दरबन्दी नै नभएका स्थानमा समायोजन गरिएका कर्मचारीलाई हाजिर गराउन स्थानीय तहलाई निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा बढी संख्यामा समायोजन तथा पदस्थापन गरिएका कर्मचारीलाई समेत तोकिएकै पदमा हाजिर गराई काममा खटाउन सबै स्थानीय तहलाई निर्देशन जारी गरेको छ । समायोजनका क्रममा दरबन्दी नै नभएका स्थानमा तथा पद, तह तथा श्रेणी नमिलाई समायोजन गरिएको स्वीकार गर्दै मन्त्रालयले त्यसरी पदस्थापन पत्र लिएर आउने कर्मचारीलाई पत्रमा उल्लेख भएबमोजिमको पदमा हाजिर गराउन बिहीबार निर्देशन दिएको हो । यद्यपि, पद र दरबन्दी नै नभएको संस्थामा जबर्जस्ती हाजिर गराइएका कर्मचारीलाई के काम लागाउने भन्नेबारे भने मन्त्रालयले केही खुलाएको छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यका कर्मचारीको समायोजन तथा पदस्थापनका क्रममा दरबन्दी नै नभएका स्थानमा तथा पद नै नमिल्ने गरी सामायोजन गरिएकाले त्यस्ता कर्मचारीलाई कसरी काममा लगाउने भनी स्वास्थ्यलाई पत्र पठाएको थियो । सोही पत्रको जवाफस्वरूप उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीस्तरीय निर्णयबाट स्वास्थ्यले दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी समायोजित भई आएको खण्डमा तथा पद तथा तह नमिली आएको खण्डमा पनि हाजिर गराई काममा लगाउन मुलुकका ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन जारी गरेको हो ।

कतिपय स्थानीय तहमा दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मीको पदस्थापन गरिँदा तथा पद तथा तह नमिलाई खटाइँदा स्थानीय तहहरूलाई कसलाई कसरी हाजिरमा गराउने भन्ने अन्योल सिर्जना भएको थियो । मन्त्रालयका उपसचिव भानुभक्त न्यौपानेले जारी गरेको सूचनामा भनिएको छ, ‘समायोजन हुँदा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी भएका तहहरूमा कर्मचारी अवकाश भएर वा अन्य कुनै कारणले रिक्त दरबन्दी परिपूर्ति नगरी समायोजन भएका कर्मचारीलाई क्रमशः मिलान गर्दै जाने र अन्य रिक्त स्थानमा मिलान गरिनेछ ।’

विगतदेखि नै स्वास्थ्यको कर्मचारी दरबन्दी भद्रगोल अवस्थामा तथा हचुवाका भरमा गरिएका बढुवाका कारण स्वास्थ्यको समायोजन निकै सकसपूर्ण बनेको छ । समायोजनमा हजारौँ त्रुटि भेटिरहँदा एकातिर मन्त्रालय गुनासोमाथि गुनासोको सम्बोधनमै अलमलिरहेको छसमायोजनमा हजारौँ त्रुटि भेटिरहँदा एकातिर मन्त्रालय गुनासोमाथि गुनासोको सम्बोधनमै अलमलिरहेको छ भने अर्कोतर्फ पदस्थापनपत्र लिएर खटाइएको कार्यालय पुगेका कर्मचारी पनि दरबन्दी तथा मिल्दो पद अभावमा अन्योलमा परेका छन् । स्वास्थ्यमा विगतमा विभागीय मन्त्रीले आफू मन्त्री हुनेबित्तिकै आफ्नो मन्त्रालयमातहतका कर्मचारी संख्या र कुल दरबन्दीको रेकर्ड माग्दा आफ्नो कार्याकाल सकिँदासम्म पनि प्राप्त नभएको दुखेसो पोख्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय