पूर्ण रूपमा बिग्रिएको छैन प्रधानमन्त्रीको किड्नी, नियमित डायलाइसिस वा प्रत्यारोपणबारे केही दिन हेरेपछि मात्र निर्क्योल हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पूर्ण रुपमा नबिग्रिएको परीक्षणको रिपोर्टले देखाएको ग्रान्डी इन्टरनेसनल अस्पताल स्रोतले जनाएको छ । मिर्गौला पूर्णतः फेल भएपछि डायलाइसिस गरिने र प्रम ओलीको बुधबार र बिहीबार गरी दुईपटक डायलाइसिस गरिसकिएको भए पनि उनको मिर्गौला ड्यामेज भइनसकेको र संक्रमण पनि नदेखिएकाले नियमित डायलाइसिस गर्नुपर्ने वा नपर्नेबारे अहिले नै निर्क्योल भइनसकेको अस्पताल उच्च स्रोतले हेल्थपोस्टलाई जानकारी दियो ।

धपेडीका कारण प्रधानमन्त्री ओलीको रगतमा हानिकारक क्रियटाइनलगायत तत्त्वहरु बढ्न गएको तथा पिसाबमा प्रोटिनको मात्रा बढी देखिएकाले तत्कालका लागि डायलाइसिस गर्नुपरे पनि विभिन्न इन्डिकेटरले मिर्गौला पूर्णतः खराब नभएको देखाएकाले पुनः मिर्गौला आफैँले काम गर्न सक्ने सम्भावना रहेको अस्पताल स्रोतको भनाइ छ । दुईपटकको डायलाइसिसपछि दुई–तीन दिन त्यसको असर र मिर्गौलाको अवस्थाबारे हेरर मात्र नियमित डायलाइसिस अवश्यक पर्ने–नपर्ने वा प्रत्यारोपणको विकल्पबारे निर्क्योल गर्न सकिने स्रोतले जनाएको छ ।

प्रम ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौैलाले शरीरलाई चिन्न थालेपछि शरीरमा एन्टिबडी बढेका कारण २ महिनाअघि गत भदौमा उनको सिंगापुरमा प्लाज्मा फेरेसिस गरिएको थियो । तिहारअघि अजरबैजानको भ्रमणमा गएका ओली स्वदेश फर्किएपछि पनि सिस्नोपानी नेपालको देउसी कार्यक्रममा सहभागी भएका थिए । चाडपर्वका वेला बाक्लिएको भेटघाटलगायत कामको धपेडीका कारण रगतमा हानिकारक तत्त्वहरुको मात्रा अत्यधिक देखिएको र त्यसको न्यूनीकरणका लागि तत्काल डायलाइसिस गर्नुपरेको अस्पताल स्रोतले जनाएको छ । मुख तथा हातगोडा सुन्निनेजस्ता समस्या देखिएपछि स्वास्थ्यपरीक्षणका लागि प्रम ओली बुधबार बिहान ग्रान्डी पुगेका थिए । डा. शाह नेतृत्वको चिकित्सक टोलीले प्रधानमन्त्री ओलीको दुईपटकसम्म डायलाइसिस गरेको हो ।

आजै पत्रकारसम्मेलन गरेर डिस्चार्ज गरिने
प्रम ओलीको पछिल्लो स्वास्थ्यअवस्थाबारे जानकारी दिन बिहीबार नै अस्पतालमा पत्रकारसम्मेलन गरी बेलुकीसम्म उनलाई डिस्चार्ज गरिने स्रोतले जानकारी दियो । ग्रान्डीका निर्देशक डा. चक्रराज पाण्डेले पत्रकारसम्मेलनमार्फत प्रमको स्वास्थ्यअवस्था तथा उपचारविधिबारे जानकारी दिने बताइएको छ ।

यसअघि प्रधानमन्त्री ओलीको दुईपटकको डायलाइसिस सकिँदासम्म पनि अस्पताल तथा सरकारी निकायले त्यसको आधिकारिक जानकारी सार्वजनिक गरेको थिएन । स्वास्थ्यपरीक्षण नसकिएकाले प्रम ओलीलाई अस्पताल राखिएको बताइँदै आएको थियो । यद्यपि, त्यसको खुलासा सञ्चारमाध्यममार्फत बुधबार नै भइसकेको थियो । दोस्रो डायलाइसिसपछि प्रमलाई भेटेर फर्किनेक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डायलाइसिस गरिएको खुलासा गरेका थिए ।

प्रमलाई भेटेर फर्किएका प्रचण्डले भने– नियमित डायलाइसिस वा प्रत्यारोपणबारे निर्क्योल भएको छैन
प्रधानमन्त्री ओलीको दोस्रो डायलाइसिस चलिरहँदा स्वास्थ्यअवस्थाबारे बुझ्न ग्रान्डी इन्टरनेसनल अस्पताल पुगेका नेकपा अध्यक्ष प्रचण्ड केही समयको प्रतीक्षापछि उनलाई भेटेर फर्किएका छन् । डायलाइसिस सकिएलगत्तै भेट गरेका प्रचण्डले प्रधानमन्त्री ओली आजै केहीबेरमा डिस्चार्ज हुने बताए । अस्पताल पुगेको करिब १ घण्टापछि फर्किनेक्रममा पत्रकारसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा एक्कासि छिटो–छिटो समस्याहरु देखिए पछि अहिले भने स्वास्थ्यअवस्था ठिक भएको बताए ।

‘भर्खरै डायलाइसिस भएपछि एकैछिन आराम गरेर उहाँ डिस्चार्ज हुनुहुँदै छ, आज बालुवाटार जानुहुन्छ,’ अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग भने, ‘हिजो एकचोटि र आज एकचोटि डायलाइसिस भएको छ ।’ नियमित डायलाइसिसबारेको सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष प्रचण्डले त्यसको निर्क्योल २–३ दिनको स्वास्थ्यअवस्थालाई नियालेर मात्र गर्न सकिने चिकित्सकले बताएको जानकारी दिए । ‘डाक्टर सा’बको भनाइअनुसार भोलि–पर्सिसम्मको स्थिति हेरेर भन्न सकिन्छ,’ उनले भने, ‘नियमित गर्ने भन्ने फाइनल भएको छैन ।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले भेटका क्रममा आफूसित कुरा गरेको बताए । समस्या अलिकति छिटो–छिटो देखापरे पनि अहिले भने प्रधानमन्त्रीको स्वास्थ्यअवस्था ठिक भएको उनको भनाइ थियो ।  पुनः प्रत्यारोपणबारेको प्रश्नमा भने प्रचण्डले भने, ‘प्रत्यारोपणका लागि अहिले नै केही कुरा भएको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय