१४ लाख बिगोदाबीसहित सिएमसीले दियो आक्रमणकारीविरुद्ध किटानीजाहेरी, एनएमएको २४ घण्टे अल्टिमेटम

चितवन मेडिकल कलेज (सिएमसी) ले आइतबार आफूमाथि आक्रमण गर्ने समूहविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी–जाहेरी दिएको छ । घटनामा संलग्न ‘आपराधिक समूह’विरुद्ध दिएको उजुरीमा अस्पतालले १४ लाख रुपैयाँ क्षतिको बिगोदाबीसमेत गरेको छ । अस्पतालले घटनाको विस्तृत भिडियो फुटेजसहित जाहेरी दिएको हो ।

नाकको उपचारका क्रममा नवलपरासीकी आशा ज्ञवालीको मृत्यु भएपछि आक्रोशित बिरामीका अफन्त तथा गाउँलेको समूहले अस्पतालमा व्यापक तोडफोडसहित स्वास्थ्यकर्मी तथा सुरक्षामा खटिएको प्रहरीमाथि आक्रमण गरेको थियो । ढुंगामुढासहित भएको आक्रमणमा अस्पतालका आइसियू, सिसियू वार्ड, गेटलगायतमा व्यापक क्षति पुगेको थियो भने अस्पतालका सिसा फुटेर यत्रतत्र छरिएका थिए । आक्रमणमा एक स्वास्थ्यकर्मी र स्थिति नियन्त्रणमा लिनेक्रममा भएको दोहोरो भिडन्तमा एक सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न १२ जनालाई हालसम्म पक्राउ गरिसकिएको प्रहरीले बताएको छ । करिब २ सयको संख्यामा आएको आक्रमणकारीको आक्रोशित भिडले अस्पतालका चप्पाचप्पामा प्रवेश गरी स्वस्थ्यकर्मीलाई लखेटी–लखेटी हातपात गरेको अस्पतालको भनाइ छ ।

एनएमए महासचिव नेतृत्वको टोली गृहसचिवलाई भेटेर चितवनमा
घटनाका दोषीलाई अविलम्ब कारबाहीको माग गर्दै नेपाल चिकित्सक संघ (एनएमए) को टोलीले गृहसचिव प्रेम राईलाई मन्त्रालयमा भेटेको छ । महासचिव डा. लोचन कार्की नेतृत्वको टोलीले सोमबार गृहसचिवलाई भेटेर घटनाका दोषीलाई अविलम्ब कारबाहीको माग गरेको हो । आफूहरूले एनएमसीमा आक्रमण गर्ने आपराधिक समूहलाई यथाशीघ्र पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न माग गरेको र गृहसचिवले सामुन्नेमै चितवनका सिडिओलाई फोन गरेर द्रुत गतिमा कारबाही अघि बढाउन निर्देशन दिएको महासचिव डा. कार्कीले चितवनबाट हेल्पोस्टलाई जानकारी दिए ।

‘हाम्रो टोलीले सिएमसी घटनाबारे आजै गृहसचिवलाई भेट्यो, उहाँले दोषीलाई अविलम्ब कारबाही गर्ने आश्वासन दिनुभएको छ,’ डा. कार्कीले भने, ‘सचिवज्यूले हाम्रै अगाडि सिडिओलाई फोन गरेर छानबिनलाई तीव्रता दिन निर्देशन दिनुभएको छ ।’

सचिवलाई भेटेलगत्तै सोमबार दिउँसो नै एनएमएको टोली चितवनको सिडिओलाई भेट्न पुगेको थियो । महासचिव कार्कीका अनुसार एनएमएसितको भेटमा सिडिओले घटनामा संलग्नलाई आपराधिक गिरोहका रूपमा लिँदै छानबिन तथा कारबाही प्रक्रियालाई तीव्रता दिनतर्फ प्रशासन लागिसकेको जानकारी दिँदै छिट्टै दोषीमाथि कारबाही हुने आश्वासन दिएका थिए । एनएमएको टोलीले सोमबार नै घटनास्थलको स्थालगत अवलोकनसमेत गरेको छ ।
यसअघि एनएमए, गैरसरकारी चिकित्सक संघ, आयुर्वेद चिकित्सक संघलगायतले सोमबार नै विज्ञप्तिमार्फत घटनाको घोर निन्दा गरेका थिए । दोषीलाई अविलम्ब कारबाही गर्नुपर्ने उनीहरूको माग थियो ।

एनएमए चितवनको २४ घण्टे अल्टिमेटम, जिल्लाभरका स्वास्थ्यसंस्था ठप्प पारिने


सिएमसी आक्रमणमा संलग्न आपराधिक समूहलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन नेपाल चिकित्सक संघ, चितवनले प्रशासनलाई २४ घण्टे अल्टिमेटम लिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै चितवन एनएमएले २४ घण्टाभित्र दोषीलाई कारबाही नथालिए जिल्लाभरका स्वास्थ्यसंस्था ठप्प पर्ने चेतावनी दिएको हो ।

घटना उपचारका क्रममा आफन्त गुमाउँदाको सामान्य मानवीय आक्रोशबाट सिर्जित मात्र नभई ठूलै षड्यन्त्रअन्तर्गत आपराधिक गिरोहबाट घटाइएको एनएमएका केन्द्रीय सदस्य डा. अनिल कार्कीले दाबी गरे । ‘सिएमसी घटनामा ठूलै आपराधिक गिरोहको संलग्नता भएको हाम्रो अनुमान छ,’ डा. अनिलले भने, ‘दोषी गिरोहको पहिचान गरी २४ घण्टाभित्र कारबाही प्रक्रिया अघि नबढाए जिल्लाभरका स्वास्थ्यसंस्था बन्द गर्ने जानकारी हाम्रो जिल्ला संघले जिल्ला प्रशासनलाई दिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय