केयुअन्तर्गतका मेडिकल कलेज, बिपी र पाटन प्रतिष्ठानको आगामी वर्षको सिटसंख्या निर्धारण

नेपाल मेडिकल काउन्सिलले काठमाडौं विश्वविद्यालयअन्तर्गतका मेडिकल कलेजहरु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आगामी शैक्षिक सत्रको विद्यार्थी कोटा तोकेको छ । केही समयअघि बसेको काउन्सिलको पूर्ण बैठकले सिटसंख्या निर्धारण गरेको हो । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका मेडिकल कलेजहरुको भने सिटसंख्या तोकिएको छैन ।

काउन्सिलका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएसका लागि १०० र बिडिएसका लागि ५० सिट पाएको छ । त्यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएसका लागि ६५ सिट पाएको छ ।

काठमाडौं विश्वविद्यालयअन्तर्गत नोबेल मेडिकल कलेजले एमबिबिएसका लागि १०० र बिडिएसका लागि ३५ सिट पाएको छ । त्यस्तै, नेसनल मेडिकल कलेज (एनएमसी) र काठमाडौं मेडिकल कलेजले समान सिट पाएका छन् । उनीहरुले एमबिबिएसका लागि १०० र बिडिएसका लागि ५० सिट पाएका हुन् ।

केयु स्कुल अफ मेडिसिन, धुलिखेललाई एमबिबिसतर्फ ८५ र बिडिएसतर्फ ५० सिट दिइएको छ । त्यस्तै, केयु स्कुल अफ मेडिकल साइन्सेजले एमबिबिएसतर्फ १०० र बिडिएसतर्फ ५० सिट पाएको छ ।

विराट मेडिकल कलेजले ७५, लुम्बिनी मेडिकल कलेजले १००, नेपालगन्ज मेडिकल कलेजले १००, मनिपाल मेडिकल कलेजले १००, देवदह मेडिकल कलेजले ५० सिट एमबिबिएसका लागि पाएका छन् । त्यस्तै, कान्तिपुर डेन्टल कलेजलाई बिडिएसतर्फ ५० सिट दिइएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेजहरुमा भने चिकित्साशिक्षा अभियन्ता डा. गोविन्द केसीले विद्यार्थीसँग बढी शुल्क लिएका मेडिकल कलेजले अवैध असुलिएको रकम फिर्ता नगरेसम्म तथा सञ्चालकलाई कारबाही नगरेसम्म सिट निर्धारण गर्न नहुने माग राख्दै आएका छन् । कलेज सञ्चालकहरुलाई सरकारले एक महिनाभित्र अवैध शुल्क फिर्ता गर्न निर्देशन दिइसके पनि अहिलेसम्म फिर्ता गरेको पाइएको छैन ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय