पुस्तक व्यवसायका अगुवा पाण्डेको स्वास्थ्य : ६० वर्षमा ९ दिन अस्पताल

कृष्ण मल्ल
प्रकाशित
२०७६ कार्तिक ११ गते १२:०१

बुटवलका पुस्तक व्यवसायी कृष्ण पाण्डे ६० वर्षका भए । यो उमेरसम्म उनी दुईपटक गरी ९ दिन अस्पताल बसेका छन् । नियमित आहार–विहार गरे स्वास्थ्य ठिक राख्न सकिने उनी बताउँछन् । ३६ वर्षदेखि पुस्तक व्यवसाय गरिरहेका पाण्डे यो क्षेत्रमा अग्रजका रूपमा चिनिन्छन् । उनी नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको संस्थापक अध्यक्षसमेत हुन् ।

बुटवलको अस्पताल लाइनमा रहेको लुम्बिनी पुस्तक पसलबाट १ असार ०४१ मा पाण्डेले व्यवसाय सुरु गरेका थिए । उनले यसरी पुस्तक पसल गर्न थालेको चार दशक हुन लागेको छ । परिवारमा श्रीमती गीता पाण्डे, छोरा नीरज, बुहारी ज्योति पाण्डे र कान्छो छोरा निरान छन् । छोरी स्मृतिको विवाह भइसकेको छ ।

‘०४१ सालतिर म बुटवल आउँदा अमरपथमा आशिष पुस्तक पसल र लक्ष्मी पुस्तक सदन नामका दुईवटा मात्र पुस्तक पसल थिए । त्यतिवेलाको कुरा गर्दा लुम्बिनी पुस्तक पसल बुटवलको तेस्रो पुस्तक पसल हो । हामीभन्दा पछि प्रगति पुस्तक पसल, सिर्जना स्टेसनरी खुले । मेरो सम्झनामा भएअनुसार लक्ष्मी पुस्तक सदन ०३५ सालतिर र आशिष पुस्तक पसल ०३८ सालतिर खुलेको हुनुपर्छ,’ उनले भने, ‘पहिले मैले किनेको पसलको नाम लुम्बिनी पुस्तक सदन थियो । वृहस्पति अधिकारी र मीनप्रसाद गैरेले पसल चलाउनुहुन्थ्यो ।’

पाण्डेको जन्म स्याङ्जाको कालीगण्डकी गाउँपालिका, बिर्घामा २६ असोज ०१६ मा भएको हो । ०३७ सालमा उनी डिप्लोमा अध्ययनका लागि स्याङ्जाबाट रूपन्देही झरेका थिए । भैरहवा बहुमुखी क्याम्पसमा बिएमा भर्ना भए । उनले पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट आइए पढेका थिए । विद्यालय तहको शिक्षा भने उनले गाउँकै जनता माविबाट पूरा गरेका थिए ।

पाण्डेको स्वास्थ्य
पुस्तक व्यवसायका अगुवा पाण्डेलाई दुई वर्षदेखि भने प्रेसरको समस्या छ । ‘मलाई अहिले प्रेसर देखिएको छ,’ उनले भने, ‘अहिले औषधि प्रयोग गर्छु, तर अवस्था सामान्य नै छ । अरू कुनैखाले स्वास्थ्य समस्या छैन । ६–६ महिनामा फुल बडी चेकअप गर्छु । पित्तथैलीको पत्थरी थियो, अप्रेसन गरेर फालिदिएँ ।’

पाण्डे अहिलेसम्म कुल ९ दिन अस्पताल बसेका छन् । ‘०४१ सालमा झाडाबान्ता हुँदा सातादिन अस्पताल बसेँ । अहिले पत्थरीको अप्रेसन गर्दा तीन दिन अस्पताल बसेँ । ६० वर्षको उमेरमा मेरो अस्पताल बसाइ भनेको जम्मा ९ दिन हो,’ उनले थपे ।

पाण्डेको दैनिकी नै स्वस्थ रहने सूत्र
– बिहान ५ बजे उठ्ने,
– बिहान २ घण्टा मर्निङवाक, ध्यान र प्राणायामका लागि दिने,
– बिहान साढे ७ बजे कामका लागि तयार हुने,
– बढी चिल्लो र चर्को नुन नखाने, अरू केही नबार्ने,
– नमिठो केही नहुने, खानेकुरा नरोज्ने ।

पाण्डे भन्छन्, ‘सामान्यखालको स्वास्थ्य समस्यामा म आफैँ व्यवस्थापन गर्छु । आफ्नै सावधानी, आचरणमा परिवर्तन तथा घरेलु उपचारबाटै निको हुने स्वास्थ्य समस्यामा औषधि नै प्रयोग गर्ने, अस्पताल नै भर्ना हुने मेरो बानी छैन ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय