एमबिबिएसको शुल्कवृद्धि र नर्सिङ कलेजको सम्बन्धनको निर्णय फिर्ता लिन डा. केसीको माग

चिकित्साशिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले राष्ट्रिय चिकित्साशिक्षा आयोगका पछिल्ला निर्णयहरुप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आयोगले पूर्णता नै नपाउँदै हतार–हतारमा शिक्षामन्त्रीको स्वार्थ र दबाबमा नर्सिङ कलेजलाई सम्बन्धनको अधिकार सिटिइभिटीलाई सुम्पिएको प्रति डा. केसीले विरोध जनाएका छन् । त्यसैगरी, विनाअध्ययन एमबिबिएस तथा बिडिएसको अध्ययन शुल्क वृद्धि गर्ने आयोगको निर्णयको पनि डा. केसीले विरोध जनाएका छन् ।

त्रिविअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थानबाट उमेरहदका कारण अनिवार्य अवकाश पाएलगत्तै मावली गाउँ दोलखा पूर्वी नेपालको भ्रमणमा पुगेका डा. केसीले आइतबार उतैबाट विज्ञप्ति जारी गर्दै आयोगका उल्लेखित २ निर्णय फिर्ता लिन माग गरेका छन् । डा. केसीले नर्सिङ कार्यक्रमको सम्बन्धनमा सुधार ल्याउनुको सट्टा मन्त्रीको स्वार्थमा झन् भद्रगोल हुने गरी निर्णय गर्नुले आयोगका उपाध्यक्षको नियत र राजनीतिक बफादारी छर्लंग भएको बताएका छन् ।

त्यसैगरी, भर्खरै आयोगले सार्वजनिक गरेको १ र ३० असोजको शुल्कवृद्धिको निर्णयप्रति डा. केसीको आपत्ति छ । ‘आयोग बनिसकेको अवस्थामा शुल्क निर्धारणका वैज्ञानिक पक्षहरुबारे अध्ययन नगरी शुल्क बढाइनुहुँदैन,’ डा. केसीले विज्ञप्तिमा भनेका छन्, ‘आयोगले निर्णय गर्दा व्यवसायीको मात्रै हित नहेरी विद्यार्थी तथा अभिभावकको हितलाई प्राथमिकता दिनुपर्छ ।’ यस शैक्षिक सत्रका लागि पछिल्लो वर्षको भन्दा नबढाईकन शुल्क कायम गर्नुपर्ने माग डा. केसीको छ ।

डा. केसीले आफूले ६ बुँदे मागसहित सरकारलाई दिएको अल्टिमेटमको स्मरण गराउँदै तोकिएको अवधिमा माग पूरा नभए १३ कात्तिकदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने चेतावनी दोहोर्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय