लगाउँदालगाउँदैको टीका छोडेर पोस्टमार्टम गर्दाको त्यो बीभत्स दृश्य…

मानवीय स्वभाव अचम्मको छ, सम्झनुपर्ने कुरा बिर्सिंदै जान्छ भने बिर्सिंदा राम्रो हुने कतिपय कुरा बारम्बार मानमा आइरहन्छन् । कतिपय घटनालाई सजिलै भुल्न सकिन्छ । तर, कतिपय घटना यस्ता हुन्छन्, जो घटेको वर्षौंवर्ष बितिसक्दा पनि हरपल मस्तिष्कमा आइ नै रहन्छन् ।

जीवनमा धेरै दसैँ मनाइयो । तीमध्ये अधिकांश आम नै रहे, जसको स्मरण दिमागमा खास बनेर रहेका छैनन् । तर, पछिल्ला १२ वर्षको अनुभूति अलिक पृथक् छ । पछिल्लो समय जब–जब दसैँ आउँछ, मेरो दिमागमा त्यही ०६४ सालको दसैँको घटना बारम्बार घुमिरहन्छ ।

त्यसवेला म जिल्ला अस्पताल काभ्रेमा कार्यरत थिएँ । विजयादशमीका दिन करिब पूर्वाह्न ११ बजेको शुभ साइतमा घरमा सबैजनाले बुबा–आमाको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्यौँ । दसैँमा मान्यजनको हातबाट टीका लाउनको प्रचलनअनुसार घरमा टीकाटाला सकेर ससुरालीघर जाने तय भयो । काठमाडौंको कोटेश्वरबाट म र मेरी श्रीमती बसयात्रामा ससुराली घर सानेपातर्फ प्रस्थान गर्यौैँ ।

करिब १ बजे ससुरालीघर सानेपा पुग्यौँ । बुबाको हातबाट टीका लागाउँदै थिएँ, फोन आयो । फोनसँगै दुःखदायी खबरसमेत आयो । सिन्धुपाल्चोकबाट गर्भवती महिलालाई ल्याउँदै गरेको एम्बुलेन्स काभ्रेमा दुर्घटना भएको रहेछ । दुर्घटनामा गर्भवती महिलाको मुत्यु भएको मर्माहत खबर ट्राफिक कार्यालय काभ्रेका एक प्रहरीले सुनाए । ‘पोस्टमार्टमका लागि तपाईं जतिसक्दो छिटो आउनुपर्ने भयो,’ उनले भने ।

ललितपुरको सानेपामा भएको मान्छे, तत्काल काभ्रे पुग्न सम्भव थिएन, न त मसँग कुनै साधन नै थियो । मलाई त्यहाँ पुग्न ठूलो समस्या भयो । आफू ससुरालीघरमा टीकाटाला गर्दै गरेको अवगत गराएँ । जे नहुनु भइ नै सकेपछि केही समयपछि आउने जवाफ दिएँ ।

ललितपुरको सानेपामा भएको मान्छे, तत्काल काभ्रे पुग्न सम्भव थिएन, न त मसँग कुनै साधन नै थियो । मलाई त्यहाँ पुग्न ठूलो समस्या भयो । आफू ससुरालीघरमा टीकाटाला गर्दै गरेको अवगत गराएँ । जे नहुनु भइ नै सकेपछि केही समयपछि आउने जवाफ दिएँ । तर, मृतकका आफन्तसहित धेरै मानिसको भिडभाड भइसकेकाले मलाई तत्कालै आउन भनियो । ‘संवेदनशील केस भएकाले तपाईं आउनैपर्ने भयो,’ उताबाट जवाफ आयो ।

मैले आफूसँग कुनै साधन नभएका कारण प्रहरीले कुनै साधनको व्यवस्था गरिदिन अनुरोध गरेँ । इलाका प्रहरी कार्यालय बनेपाको भ्यान केही समयमै सानेपा आइपुग्यो । श्रीमतीलाई त्यहीँ छाडेर टीका अधुरै राखेर खाना नखाएकै अवस्थामा प्रहरी भ्यानमा म बनेपातर्फ हानिएँ ।

दसैँको समय भएकाले रोडमा धेरै चहल–पहल थिएन । भ्यानले निकै तीव्र गति लियो । मलाई अहिले पनि याद छ, एक घण्टाको बीचमा हामी काभ्रेको शिर मेमोरियल अस्पताल पुग्यौँ । अस्पतालबाहिर मानिसको भिड थियो । भित्र पुगेर हेर्दा एउटी गर्भवती महिलाको लास लम्पसार पारेर राखिएको थियो । त्यो दृश्य निकै बीभत्स थियो । मृतकको शरीर रगतले लत्पतिएको थियो ।

भिड ज्यादा भएकाले यथाशीघ्र पोस्टमार्टम गर्नुपर्ने दबाब ममाथि थियो । पोस्टमार्टम सरकारी चिकित्सकले नै हुनुपर्ने बाध्यता थियो । म ती महिलाको पोस्टमार्टम गर्नतर्फ लागेँ । मृतकको पेट चिरफार गरेर हेर्दा दुईवटा बच्चा रहेछन् । दुर्भाग्यवश दुवैको मृत्यु भइसकेको थियो । त्यो क्षण मेरो जीवनकै नरमाइलो क्षण बन्न पुग्यो । ती मृत बालकको दृश्य आज पनि आँखामा झलझली आइरहन्छ ।

त्यसवेला अलिकति संवेदनशीलता, मानवता, भावुकता मभित्र थिए । पूरै देश चाडपर्वमा रमाइरहेको अवस्थामा थियो । एक्कासि मेरो मस्तिष्कमा दसैँजस्तो महान् चाडमा लगाउँदालगाउँदैको टीका छाडेर हिँड्नुपर्दा परिवारमा कस्तो भयो होला भन्ने सोच आयो । एकमनले कता–कता आफ्नो पेसाप्रति दिक्क पनि लायो, आफ्नो पर्सनल समय कत्ति पनि नहुँदो रहेछ । फेरि अर्कोतर्फ मानवीय सेवामा समर्पित हुनु नै ठूलो घर्म नै होजस्तो महसुस भयो । पोस्टमार्टम सकेर घर फर्किएँ ।

त्यसपछि एक हप्ता टीकाटालामै समय बित्यो । तर, मलाई दसैँ नसकियुन्जेल त्यही घटनाको दृश्य झलझली आइराख्यो, जसले आज पनि वेलाबखत साताइरहन्छ ।

प्रस्तुति : पुष्पराज चौलागाईं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय