सिएमसीमाथि आक्रमणप्रति चिकित्सक संघको निन्दा, देशभर आन्दोलनको चेतावनी

नेपाली चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघ (एनएमएले) चितवन मेडिकल कलेजमाथि आइतबार भएको आक्रमणको घटनाको निन्दा गरेको छ । उपचारका क्रममा भएको मृत्युको विषयलाई लिएर अस्पताल तथा स्वास्थ्यकर्मीमाथि अप्रत्याशित रूपमा भएको हिंसात्मक घटनाबाट संघ स्तब्ध भएको महासचिव लोचन कार्कीद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।

घटनालाई अतिरञ्जित गर्दै आपराधिक मानसिकता बोकेका व्यक्तिहरूबाट स्वास्थ्यजस्तो संवेदनशील सेवाप्रवाहकहरूमाथि हातपात, तोडफोडलगायत अत्यन्त अमानवीय गतिविधि घटाइनुले शान्तिपूर्ण वातावरणमा उपचार गर्ने–गराउने वातावरण धमिलिएको एनएमएको ठहर छ । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लखेटी–लखेटी हातपात गर्ने तथा स्वास्थ्यसंस्थामा निर्मम ढंगले तोडफोड गर्ने आपराधिक समूहका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीबाट स्वास्थ्य सेवाप्रवाह गर्ने वातावरण नभएको ठहर गर्दै एनएमएले यसबाट उत्पन्न हुन सक्ने कहालीलाग्दो परिस्थितिप्रति संघ र स्वास्थ्यकर्मीहरू जिम्मेवार हुन नसक्ने जनाएको छ ।

घटनामा संलग्न आपराधिक समूहलाई अविलम्ब पक्राउ गरी कानुनी कारबाही नगरिए देशभर आन्दोलनका कार्यक्रम लिएर उत्रने चेतावनी एनएमएको छ । एनएमएले संघको चितवन जिल्ला शाखाले ल्याउने विरोधका कार्यक्रमलाई सशक्त बनाउन र सिएमसीका स्वास्थ्यकर्मीलाई नडराई डटेर परिस्थितिको सामना गर्नसमेत आह्वान गरेको छ ।

नाकको समस्या लिएर चितवन मेडिकल कलेजमा भर्ना भएकी नवलपरासीकी आशा ज्ञवालीको उपचारका क्रममा अकस्मात् मृत्यु भएपछि मृतकका आफन्तले आइतबार अस्पताल तथा स्वास्थ्यकर्मीमाथि निर्मम आक्रमण गरेका थिए । करिब दुई सयको संख्यामा आएका मृतकका आफन्त तथा गाउँलेले अस्पतालका आइसियू, सिसियू वार्ड, गेटलगायतमा ढुंगामुडासहित तोडफोड गर्नुका साथै ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि हातपात तथा सुरक्षाका लागि खटिएका प्रहरीमाथिसमेत आक्रमण गरेका थिए ।
आक्रोशित भिडको गतिविधि अनियन्त्रित बन्दै गएपछि स्थिति नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । प्रमुख आक्रमणकारीहरूलाई निन्त्रणमा लिइसकेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय