नेसनलमा विद्यार्थीमाथि सांघातिक हमलाको डा. केसीद्वारा निन्दा, १७औँ सत्याग्रह १८ कात्तिकदेखि

चिकित्साशिक्षा अभियन्ता डा. गोविन्द केसीले नेसनल मेडिकल कलेजमा बिहीबार विद्यार्थीमाथि भएको सांघातिक हमलाको निन्दा गरेका छन् । कलेजले असुल गरेको अवैध शुल्क फिर्ता गर्नुपर्ने जायज माग राखेर शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि गुण्डा प्रयोग गरी हमला गराउने कलेज सञ्चालकलाई अविलम्ब कारबाही गर्न डा. केसीले माग गरेका छन् ।

सरकारले अवैध शुल्क फिर्ता गर्न दिएको समयसीमा सकिँदा पनि कलेजले फिर्ता नगरेपछि बिहीबार वीरगन्जस्थित नेसनलका विद्यार्थीले शान्तिपूर्ण प्रदर्शन गरेका थिए । दिउँसो प्रदर्शन गरेका विद्यार्थीमाथि राति कलेजबाट परिचालित भाडाका मानिसले होस्टेलमै प्रवेश गरी लाठी, रड, ढुंगामार्फत सांघातिक आक्रमण गरेका थिए । यद्यपि, प्रहरी प्रशासनले कुनै झमेला र तोडफोड नभएको भनी गैरजिम्मेवार अभिव्यक्ति दिएको छ । यसबाट माफियाको कर्तुतमा प्रशासनको समेत मिलेमतो रहेको दाबी डा. केसीको छ ।

सरकारलाई माग पूरा गर्न दिएको अल्टिमेटम सकिएको दिन शुक्रबार विज्ञप्ति जारी गर्दै डा. केसीले सत्याग्रहको नयाँ मितिसमेत घोषणा गरेका छन् । दसैँअघि आफ्नो अवकाशको दिन विभिन्न ६ बुँदे माग राख्दै डा. केसीले ८ कात्तिकभित्र माग पूरा नभए १३ कात्तिकदेखि १७औँ अनशन थाल्ने बताएका थिए । अल्टिमेटम सकिएको दिन शुक्रबार बिहान डा. केसीले १८ कात्तिकदेखि १७औँ सत्याग्रह थाल्ने जानकारी दिएका हुन् । तिहार, छठलगायत चाडपर्वका कारण सत्याग्रह एक साता सारेको डा. केसीको भनाइ छ ।

सरकारले अवैध शुल्क फिर्ता गर्न दिएको अल्टिमेटम नमान्ने सबै मेडिकल कलेजलाई फौजदारी अभियोगअन्तर्गत कारबाही गर्नुपर्ने माग डा. केसीको छ ।

विज्ञप्ति
यही कार्तिक ७ गते वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा अवैध रुपमा असुलिएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई कलेज प्रशासनले भाडाका गुण्डाहरु ल्याएर ढुंगा, लाठी र रड प्रयोग गरी आक्रमण गराएको छ । जायज माग पूरा गराउनका लागि आन्दोलनरत मेडिकल विद्यार्थीहरुमाथि मेडिकल माफियाले गराएको यस्तो सांघातिक हमलाको हामी घोर भत्र्सना गर्दर्छौं ।

साथै त्यत्रो आक्रमण हुँदा तमाशे भएर बस्ने प्रहरी प्रशासनले ‘कुनै झमेला र तोडफोड नभएको’ भनेर दिएको गैर–जिम्मेवार अभिव्यक्तिले प्रहरी प्रशासनको निकम्मापन मात्र नभई अपराधीहरुसितको मिलेमतो र साँठगाँठ देखाउँछ । सरकारले यसरी नै अपराधीको संरक्षण र पीडितको बेवास्ता गर्नु कानु्नी राजको उपहास हो ।

साथै सरकारले दिएृको अल्टिमेटममा विद्यार्थीलाई अवैध रुपमा असुलिएको शुल्क फिर्ता नगर्ने सबै मेडिकल कलेजका सञ्चालकहरुलाई तत्काल फौजदारी कसुरअन्तर्गत पक्राउ र कारवाही गर्न जोडदार माग गर्दर्छौं । त्यसो नगरिएको खण्डमा दशौं अर्बको ठगीको प्रमुख दोषी सरकार नै हुनेछ ।

विभिन्न मागहरुसहित हामीले सरकारलाई आन्दोलनका लागि आजको अल्टिमेटम दिएकोमा तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै यही कार्तिक १८ गते सोमवारदेखि सत्याग्रहसहितको आन्दोलन शुरु गर्ने जानकारी गराउन चाहन्छौं ।

डा गोविन्द केसी
काठमाडौं
२०७६।७।८

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय