा मलाई पढ्न गाह्रो भइरहेको थियो । प्रथम त्रैमासिक परीक्षामा म फेलसमेत भएँ । पढाइभन्दा पनि पैसा कसरी जुटाउनेतिर मेरो ध्यान गएको थियो । खेमओमी पुन कल्याणकारीले सहयोग सुरु गरेपछि मैले ट्युसन घटाएर तीनवटामा झारेको छु । अहिले उहाँको सहयोगबाट मलाई राहत मिलेको छ ।
राजकुमार गुप्ता
नेसनल मेडिकल कलेज, वीरगन्ज

के भन्छन् अभिभावक ?
मेरो छोराले पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठान, ललितपुरबाट फुल स्कलरसिपमा डाक्टरको पढाइ पूरा गरेको छ । उसले ०७५ मा पढाइ पूरा गरेको हो । अहिले पृथ्वीचन्द्र अस्पतालमा जागिर सुरु गरेको छ । डाक्टर पढ्न भर्ना गरेको छोरालाई बस्ने, खाने, शैक्षिक सामग्रीलगायत खर्च धान्न नसकेका कारण पढ्न सक्ने अवस्था भएन । बीचमै कक्षा छाड्नुपर्ने अवस्था आयो । म मजदुर हुँ, गाह्रो लगाउने काम गर्छु । धेरै ठाउँमा हारगुहार गरेँ, तर केही उपलब्धि भएन । म प्रतिष्ठानमा आएँ । छोराको तेस्रो वर्ष चल्दै थियो । ढुंगा खोज्दा देउता भेटिन्छ भनेझैँ भयो मलाई । छोरालाई कुरा सुनाएँ । छोराले साथी सुतेपछि ल्यापटप प्रयोग गर्थ्यो । त्यतिखेर ल्यापटप नै किनिदिनुभयो ।

प्रतिष्ठानले सहयोग नगरेको भए मैले छोराको पढाइ छोडाएर घर ल्याउनुपर्ने अवस्था थियो । छोरो डाक्टर भएपछि समाजले हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ । मैले कक्षा ९ सम्म पढेर छाडेको हुँ । गरिबको डाक्टर पढाइमा पहुँच छैन, तर प्रतिष्ठानको सहयोगले मेरो सपना साकार भएको छ ।
नाथुप्रसाद चौधरी
अभिभावक (डा. विपिन चौधरीका बुबा)
बुटवल, भुड्कैया

मेरा दुई छोरी र एक छोरा छन् । पढाइमा तीन छोराछोरी नै राम्रा निस्किए, तर पढाउन पैसा पुगेन । छोरीहरू जमुना श्रेष्ठले मणिपाल मेडिकल कलेज पोखरामा एमबिबिएसमा र गंगाले नेपाल मेडिकल कलेजमा बिडिएसमा फुल स्कलरसिपमा नाम निकालेपछि एकातिर खुसीको सीमा रहेन भने अर्कोतर्फ कसरी पढाउने भन्ने चिन्ता थपियो । मेरो सानो चियापसल थियो । शुल्क तिर्न नपरे पनि खान, बस्न र शैक्षिक सामग्रीका लागि सहयोग चाहिने भयो । गोरखा स्थायी घर भए पनि बुटवलमा डेरामा बस्दै आएको हाम्रो परिवारमा छोरीलाई डाक्टर पढ्नका लागि समस्या भयो । छोरी पढाउन पठाउने कि नपठाउने भन्ने दोधारमा परेका हामीलाई खेम ओमी पुनको सहयोगले आँट आयो र मैले छोरीलाई पढ्न पठाएँ ।
सुशीला श्रेष्ठ
अभिभावक (डा. जमुना श्रेष्ठ)
चुवाकोट, गोरखा

नानी ४ वर्ष र बाबु ९ वर्षको हुँदा श्रीमान् बित्नुभयो । मैले पाल्पामा ढाका बुनेर बच्चा हुर्काएँ, पढाएँ । एसएलसी दिएपछि छोरा टेक्निकल लाइन पढ्छु भनेर र बुटवल झर्यो । स्कलरसिपमा नाम निकाल्न मिहिनेत गरेर पढ्यो । इन्ट्रान्स दियो, २ नम्बरमा नाम निकाल्यो । मायादेवी टेक्निकल कलेज बुटवलमा ३ वर्ष फार्मेसी पढ्यो । काठमाडौंको संस्थाले गाडीभाडा मात्र सहयोग गर्यो । छोराले करिब दुई वर्ष पढाइ छाडेर काम गर्यो ।

पछि फेरि माथिल्लो कक्षा पढ्न कस्सियो । माथिल्लो अध्ययनका लागि पनि फुल स्कलरसिप पाएपछि फेरि खर्च चाहियो । मेरो मासिक पाँच हजारको जागिरले के पुग्थ्यो र ? खेमओमी संस्थासँग सम्पर्क भयो । उहाँहरूले सहयोगको हात बढाउनुभयो । अहिले छोरा युनिभर्सल मेडिकल कलेज भैरहवामा बी फार्मेसी पढिरहेको छ । बुटवल बसेर पढ्छ । संस्थाबाट छोराको गाडीभाडा र खाजाखर्च गरी मासिक ६ हजार सहयोग पाएका छौँ ।
तारा गहतराज
अभिभावक (दीपक जिआरकी आमा)
तानसेन, लामडाँडा

को हुन् पुन दम्पती ?
खेमराज पुनको जन्म लाहुरेको गाउँले चिनिने गुल्मी भार्सेमा ०१९ मा भएको हो । उनले सानै छँदा भारतीय सेनामा रहेका बुबा गुमाउन पुगे । बुबाको निधनपछि खेमसहित तीन भाइलाई आमाले हुर्काउने, पढाउने गरेकी हुन् । खेमले आइएस्सीसम्मको अध्ययन गरेका छन् ।

खेमको विवाह बुटवलकै ओमीकला गाहासँग ०४४ मा भएको थियो । ओमी सामाजिक क्षेत्रमा लागेकी महिला हुन् । उनले महिला जेसिज, इनरह्विल क्लब, मगर महिला संघलगायत दर्जनजति सामाजिक संस्थाको नेतृत्वमा रहेर काम गरेकी छिन् । ओमीले आइएसम्मको अध्ययन गरेकी छिन् । पुन र गाहा दुवै लाहुरे परिवारका सन्तति हुन् ।

सक्नेले नसक्नेलाई सहयोगको प्रयास गरौँ भन्ने लागेर नै अक्षयकोषमार्फत बालबालिकाको पढाइमा सहयोग गरेको पुनको भनाइ छ । अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने र त्यसबाट धेरैभन्दा धेरै बालबालिकाको शिक्षामा सहयोग गर्ने उनी बताउँछन् । उनले आफ्नो गाउँको स्कुल जनसेवा माविमा ७ लाखको मनगौरी पुन शैक्षिक अक्षयकोषको स्थापना गरिदिएका छन् ।

One thought on “पुन दम्पतीको सहयोगले ४ डाक्टर

  1. हाम्रो समाजमा दानवीरहरुको खडेरी परिरहेको बेला यस्ता पनि महानुभावहरु छन् जो निश्वार्थ केही गरौं भन्ने भावना मात्र होइन कार्य रुपमै उत्रिन्छन् । सिद्धान्त कम, व्यहार बढी देखाउँछन् । भरिएको लोंचे जति अरुलाई पस्कियो उति भरिन्छ भन्छन् । देउता बाजैले यीनि दुइलाई सदासर्वदा खुशि राखुन् । लामो आयु देउ भग्मान् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय