प्रधानमन्त्री ओलीको दोस्रो डायलाइसिस, पुनः प्रत्यारोपणबारे छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार दोस्रोपटक डायलाइसिस भइरहेको छ । नियमित स्वास्थ्यपरीक्षणका लागि भन्दै बुधबार बिहान ग्रान्डी इन्टरनेसनल अस्पताल पुगेका प्रधानमन्त्री ओली रगतमा हानिकारक तत्त्व क्रियटाइनको मात्रा अत्यधिक पाइएपछि बुधबार दिउँसो नै पहिलो डायलाइसिस गरिएको थियो ।

यसअघि शरीरमा एन्टिबडीको मात्रा अत्यधिक बढेपछि प्रधानमन्त्री ओलीको गत भदौमा सिंगापुरमा प्लाज्मा फेरेसिस गरिएको थियो । त्यतिवेलैदेखि विशेषज्ञ चिकित्सकहरूले प्रधानमन्त्री ओलीको उपचारमा ३ विकल्प– प्लाज्मा फेरेसिस, डायलाइसिस र पुनः प्रत्यारोपण रहेको बताउँदै आएका छन् । यसमध्ये प्लाज्मा फेरेसिसपछि दोस्रो विकल्पमा उपचार सुरु गरिएको हो ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि प्रत्यारोपित मिर्गौलाले रगतलाई फिल्टर गर्न नसकेका कारण रगतमा हानिकारण तत्त्व क्रियटाइन बढेको र पिसाबमा प्रोटिन बढी देखिएपछि तत्कालका लागि अल्ट्रा फिल्ट्रेसन उपचार विधिअन्तर्गत डायलाइसिस सुरु गरिएको अस्पताल उच्च स्रोतले जनाएको छ । डायलाइसिस एकपटक गरेर नपुग्ने भएकाले बिहीबार दोस्रोपटक गर्न लागिएको हो । यद्यपि, प्रधानमन्त्रीको उपचारबारे आधिकारिक रूपमा भने तथ्य बाहिर ल्याइएको छैन । अस्पतालले विज्ञप्ति राजी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यपरीक्षण नसकिएकाले अस्पताल राखिएको जनाउँदै आएको छ ।

अस्पतालमा प्रचण्डसहित नेकपा नेता–कार्यकर्ताको भिड, भेट्न भने पाएनन्
प्रधानमन्त्रीको ओलीको डायलाइसिस चलिरहँदा नेकपाका नेता–कार्यकर्ताको अस्पतालमा भिड लागेको छ । यद्यपि, उपचार चलिरहँदा उनीहरूले भेट गर्न भने पाएका छैनन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ग्रान्डीमा प्रधानमन्त्री ओलीलाई भेट्न कुरिरहेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य भीम रावल प्रधानमन्त्री ओलीलाई नभेटी अस्पतालबाट फर्किएका छन् ।

‘प्रधानमन्त्रीज्यूको मिर्गौलाको डायलाइसिस भइरहेका कारण भेट्न पाइएन,’ रावलले भने, ‘बाहिरबाटै उहाँको स्वास्थ्य अवस्था चिकित्सकबाट लिएर फर्कें ।’ प्रधानमन्त्रीको उपचारमा निजी चिकित्सक तथा ग्रान्डीकी मिर्गौला विभागकी अध्यक्ष डा. दिव्यसिंह शाहको नेतृत्वमा टोली खटिएको छ । टोलीका सदस्यलाई समेत प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे उच्च तहको गोपनीयता राख्न कडा निर्देशन दिइएको बताइएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्रीको अन्य स्वास्थ्य सूचकहरू पनि त्यति राम्रो देखिएका छैनन् । उनमा अहिले संक्रमणको समेत आशंका गरिएको छ । प्लाज्मा फेरेसिसपछि डायलाइसिस सुरु गरिएपछि अब नियमित डायलाइसिस वा प्रत्यारोपणको विकल्प नहुने विशेषज्ञ चिकित्सक बताउँछन् । यद्यपि, प्रधानमन्त्री ओलीमा अब डायलाइसिसभन्दा पनि पुनः प्रत्यारोपणमै जानुपर्ने निष्कर्षमा उपचार टोली पुगेको स्रोतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय