प्रकोपमा तीव्र स्वास्थ्यसेवाका लागि एनआरएनए, एनएमए र एनएमएसएसबीच त्रिपक्षीय सम्झौता, संयुक्त ‘र्‍यापिड हेल्थ असेसमेन्ट टिम’ गठन

हेल्थपोस्ट
प्रकाशित
२०७६ असोज २८ गते १८:२९

नेपालको जुनसुकै कुनामा आइपर्ने दैवीप्रकोपका समयमा पीडितलाई वास्तविक आवश्यकताअनुसारको स्वास्थ्यसेवा शीघ्रातिशीघ्र पुर्‍याउन ‘द्रुत स्वास्थ्य सर्वेक्षण टोली’ गठनमा स्वास्थ्यका प्रतिष्ठित तीन संगठनले हातेमालो गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको हेल्थ एन्ड हाइजिन कमिटी, नेपाल चिकित्सक संघ (एनएमए) र नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी (एनएमएसएस)ले सोमबार राजधानीमा दैवीप्रकोपका वेला पीडितलाई द्रुत स्वास्थ्यसेवा पुर्याउन ‘र्‍यापिड हेल्थ असेसमेन्ट टिम’ गठनसम्बन्धमा ८ बुँदे त्रिपक्षीय सम्झौता गरेका हुन् । एनआरएनएको नवौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन प्रारम्भ हुनु एक दिनअघि भएको सम्झौतामा तीनै पक्षको आपसी सहयोग र सहकार्यबाट प्रकोपपीडितलाई द्रुत स्वास्थ्यसेवा पुर्याउने प्रतिबद्धता जनाइएको छ । बुधबारसम्म चल्ने एनआरएनएको विश्व सम्मेलन मंगलबार सुरु भएको छ ।

सम्झौताका हस्ताक्षरकर्ताहरूले नेपाल अनेक किसिमका दैवीप्रकोपको जोखिम क्षेत्रमा रहेकाले पीडितलाई छिटो र आवश्यकताअनुसारको स्वास्थ्यसेवा पुर्‍याउन सधैँ तम्तयार रहने प्राविधिक टोलीको आवश्यकता विगतदेखि नै महसुस हुँदै आएकोमा हाल आएर त्यसलाई मूर्त रूप दिइएको बताए । सम्झौताका तीन पक्षबीच पहिलेदेखि नै प्रकोपको समयमा स्वास्थ्यसेवा पुर्‍याउने काममा सहकार्य हुँदै आएको पनि उनीहरूको भनाइ छ । त्रिपक्षीय सम्झौतामा एनआरएनए हेल्थ एन्ड हाइजिन कमिटीका संयोजक डा. सञ्जीव सापकोटा, एनएमएका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ र एनएमएसएसका अध्यक्ष डा. शक्ति चौरसियाले हस्ताक्षर गरेका छन् । द्रुत सर्वेक्षण टोलीले प्राकृतिक प्रकोपबाट निम्तिएको तत्कालीन स्वास्थ्यसमस्याको सर्वेक्षण र त्यसमा उपचारसेवा प्रदान गर्ने मात्र नभई त्यसबाट भविष्यमा निम्तिन सक्ने सरुवारोगको जोखिम र त्यसबाट बच्ने उपायबारे सचेतनासमेत फैलाउने सम्झौतामा उल्लेख छ ।

विशेषज्ञसहितको द्रुत सर्वेक्षण टोलीले भवितव्य आइपरेमा वेला २४ घण्टाभित्र प्रकोपस्थलमा पुगी त्यहाँको वस्तुगत स्थिति, खास आवश्यकता र अवस्थाबारे सर्वेक्षण गर्नुका साथै आवश्यक स्वास्थ्यसेवा प्रवाह गर्ने एनआरएनए हेल्थ एन्ड हाइजिन कमिटीका संयोजक डा. सापकोटाले बताए । ‘हाम्रो द्रुत सर्वेक्षण टोलीले मूलतः ३ तीन चरणमा काम गर्नेछ– द्रुत सर्वेक्षण, उपचारसेवा र सम्भावित सरुवारोगको जोखिमबारे सचेतना,’ डा. सापकोटाले भने, ‘पहिलो, देशको कुनै पनि कुनामा भवितव्य आएमा प्रभावितको स्वास्थ्यमा के–कति क्षति पुग्यो, कुनकिसिमको स्वास्थ्योपचारसेवाको कति मात्रामा आवश्यकता छ, घाइतेमध्ये गर्भवती, बालबालिका, वृद्धवृद्धा कति छन् र उनीहरूमा कुनखाले समस्या छ, क–कसको उपचार स्थानीयस्तरमै सम्भव छ र कसलाई एम्बुलेन्स वा हेलिकोप्टरमार्फत उद्धार गरेको विशिष्ट उपचारको खाँचो छ, के–कति स्रोत–साधनको आवश्यकता छ लगायत विषयमा द्रुत सर्वेक्षण गरेर यसको जानकारी स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित सरकारी तथा गैरसरकारी निकायलाई जानकारी दिइनेछ, जसले उद्धार र राहतमा खटिने निकायहरूलाई सेवालाई प्रभावकारी बनाउन निकै सहज हुनेछ ।’

‘हाम्रो द्रुत सर्वेक्षण टोलीले मूलतः ३ तीन चरणमा काम गर्नेछ– द्रुत सर्वेक्षण, उपचारसेवा र सम्भावित सरुवारोगको जोखिमबारे सचेतना,’ डा. सापकोटाले भने ।

सर्वेक्षणसँगसँगै चिकित्सकसहितको टोलीले प्रभावित क्षेत्रका घाइते तथा बिरामीलाई आकस्मिक स्वास्थ्यसेवा समेत प्रवाह गर्ने उनको भनाइ छ । ‘दोस्रो भनेको सर्वेक्षणसँगैसँगै आकस्मिक उपचार आवश्यक भएका बिरामीलाई हाम्रो विशेषज्ञ टोलीले चिकित्सकीय सेवासमेत प्रदान गर्नेछ,’ डा. सापकोटाले थपे, ‘प्रकोपको तत्कालीन व्यवस्थापनपछि पनि विभिन्न सरुवारोग फैलिने प्रबल सम्भावना हुने भएकाले त्यसबारेको सचेतना र बच्ने उपायबारे हाम्रो टोलीले स्थानीयलाई काउन्सिलिङ गर्नेछ ।’

विगतमा पनि देशका विभिन्न भाग प्रकोपबाट प्रभावित हुँदा एनआरएनएले एनएमएसएससँग मिलेर प्रभावितस्थलमा पुगी स्वास्थ्यसेवा प्रवाह गरेको डा. सापकोटाले बताए । तर, त्यतिवेला संगठित संयन्त्र नबनेको अवस्थामा आफूहरूले व्यक्तिगत रूपमै खर्च गरेर जोसकेको सहयोग पुर्‍याएकोमा अब भने सहयोग कोष स्थापित गरेरै सेवा पुर्याउने उनको भनाइ छ । बाराको हावाहुरी र रौतहटको बाढीको समयमा स्वास्थ्यसेवा पुर्याउँदाका अनुभवबाट सिकेर नै द्रुत सर्वेक्षण टोली गठन गरिएको डा. सापकोटाले बताए ।

नेपाली चिकित्सकहरूको छाता संगठन तथा सम्झौताको अर्को पक्ष एनएमएका अध्यक्ष डा. श्रेष्ठले प्रकोपका समयमा एनएमएले सधैँ नै आफू एक्लै वा अन्य संस्थाको सहयोगमा पीडितलाई स्वास्थ्यसेवा पुर्‍याउँदै आएको स्मरण गरे । प्रकोपका बखत पीडितलाई स्वास्थ्यसेवा पुर्‍याउनका लागि एनएमएअन्तर्गत छुट्टै संयन्त्र नै भएको उनले जानकारी दिए । ‘हाम्रो प्रयासलाई थप मजबुती दिनका लागि एनआरएन र एनएमएसएससित मिलेर द्रुत सर्वेक्षण टोलीमार्फत सेवालाई थप प्रभावकारी बनाउने प्रयास गरेका हौँ,’ डा. श्रेष्ठले भने, ‘नेपालमा प्रकोपको जोखिम उच्च भएकाले यसखाले संयन्त्र अति आवश्यक छ ।’ एनएमए र एनएमएसएसको दक्ष तथा प्राविधिक जनशक्तिमा एनआरएनएको आर्थिक तथा प्राविधिक सहयोग मिसिएपछि टोलीको सेवा थप प्रभावकारी बन्ने विश्वास उनले व्यक्त गरे ।

‘हाम्रो प्रयासलाई थप मजबुती दिनका लागि एनआरएन र एनएमएसएससित मिलेर द्रुत सर्वेक्षण टोलीमार्फत सेवालाई थप प्रभावकारी बनाउने प्रयास गरेका हौँ,’ डा. श्रेष्ठले भने, ‘नेपालमा प्रकोपको जोखिम उच्च भएकाले यसखाले संयन्त्र अति आवश्यक छ ।’

सम्झौताको अर्को पक्ष एनएमएसएसका अध्यक्ष डा. चौरसियाले विगतका प्रकोपमा पनि एनआरएन र एनएमएसित सहकार्य गरेर पीडितलाई उपचारसेवा पुर्याएको स्मरण गर्दै तीनवटै संस्थाको सामूहिक प्रयासले प्रकोपपीडितलाई प्रभावकारी स्वास्थ्यसेवा पुर्‍याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । ‘हामी प्रभावित क्षेत्रमा खट्ने जनशक्ति उपलब्ध गराउँछौँ, एनएमएले विशेषज्ञ चिकित्सकीय जनशक्ति दिन्छ, एनआरएनले आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्छ,’ डा. चौरसियाले हेल्थपोस्टसित भने । नेपाल भूकम्प, टोर्नाडो, बाढीपहिरोलगायत विविध दैवीप्रकोपको उच्च जोखिममा रहेकाले आकस्मिक स्वास्थ्यसेवाका लागि सधैँ नै तम्तयार रहनुपर्ने उनको भनाइ छ ।

नेपालले भूकम्प, बाढी, डुबान, पहिरो, हावाहुरी, शीतलहर, आगलागीलगायत प्राकृतिक प्रकोप झेल्दै आएको छ । वर्षसँगै बर्सेनि तराई क्षेत्र बाढी र डुबानका कारण प्रभावित हुने गरेको छ भने पहाडी भेग बाढी तथा पहिरोले आक्रान्त बन्दै आएको छ । यीबाहेक पनि वेलबखत आउने विनाशकारी भूकम्प तथा हावाहुरीका कारण ठूलो धनजनको क्षति हुने गरेको छ । जनुसुकै प्रकोपका समयमा उद्धार, राहत, स्वास्थ्योपचार तथा पुनःस्थापनाका कार्यमा हुने गरेका कमी–कमजोरीबारे चर्चा भए पनि भविष्यका लागि आवश्यक तयारी भने आवश्यक रूपमा हुन सकेको छैन । प्रकोकको समयमा उद्धार र राहतसँगै घाइते तथा अन्य बिरामीलाई आकस्मिक तथा नियमित स्वास्थ्यसेवा मूल आवश्यकताको विषय बन्छ । यसैलाई मध्यनजर गरेर नै द्रुत सर्वेक्षण टोली बनाइएको सम्झौताकर्ता संगठनहरूको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय