२ कम्पनीका गुणस्तरहीन ३ औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन भएका औषधिको नमुना परीक्षण गर्दा ३ कसिमका औषधि न्यून गुणस्तरको पाइएको जनाएको छ । बजारमा विक्री–वितरण भइरहेका २ कम्पनीका औषधि गुणस्तरहीन पाइएपछि विभागले सो औषधि बजारबाट फिर्ता गर्न सम्बन्धित कम्पनीहरूलाई निर्देशन दिएको छ । गुणस्तरहीन पाइएका ३ वटै औषधि स्वदेशी कम्पनीका रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आर्या फर्माल्याब प्रालिले उत्पादन गरेको ब्याच नम्बर डिसिटी ४५००१ को डिकाल्सी ५०० – क्याल्सियम विथ भिटामिन डी३ ट्याबलेट्स नामक औषधि न्यून गुणस्तरको पाइएको छ । यो औषधि भिटामिन डीको कमी पूर्ति गर्न खुवाउने गरिन्छ । विभागको अनुगमन परीक्षणमा यो औषधिमा भिटामिनको मात्रा आवश्यकभन्दा कम पाइएको छ ।

त्यसैगरी, आर्या फर्माल्याब प्रालिले नै उत्पादन गरेको ब्याज नम्बर अल ४५००१ को आर्हेक्स– किओर्हेक्जाइडिन माउथवास नामक औषधि न्यून गुणस्तरको पाइएको छ । यो औषधि मुखमा घाउ–खटिरा आउँदा मुख कुल्ला गर्न प्रयोग गरिन्छ । यसमा औषधिको मात्रा तोकिएभन्दा न्यून भएको विभागले जनाएको छ ।

अनुगमनका क्रममा विभागले आर्को एक आयुर्वेदिक औषधि कम्पनीको उत्पादन पनि गुणस्तरहीन रहेको फेला पारेको छ । डेखा हर्बल्सले उत्पादन गरेको ब्याच नम्बर १२६ को अमलक्यासी चूर्ण १०० ग्राम अनुगमन परीक्षणमा गुणस्तरहीन प्रमाणित भएको हो । यो आयुर्वेदिक उत्पादनमा सूक्ष्म जीवाणु तत्त्व बढी भएको पाइएको छ, जुन खान योग्य नभएको विभागले जनाएको छ ।

औषधि ऐन २०३५ को दफा १४ बमोजिम उल्लेखित ३ औषधिको विक्री–वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको विभागका निमित्तमहानिर्देशक पानबहादुर क्षेत्रीले जानकारी दिए । यसअघि पनि विभागले विभिन्न समयमा गरेको अनुगमनका क्रममा विभिन्न कम्पनीका औषधि गुणस्तरहीन पाइँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय