बोनम्यारो बायोप्सी

हेल्थपोस्ट
प्रकाशित
२०७६ असोज २६ गते ११:३३

बोनम्यारो तपाईंको हड्डीभित्र हुने सफ्ट टिस्यु हो, जहाँ रक्तकोषिकाहरू बनाइन्छ । बोनम्यारो बायोप्सीका क्रममा एउटा सानो टिस्युको नमुना लिइन्छ र परीक्षणका लागि ल्याबमा पठाइन्छ । बायोप्सी प्रायः शरीरको तल्लो भाग हिपको हड्डीबाट लिने गरिन्छ ।

बोनम्यारो बायोप्सी निम्न प्रयोजनका लागि लिइन्छ–
– रक्तरोगको जाँचका लागि,
– रगत र हड्डीको क्यान्सर परीक्षणका लागि,
– उपचारले कसरी काम गरिरहेको छ भनेर बुझ्नका लागि,
– संक्रमणको जाँचका लागि ।

बोनम्यारो बायोप्सी परीक्षण गर्न करिब ३० मिनेट समय लाग्छ । परीक्षणअघि स्वास्थ्यकर्मी तथा कर्मचारीले तपाईंसित निम्न तथ्य सोध्न सक्छन्
– तपाईंले प्रयोग गरिरहनुभएको औषधि, जडीबुटी, भिटामिन तथा अन्य खुराकबारे,
– तपाईंमा औषधि, खाद्यपदार्थ आदिको एलर्जीबारे,
– अन्य स्वास्थ्यस्थिति तथा पछिल्लो सर्जरीबारे ।

यदि तपाईं गर्भवती हुनुहुन्छ वा भएको आशंका छ भने परीक्षणअघि स्वास्थ्यकर्मी वा खटिएका स्टाफलाई बताउनुहोस् ।

परीक्षणका क्रममा
– तपाईंले अस्पतालको गाउन पहिरिनुहुनेछ ।
– तपाईंलाई पीडा वा दुखाइ कम गर्ने औषधि दिन सकिन्छ ।
– तपाईंले कोल्टे परेर वा घोप्टो परेर सुत्नुपर्ने हुन्छ ।
– चिकित्सकले इन्जेक्सनद्वारा बायोप्सी गर्ने भागलाई लठ्याउनेछन्, यसक्रममा तपाईंलाई पीडा महसुस हुन सक्छ ।
– जब बायोप्सी गर्ने भाग लठ्ठिन्छ, तब चिकित्सकले छाला हुँदै तपाईंको हड्डीमा सुई लगाउँछन् । यसक्रममा तपाईंलाई केही दबाब र पीडाको महसुस हुन सक्छ । सामान्यतया यो पीडा केही सेकेन्डका लागि मात्र रहन्छ ।
– सुईमार्फत चिकित्सकले हड्डीभित्रबाट टिस्युको सानो नमुना निकाल्छन् र सुई बाहिर झिक्छन्् । त्यसपछि काटिएको भागमा पट्टी बाँधिन्छ ।

परीक्षणपछि
– तपाईंले १५ देखि २० मिनेटका लागि उत्तानो परेर सुत्नुपर्ने हुन्छ ।
– नर्सले रक्तस्रावको लक्षणका लागि अघि अगाएको पट्टीको जाँच गर्छन् ।
– तपाईंलाई केही असुविधा हुन सक्छ ।
– बायोप्सी गरेको भोलिपल्ट तपाईं पट्टी हटाउन सक्नुहुन्छ ।
– परीक्षणको रिपोर्ट आएपछि नतिजाबारे तपाईंले आफ्नो चिकित्सकसित परामर्श गर्नुपर्ने हुन्छ ।

बायप्सीपछि तपाईंलाई निम्नमध्ये कुनै लक्षण देखिएमा तुरुन्त चिकित्सकसित सम्पर्क गर्नुहोस्–
– यदि तपाईंको दुखाइ तल खुट्टातर्फ गएमा,
– बायोप्सी गरेको स्थानमा रक्तस्राव भएमा,
– १००.४ डिग्री फरेनहाइट (३८ डिग्री सेन्टिग्रेट) भन्दा बढी ज्वरो आएमा ।

उल्लेखित कुराका अतिरिक्त पनि बायोप्सीअघि बायोप्सीका क्रममा तथा बायोप्सीपछि तपाईंमा कुनै समस्या तथा सवाल भएमा तुरुन्त आफ्नो चिकित्सकलाई बताउनुहोस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय