मेडिसिटीविरुद्ध पूर्वसभासद् साहले १० करोड बिगोदाबीसहित जिल्ला अदालतमा चढाइन् फिरादपत्र

पूर्वसभासद् गायत्री साहले मेडिसिटी हस्पिटललाई प्रमुख विपक्षी बनाउँदै १० करोड बिगोदाबीसहित ललितपुर जिल्ला अदालतमा फिरादपत्र चढाएकी छिन् । अस्पतालको लापरबाहीका कारण आफ्नो डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएको दाबी गर्दै उनले क्षतिपूर्ति तथा जीवनभर बच्चाको उपचारबापत विपक्षीबाट उक्त रकम माग गरेकी हुन् । उच्च अदालत पाटनले मेडिसिटीमा छोडेको आफ्नो बच्चा बुझेर ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएलगत्तै साहले मेडिसिटीविरुद्ध क्षतिपूर्तिको मुद्दा दिएकी हुन् । मेडिसिटीले साहविरुद्ध आफ्नो बच्चा लिन लगाउन माग गर्दै दिएको रिटउपर सुनुवाइ गर्दै ३ कात्तिकमा अस्पतालमा छोडेको बच्चा बुझ्न साहलाई आदेश दिएको थियो ।

अस्पताल तथा गर्भवतीअवस्थादेखि नै अफ्नो स्वास्थ्यपरीक्षणमा संलग्न चिकित्सक तथा प्राविधिकको लापरबाहीका कारण नै आफूले डाउन सिन्ड्रोम भएको बच्चालाई जन्म दिनुपरेको उनको दाबी छ । गर्भजाँचका क्रममा अस्पताल तथा स्वास्थ्यकर्मीले गर्भको बच्चाको स्वास्थ्यअवस्थाबारे समयमै जानकारी नदिँदा विपक्षीबाट अफ्नो संवैधानिक तथा कानुनी अधिकार हनन भएको निवेदक साहको दाबी छ ।

यस्तो छ दलिल

विपक्षीले प्रदान गरेको गुणस्तरहीन स्वास्थ्यसेवाबाट आफूलाई संविधानको धारा २७, ३५, ३८, ३९, ४३ र ४४ ले प्रदान गरेका मौलिक हकहरु हनन भएको जिकिर साहको छ । यसअन्तर्गत क्रमशः सूचनाको हक, स्वास्थ्यसम्बन्धी हक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी हक, बालबालिकासम्बन्धी हक, सामाजिक सुरक्षाको हक र उपभोक्ताको हक पर्दछन् ।

त्यस्तै, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन २०७५ को दफा ५, ६, १५ र २० बमोजिमको सेवा प्राप्त गर्नबाट विपक्षीले आफूलाई वञ्चित गराएको साहले निवेदनमा उल्लेख गरेकी छिन् । यसअन्तर्गत दफा १५ ले सुरक्षित गर्भपतनको अधिकार दिएको छ । परीक्षणमा संलग्न स्वास्थ्यकर्मीले गर्भको बच्चामा स्वास्थ्यसमस्या भएको समयमै जानकारी दिएको भए अफूले सुरक्षित गर्भपतन गराउन पाउने दाबी साहको निवेदनमा देखिन्छ ।

त्यस्तै, साहले विपक्षीबाट उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३, ५, ११, १२, १६ र १८ को व्यवस्था उल्लंघन हुने गरी गर्भवतीजस्तो संवेदनशील अवस्थामा चेकजाँचदेखिका सम्पूर्ण सेवा गुणस्तरहीन दिई गर्न हुने–नहुने सबै गराई आफू पीडित बनाइएको दाबी गरेकी छिन् । विपक्षीले बच्चाको उपचार खर्च दिने मौखिक सहमति गरे पनि हालसम्म नदिएको दाबी साहले गरेकी छिन् ।

निवेदनक साहले साउन सिन्ड्रोम भएको आफ्नो बच्चाको जीवनभरको पालनपोषण र उपचारका लागि १० करोड रुपैयाँ माग गरेकी हुन् । उपचारका क्रममा आफ्नो लाखौँ खर्च भइसकेको र बाँकी उपचार गर्न सक्ने आफ्नो आर्थिक अवस्था नभएको उनको जिकिर छ ।

साहले २९ फागुन ०७५ मा मेडिसिटी अस्पतालमा बच्चालाई जन्म दिएकी थिइन् । पछि बच्चामा डाउन सिन्ड्रोम भएको पत्ता लागेपछि अस्पतालले समयमै आफूलाई जानकारी नदिएको भन्दै अस्पतालले नै बच्चाको जिम्मा लिनुपर्ने दाबीसहित अस्पतालमै छोडेकी थिइन् । पटक–पटकको प्रयासपछि पनि उनले बच्चालाई स्वीकार्न इन्कार गरेपछि अस्पतालले उनीविरुद्ध उच्चमा मुद्दा दिएको थियो ।

One thought on “मेडिसिटीविरुद्ध पूर्वसभासद् साहले १० करोड बिगोदाबीसहित जिल्ला अदालतमा चढाइन् फिरादपत्र

  1. मुद्दा हारेमा वा अदालतले बेबुनियाद ठानी रद्द गरेमा … दावी गरिएको रकमको कम्तीमा पनि १० प्रतिशत मानहानी स्वरूप चुक्ता गरिनुपर्छ। साथै यस्ता बेबुनियाद केशहरु निरुत्साहित गर्न, दाखिला तथा बिशेषज्ञ शुल्क धेरै राख्नु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय