गुणस्तर सुधार कार्यक्रमबाट नवजात शिशु मृत्युदरमा कमी

सहस्राब्दी विकास लक्ष्यबाट दिगो विकास लक्ष्यमा प्रवेश गरेसँगै विश्वव्यापी रूपमै आमा तथा ५ वर्षमुनिको बालमृत्यु घटाउनमा हामीले उल्लेखनीय प्रगति हासिल गरेका छौँ । विश्वमा हरेक वर्ष ५५ लाख नवजात शिशुको मृत्यु अथवा मृतजन्म हुने गरेकोे छ । तर, उक्त संख्या हामीले साचेअनुरूप घटाउन सकेका छैनौँ । यसमध्ये ९९% मृत्यु अफ्रिका तथा दक्षिण एसियामा मात्र हुन्छ । नेपालमा मात्र हरेक वर्ष ५ वर्षमुनिका २३ हजार शिशुको मृत्यु हुन्छ, जसमध्ये दुईतिहाइ नवजात शिशु छन् ।

दिगो विकास लक्ष्य (२०१५–२०३०) ले रोकथाम गर्न सकिने नवजात शिशु मृत्युदर १२ प्रतिहजार जीवित जन्ममा झार्ने लक्ष्य लिएको छ । यो लक्ष्य प्राप्तिका लागि हामीले उच्च गुणस्तरको स्वास्थ्य सेवाप्रवाह गर्नु जरुरी छ । केही समययता स्वास्थ्य तथा शिक्षाको स्तरमा आएको सुधार तथा आमाको चेतनास्तरमा अभिवृद्धि भएसँगै गर्भावस्थाको जाँच तथा स्वास्थ्यसंस्थामा प्रसूति गराउन आउने महिलाको संख्यामा उल्लेख्य वृद्धि भएको छ । नेपालमा पनि उक्त अवधिमा ती सूचकांकहरूमा उल्लेखनीय वृद्धि भएको देखिन्छ । तर, स्वास्थ्यसंस्थाहरू अझै अत्यावश्यक गुणस्तरीय सेवा प्रदान गर्न सक्षम हुन सकेका छैनन्, परिणामस्वरूप १० लाख शिशु प्रसूति अवस्थामै मर्छन् । यसका लागि प्रसव र प्रसूति समयमा सेवाको गुणस्तर सुधारमा विशेष ध्यान पुर्याउनुपर्ने देखिन्छ ।

स्वास्थ्यको गुणस्तर सुधार भन्नाले सेवाको गुणस्तरमा वृद्धि गर्ने मात्र नभई मानव संसाधन परिचालन, गुणस्तरीय उपकरणको उपलब्धता तथा भौतिक संरचना व्यवस्थापन पनि आउँछ । सन् २०१७ मा ‘जर्नल अफ पेडियाट्रिक्स’मा प्रकाशित शोधकार्यमा नेपालको प्रसूतिगृहमा गरिएको एक अनुसन्धानको तथ्यांक प्रकाशित भएको छ, जसमा गुणस्तर सुधार आयोजनाले नवजात शिशु मृत्युदर तथा मृतजन्म घटाउन उल्लेख्य भूमिका खेलेको देखाएको छ । तथापि, कृत्रिम श्वासप्रश्वासमा आधारित गुणस्तर सुधार कार्यक्रमलाई थप अस्पतालमा सञ्चालन गर्दा यसको असर त्यति नै हुन्छ वा हुँदैन भनेर अध्ययन भएका छैनन् । यस्ता कार्यक्रमको प्रभावकारिता मापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अगुवाइमा १२ वटा सरकारी अस्पतालमा ‘नेपाल पेरिनटल क्वालिटी इम्प्रुभमेन्ट प्रोजेक्ट’ नामक कार्यक्रम सञ्चालन भएको थियो, जसको मुख्य उद्देश्य नवजात शिशु मृत्युदर तथा मृतजन्म घटाउनु थियो ।

प्रोजेक्टद्वारा सञ्चालित कार्यक्रमका मुख्य ४ भूमिका थिए–
१. अस्पताल व्यवस्थापनका लागि अभिमुखीकरण कार्यक्रमको व्यवस्था, जसको उद्देश्य मातृ तथा नवजात शिशु सेवामा सुधार ल्याउन नेतृत्व तथा जवाफदेहिता वहनका लागि चाहिने सुदृढीकरण गर्नु थियो । यसका साथै सेवा तत्परता तथा मातृ तथा नवजात शिशु सेवाको उपलब्धतासम्बन्धी वस्तुगत आकलन तथा सेवाप्रवाहकका समस्या तथा त्यसको जड विश्लेषण गर्नु यसको उद्देश्य थियोे ।

२. अस्पताल व्यवस्थापनबाट छानिएका सहजकर्तालाई गुणस्तर सुधारका लागि आवश्यक तालिमको व्यवस्था तथा मातृ तथा नवजात शिशुको स्याहारमा खटिने स्वास्थ्यकर्मीलाई सहजीकरण गर्नु । यसका साथै हरेक दोस्रो हप्ता समीक्षा बैठकको व्यवस्था ।

३. गुणस्तर सुधार प्रक्रियासम्बन्धी परिचयात्मक क्रियाकलाप, जसमा नवजात शिशु स्याहार तथा कृत्रिम श्वासप्रश्वाससम्बन्धी डमीमा दैनिक अभ्यास ।

४. कृत्रिम श्वासप्रश्वाससम्बन्धी गुणस्तर तथा सेवाको परिणाम मापन प्रक्रियाको स्थापना ।

उल्लेखित कार्यक्रम मूल्यांकनका परिणामहरू अमेरिकाबाट प्रकाशित हुने ‘लस मेडिसिन’ नामक प्रतिष्ठित जर्नलमा गत सेप्टेम्बरमा प्रकाशित भएका छन्, जसमा–

– प्रसव तथा प्रसूतिको समयमा हुने मृत्युदर (मृतजन्म तथा पहिलो दिनमा हुने नवजात शिशु मृत्यु) २१% ले घटेको देखिएको छ ।
– पहिलो हप्तामा हुने नवजात शिशु मृत्युदर ११% ले घटेको देखिएको छ ।

अध्ययनका केही महत्त्वपूर्ण पक्ष
–यदि स्वास्थ्यसंस्थाले नेतृत्व लिई गुणस्तरीय स्वास्थ्य सेवाप्रवाह गरेमा तथा परिवर्तनका लागि साझा दृष्टिकोण बनाएमा शिशु मृत्युदरमा सुधार आउन सक्छ ।

– सुशासन प्रणाली, गुणस्तरीय सुधार प्रक्रिया, जस्तै, सहजीकरणमा आधारित योजना, कार्य, अध्ययन तथा कार्यान्वयन (प्लान, डु, स्टडी, याक्ट– पिडिएसए) बैठक तथा गुणस्तर सुधार प्रक्रियामा सहजीकरणको भूमिका मातृ तथा नवजात शिशु स्याहार कक्षहरूमा महत्त्वपूर्ण हुन्छन् ।

– गुणस्तरीय मापन प्रणालीमा हरेक प्रसूति कक्षमा नवजात शिशुका लागि कृत्रिम श्वासप्रश्वास प्रविधि स्थापना गर्न सकेमा स्याहारका लागि सुशासन कायम हुनेछ ।

यो कृत्रिम श्वासप्रश्वासमा आधारित पहिलो र सबैभन्दा ठूलो मूल्यांकन अध्ययन हो ।

(डा. केसी स्विडेनको उप्सला विश्वविद्यालयमा पोस्टडक्टरेटका शोधकर्ता हुन्)

ashish.kc@kbh.uu.se

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय