गण्डकीका विद्यार्थीले मेसुको कार्यकक्षमा पनि लगाए ताला

 

गण्डकी मेडिकल कलेजका विद्यार्थीले शुक्रबार अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट तुमाया घलेको कार्यकक्षमा ताला लगाएका छन् । डेढ सयको हाराहारीमा भेला भएका विद्यार्थीले कलेज प्रशासनलाई दबाब दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म नाराबाजीसहित प्रदर्शन गरेका छन् । कलेज प्रशासनले परीक्षामा अनियमिततालगायत अमर्यादित गतिविधि गरेको भन्दै विद्यार्थीले बिहीबार कलेजमा तालाबन्दी गरेका थिए ।

परीक्षाजस्तो संवेदनशील विषयमा समेत कलेज प्रशासनले खेलबाड गरेको विद्यार्थीको आरोप छ । कलेजले गैरजिम्मेवार मात्र नभई गैरकानुनी रवैया देखाएको कलेजका अध्यनरत विद्यार्थी अंकित सिन्हा बताउँछन् । ‘जबसम्म कलेज प्रशासनले विद्यार्थीको माग पूरा गर्दैन, तबसम्म आन्दोलन जारी रहन्छ,’ सिन्हाले भने ।

कलेजका गैरजिम्मेवार कर्तुतबारे आफूहरुले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) लाई विस्तृत जानकारी दिइ कारबाहीका लागि माग गरेको विद्यार्थीको भनाइ छ । ‘आइओएमका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई कलेजमा भएका सबै अमर्यादित क्रियाकलापको रिपोर्टिङ गरेका छौँ,’ सिन्हा भन्छन्, ‘उहाँले विद्यार्थीबाट प्रप्त रिपोर्टिङ परीक्षा नियन्त्रण कार्यालयमा दिएको जानकारी दिनुभएको छ ।’

एउटा डिपार्टमेन्टको प्रश्नपत्र अर्को डिपार्टमेन्टले बनाएको, ढाँचा नमिलाई प्रश्नपत्र निर्माण गरेको लगायत आरोप लगाएका विद्यार्थीले कलेजका यस्ता क्रियाकलापले आफूहरू हैरानी खेप्न बाध्य भएको जनाएका छन् । कलेजका अमर्यादित गतिविधि र कर्तुतहरूको निष्पक्ष छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन विद्यार्थीले आइओएम, जिल्ला प्रशासन कार्यालयलगायत नियामक निकायसमक्ष माग गरेका छन् ।

विद्यार्थीले अवैध असुलिएको शुल्क फिर्ता गर्नुपर्नेलगायत विविध माग राख्दै यसअघि पनि कलेज प्रशासन तथा मेडिकल सुपरिटेन्डेन्टको कार्यकक्षमा २ पटक ताला लगाइसकेका छन् । त्यतिवेला कलेज प्रशासनले केही आफूअनकूलका अभिभावकलाई साथमा लिएर ताला फुटाएका थिए ।

केहीअघि पठन–पाठन र बोर्ड परीक्षा नै बहिष्कार गरी महिनौँ संघर्ष गरेपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अवैध असुलिएको शुल्क एक महिनाभित्र फिर्ता गर्न कलेज सञ्चालकलाई निर्देशन दिएका थिए । तर, महिनौँ बित्दा पनि कलेजले मन्त्रीको निर्देशन कार्यान्वयनमा भने ल्याएको छैन । त्यसपछि अन्य कलेजमा पनि अवैध शुल्क फिर्ताका लागि आन्दोलन छेडिएपछि सरकारले सबै मेडिकल कलेजलाई अतिरिक्त शुल्क फिर्ता गर्न दिएको निर्देशनको समयसीमासमेत गुज्रिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय