बैतडीको स्वास्थ्यसंस्था ८ महिनादेखि डाक्टरविहीन

बैतडीको तल्लोसोराडमा रहेको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्र, मेलौली चिकित्सकविहीन भएको छ । प्राथमिक स्वास्थ्यकेन्द्रले स्थापनाको १६ वर्षपछि गत वर्ष चिकित्सक पाए पनि केही महिनामै केन्द्र पुनः चिकित्सकविहीन बन्न पुग्यो । गत फागुनदेखि नै स्वास्थ्यकेन्द्र चिकित्सकविहीन रहँदै आएको केन्द्रका हेल्थ असिस्टेन्ट मुकेशकान्त दयालले बताए ।

चिकित्सक नहुँदा प्राथमिक स्वास्थ्यकेन्द्रमा सञ्चालनमा रहेको एक्स–रे सेवासमेत प्रभावकारी हुन सकेको छैन । चोटपटक लागेर आएका बिरामीको एक्स–रे गरिँदै आए पनि त्यसको रिपोर्ट हेर्न जनशक्ति नहुँदा प्रयोगविहीन खर्च मात्र हुने गरेको दयालको भनाइ छ ।

प्राथमिक स्वास्थ्यकेन्द्रमा कार्यरत डा. जीवन कार्कीको संघमातहत समायोजन भएपछि केन्द्र चिकित्सकविहीन भएको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिए । प्राथमिक स्वास्थ्यकेन्द्रमा डाक्टर नहुँदा पोस्टमार्टम गर्नुपर्ने केसहरू पनि पाटन अथवा सदरमुकाम पठाउनुपर्ने बाध्यता रहेको चन्दले जानकारी दिए ।

यस्तै, केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा स्टाफ नर्सको दरबन्दीसमेत खाली हुँदा थप समस्या भएको स्वास्थ्य संयोजक चन्दले जानकारी दिए । उनका अनुसार केन्द्रमा एक वर्षदेखि नर्सको दरबन्दी खाली छ । रिक्त दरबन्दीमा कर्मचारी पठाउने वा पदपूर्तिको पहल हुन नसक्दा केन्द्रका सामान्य सेवासमेत प्रभावित हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय