सुदूरपश्चिमका मिर्गौलापीडित उपचारबाट वञ्चित, पालो कुर्दाकुदै ७५ को गयो ज्यान, नाम लेखाएका २०० सम्पर्कविहीन

कैलालीबाट जीवन विष्ट
प्रकाशित
२०७६ असोज २७ गते १९:१८

रोजगारीको सिलसिलामा झन्डै १० वर्षअघि पहिलोपटक मलेसिया गएका कञ्चनपुर पुनर्वासका सूर्य तामाङले करिब ७ वर्ष उतै बिताए । ७ वर्षको अवधिमा घरको ऋण तिरी परिवारसँगै रमाउन घर फर्किए पनि उनी परिवार बढेपछि आवश्यकता परिपूर्ति गर्न नसक्दा पुनः मलेसिया हानिए । आफ्नो स्वास्थ्यको कुनै पर्वाह नगरी परिवारको खुसीका लागि दैनिक १९ घण्टा काम गरिरहेका तामाङको स्वास्थ्यमा अचानक समस्या आयो । चेकजाँचका लागि अस्पताल पुग्दा उनको पेटमा पत्थरीसँगै अन्य समस्या पनि देखिए । विदेशमा काम गर्न नसकेपछि घर फर्किनुबाहेक उनीसँग अरू विकल्प थिएन । विदेश बसाइको ८ वर्षपछि जिउँदो लास बनेर उनी घर फर्किए ।

तामाङको सानो, सुखी परिवारमा झन् दुःखका दिन सुरु भए । घरको कमाउने मान्छे नै थला परेपछि तामाङ परिवारमा आर्थिक संकट आउन थाल्यो । चेकजाँचका लागि सेती अञ्चल अस्पताल पुग्दा फोक्सोमा पानी जमेको देखियो । त्यसको केही समयमा दुवै मिर्गौला फेल भइसकेको उनले थाहा पाए ।

दुवै मिर्गौला गुमाएका उनी सेती अञ्चल अस्पतालको डायलाइसिस कक्षको शय्यामा छन् । सातामा दुईपटक डायलाइसिस सेवा लिइरहेका तामाङ मिर्गौला प्रत्यारोपणका लागि आवश्यक खर्च नभएको बताउँछन् ।

मृत्युसँग लडिरहेकी गोमा
धनगढीकी गोमादेवी बोहराको पीडा झन् दर्दनाक छ । वि.सं. २०५२ मै श्रीमान् गुमाएकी गोमादेवीले गत वर्ष आफ्ना दुवै मिर्गौला पनि गुमाइन् । एक वर्षसम्म सेती अञ्चल अस्पतालमा डायलाइसिस सेवा लिएकी उनी हाल काठमाडौंमा उपचाररत छिन् । आफूलाई केही भइहाले साना छोराछोरीको भविष्य के होला भन्ने चिन्ताले उनलाई सताइरहन्छ । ‘मलाई मर्न डर छैन, तर छोराछोरीको भविष्यले सताइरहन्छ,’ उनी भन्छिन्, ‘प्रत्यारोपण गर्न ५० लाख रकम आवश्यक छ, तर घरमा छाक टार्नै मुस्किल छ ।’

सुदूरपश्चिम प्रदेशमा मिर्गौलाको उपचार सहज छैन । सेती प्रादेशिक अस्पताल धनगढीमा डायलाइसिसको सुविधा भए पनि सेवा प्रभावकारी नहुँदा बिरामीले समस्या झेलिरहेका छन् । सहजै उपचार सम्भव नभएपछि मिर्गौलापीडित जीवन र मरणको दोसाँधमा छन् । सरकारले केही वर्षअघि नै डायलाइसिस सेवा निःशुल्क गरे पनि अझै पूर्णतः कार्यान्वयनमा आउन सकेको छैन । फिस्टुला भर्न तथा मिर्गौला प्रत्यारोपण गर्न पैसा नहुँदा अस्पतालको शय्यामै प्राण त्याग्नुपर्ने बाध्यता बिरामीको छ ।

सेती अस्पतालमा डायलाइसिस गराउन नाम दर्ता गरेका अधिकांश बिरामी सेवा प्रभावकारी नभएपछि सम्पर्कविहीन भएका छन् । २ वर्षअगाडि मात्रै सेती अस्पतालमा डायलाइसिसका लागि २ सय ५० जना बिरामीले नाम दर्ता गराएकोमा अहिले साप्ताहिक रूपमा ४७ जनाले मात्रै सेवा लिइरहेका छन् ।

२ सय बिरामी सम्पर्कविहीन
सेती अस्पतालमा डायलाइसिस गराउन नाम दर्ता गरेका अधिकांश बिरामी सेवा प्रभावकारी नभएपछि सम्पर्कविहीन भएका छन् । २ वर्षअगाडि मात्रै सेती अस्पतालमा डायलाइसिसका लागि २ सय ५० जना बिरामीले नाम दर्ता गराएकोमा अहिले साप्ताहिक रूपमा ४७ जनाले मात्रै सेवा लिइरहेका छन् । अहिले पालो कुर्नेको संख्या पनि ५ जना मात्रै भएको सेती अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गरिरहेको विरंग हेल्थ केयर प्रालिले जनाएको छ ।

मिर्गौलाको फिस्टुला भर्न भारत जानुपर्ने बाध्यता
सेती प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा उपलब्ध भए पनि मिर्गौलाको फिस्टुला भर्न भने बिरामीले काठमाडौं, नेपालगन्ज या भारत नै जानुपर्ने बाध्यता छ । मिर्गौलाको स्थिति जान्न विशेषज्ञ डाक्टर नै नहुँदा समस्या झन् बढेको छ । डायलाइसिस सेवा पाउन निकै कठिनाइ भइरहेको डडेल्धुरा जोगबुढाका ७५ वर्षीय प्रतापसिंह बोहराले गुनासो गरे । सेती अस्पतालको डायलाइसिस सेवासमेत प्रभावकारी नहुँदा सुदूरपश्चिम प्रदेशका अधिकांश मिर्गौलाका बिरामीले डायलाइसिसका लागि नेपालका अन्य प्रदेशका अस्पताल र भारतका विभिन्न अस्पताल धाउनुपर्ने बाध्यता छ । सरकारले निःशुल्क भनेको डायलाइसिस सेवा प्रदेशमा शुल्क तिरेर पनि नपाउने अवस्था रहेको डडेल्धुराकी पूजा थापाले गुनासो गरिन् । ‘प्रदेशमा सहजै सेवा नपाएपछि हजारौँ रकम खर्च गरेर भारतमा डायलाइसिस गराइरहेकी छु,’ थापाले भनिन् ।

डायलाइसिसका लागि सेती अस्पतालमा नाम दर्ता गराएका २ सय ५० मध्ये ७५ भन्दा बढीले पालो कुर्दाकुर्दै ज्यान गुमाएको अस्पताल स्रोतले जनाएको छ । झन्डै १ सय ३० जना बिरामी भने सुदूरपश्चिमबाहिर डायलाइसिस गराइरहेका छन् ।

४ मेसिनको भर, पालो कुर्दाकुर्दै जान्छ ज्यान
विगतमा सेती अस्पताल आफैँले डायलाइसिस सेवा सञ्चालन गरे पनि ०७४ चैतदेखि भने निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ । अस्पतालसँगको सम्झौतामा सुरुवातमा १० वटा मेसिनबाट सेवाप्रवाह गरिए पनि बिरामीको चापलाई मध्यनजर गर्दै आवश्यक मेसिन थप गर्ने उल्लेख थियो । तर, अहिले चारवटा मेसिन मात्रै सञ्चालनमा छन् । ६ वटा मेसिन बिग्रिएका छन् । तिनको मर्मतका लागि कुनै चासो दिइएको छैन ।

डायलाइसिसका लागि सेती अस्पतालमा नाम दर्ता गराएका २ सय ५० मध्ये ७५ भन्दा बढीले पालो कुर्दाकुर्दै ज्यान गुमाएको अस्पताल स्रोतले जनाएको छ । झन्डै १ सय ३० जना बिरामी भने सुदूरपश्चिमबाहिर डायलाइसिस गराइरहेका छन् ।

अस्पतालसँगको सम्झौतामा सुरुवातमा १० वटा मेसिनबाट डायलाइसिस सेवाप्रवाह गरिए पनि बिरामीको चापलाई मध्यनजर गर्दै आवश्यक मेसिन थप गर्ने उल्लेख थियो । तर, अहिले चारवटा मेसिन मात्रै सञ्चालनमा छन् । ६ वटा मेसिन बिग्रिएका छन् । तिनको मर्मतका लागि कुनै चासो दिइएको छैन ।

प्रदेश सरकारले गरेन पहल
अस्तव्यस्त जीवनशैलीका कारण मिर्गौलासम्बन्धी रोगी बढेका छन् । पत्थरी, मधुमेह, उच्च रक्तचाप र जीवनशैलीका कारण नै किड्नी फेल हुने गरेको डा. शेरबहादुर कमरले बताए । यो समस्याबाट बच्न खानपिन तथा जीवनशैलीमा विशेष ध्यान दिनुका साथै नियमित स्वास्थ्यपरीक्षण आवश्यक रहेको उनको भनाइ छ ।

सुदूरपश्चिममा ३० हजारको हाराहारीमा मिर्गौलापीडित रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकले देखाएको छ । तर, मिर्गौलारागीको संख्या बढिरहँदा उपचारका लागि प्रदेश सरकारले कुनै पहल गरेको छैन । सेती अस्पतालबाहेक प्रदेशका अन्य कुनै अस्पतालमा यो सेवा उपलब्ध छैन । मिर्गौलाको सहज उपचारका लागि प्रदेश सरकारले पहल गर्न सकेको छैन ।

यद्यपि, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख दयाकृष्ण पन्त उपचारको पहल भइरहेको बताउँछन् । मिर्गौलाको फिस्टुला भर्नसमेत बाहिर जान नपर्ने गरी गृहकार्य सुरु भइरहेको उनको दाबी छ । बिग्रिएका मेसिन मर्मतमा सेती अस्पतालले चासो नदेखाएको भन्दै उनले एक्सनमा उत्रिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय