मन्त्रीको लिखित निर्देशनमा न्याम्सको शनिबारको प्रवेश परीक्षा रोकिएपछि आक्रोशित परीक्षार्थी मन्त्रालयमा

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको लिखित निर्देशनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को शनिबारका लागि निर्धारित पिजीको प्रवेश परीक्षा एकाएक स्थगित गरिएपछि परीक्षार्थी आक्रोशित बनेका छन् । देशका विभिन्न भागबाट परीक्षार्थी परीक्षास्थल आइपुगिसकेको अवस्थामा एक दिन अघि विनाकारण परीक्षा स्थगित गरिएको भन्दै परीक्षाले आक्रोश व्यक्त गरेका हुन् । यद्यपि, न्याम्सले सरकारी चिकित्सकका लागि मात्र पिजी अध्ययनका लागि सिट छुट्याएको भन्दै गैरसरकारी चिकित्सक संघले भने आवेदन मागदेखि नै विरोध जनाउँदै आएको छ ।

न्याम्सले शुक्रबार सूचना जारी गर्दै शनिबारका लागि तय गरिएको एमडी/एमएस/एमडिएसको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जनाएको छ । मन्त्रालयको पत्रको निर्देशनअनुसार नै परीक्षा स्थगित गरिएको जनाउँदै न्याम्सले अन्तिम समयमा लिनुपरेको यस्तो निर्णयप्रति दुःखसमेत व्यक्त गरेको डिन प्रा.डा. पीयूष दाहालले सूचनामार्फत जानकारी दिएका छन् । यस शैक्षिक सत्रका लागि न्याम्सले एमडी/एमएस/एमडिएसतर्फ र डिएम/एबसिएचतर्फ २१ सिटका लागि आवेदन माग गरी प्रवेश परीक्षा सञ्चालन गर्न लागेको हो ।

सहकुलपतिकै हैसियतमा मन्त्री यादवले टाढाबाट परीक्षा दिन आउने परीक्षार्थीका लागि समय अपुग भएको बाहिरी कारण देखाउँदै परीक्षा स्थगित गर्न बिहीबार न्याम्सलाई निर्देशात्मक पत्र पठाएका थिए । सहकुलपतिको पत्र प्राप्त भएसँगै न्याम्सका पदाधिकारीको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय लिएको हो ।

स्वास्थ्यमन्त्री न्याम्सको सहकुलपति रहने कानुनी व्यवस्था छ । सहकुलपतिकै हैसियतमा मन्त्री यादवले टाढाबाट परीक्षा दिन आउने परीक्षार्थीका लागि समय अपुग भएको बाहिरी कारण देखाउँदै परीक्षा स्थगित गर्न बिहीबार न्याम्सलाई निर्देशात्मक पत्र पठाएका थिए । सहकुलपतिको पत्र प्राप्त भएसँगै न्याम्सका पदाधिकारीको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय लिएको हो ।

तयारी पूरा गरी देशका विभिन्न भागबाट परीक्षाका लागि काठमाडौं आइपुगिसकेको अवस्थामा केही घण्टा मात्र बाँकी रहँदा परीक्षा स्थगित गरिएपछि आक्रोशित परीक्षार्थी मन्त्रालय घेर्न पुगेका छन् । परीक्षा गराउने निकाय न्याम्स र परीक्षार्थी दुवै तयार रहेको अवस्थामा मन्त्रीले अनावश्यक रूपमा हस्तक्षेप गरी अनावश्यक दुःख र अन्योल सिर्जना गरेको भन्दै परीक्षार्थी मन्त्रालय घेर्न पुगेका हुन् । आफूहरूले स्वास्थ्यराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई भेटेर कुरो राख्दा उनले परीक्षा स्थगनबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएपछि मन्त्री उपेन्द्र यादवलाई भेट्ने कोसिसमा रहेको परीक्षार्थीको भनाइ छ ।

अन्तिम समयमा परीक्षा स्थगित गर्न नमिल्ने नजिरको बेवास्ता
परीक्षाको सबै तयारी पूरा भइसकेको अवस्थामा परीक्षा स्थगित गर्नु कुनै पनि हिसाबले न्यायोचित मान्न नसकिने विगतका अभ्यास र अनुभवले पनि देखाएका छन् । केही समयअघि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि अन्यायपूर्ण रूपमा कोटा निर्धारण गरी प्रवेश परीक्षा सञ्चालन गर्न लागिएकाले स्थगित गर्न माग गर्दै परेको रिटनिवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले निवेदकको मागमा पर्याप्त कानुनी आधार हुँदाहुँदै पनि ढिलो गरी अदालत आइपुगेकाले अन्तिम समयमा परीक्षा स्थगित गर्न नमिल्ने निर्णय दिएको थियो । परीक्षा दिनका लागि परीक्षार्थीहरू परीक्षा केन्द्रछेउ पुगिसकेको अवस्थामा परीक्षा स्थगित गर्नु न्यायसंगत नहुँदा परीक्षा सञ्चालन तोकिएकै मितिमा गर्न तर त्यसबाहेकका कुनै पनि काम अघि नबढाउन अदालतले निर्देशन दिएको थियो । त्यतिवेला पनि सुनुवाइको भोलिपल्टका लागि परीक्षा तय गरिएको थियो । तर, न्याम्स भने सहकुलपतिको दबाबमा परीक्षाको अघिल्लो दिन स्थगित गर्न बाध्य भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय