आइसियू एम्बुलेन्सका लागि रकम जुटाउँदै रोटरी
गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा आइसियु र सिसियु एम्बुलेन्स संचालन गर्न रोटरी क्लबहरुले सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएका छन् । कार्तिक २३ गते बुटवल मण्डपमा हुने कार्यक्रमको तयारी भैरहेको रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले बताए ।
रोटरी क्लब अफ सेन्ट्रल बुटवलको आयोजनामा रोटरी क्लब अफ भैरहवा, रोटरी क्लब अफ तिनाउ बुटवल, रोटरी क्लब अफ लुम्बिनी स्टारसहित रोट्याक्ट, ईन्ट्रायाक गरि एक दर्जन क्लबहरुले सहकार्य गर्ने जनाएका छन् । कार्यक्रममा ३ हजार, ५ हजार र १० हजार ३ प्रकारको टिकट ब्यवस्था गरिएको उनले बताए । टिकट खरिद गर्ने दर्शकमध्ये २५ जनाका दरले ३ प्रकारको प्लानमा फ्रि फुलबडि चेकअपको ब्यवस्था गरिएको उनले बताए ।
गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बिरामीको सेवाका लागि एम्बुलेन्स सेवा थप गर्ने योजना रहेको बताए । करीब ६० लाख पर्ने एम्बुलेन्स पुर्ण रुपमा सुविधा सम्पन्न सेवा उपलब्ध हुने उनले बताए । एम्बुलेन्समा चिकित्सकसहितको सेवा हुने छ । सास्कृतिक संयोजक दिनेश राज रेग्मीले ३ घण्टाको समयमा कलाकारहरुले प्रस्तुति दिने बताए । राष्ट्रिय र स्थानिय कलाकारहरुलाई पारिश्रमिक र बसाई तथा अन्य टेन्स, साउण्ड लगायतमा सक्दो कम खर्च गर्ने सोच बनाएको उनले बताए । अन्य कार्यक्रमभन्दा थोरै रकममा कलाकारहरुलाई कार्यक्रमलाई सहयोग गर्ने उनले बताए । बुटवल मण्डपमा हुने कार्यक्रममा ८ देखि १० लाख खर्च हुने उनले बताए ।