पूर्वखोला पूर्ण संस्थागत सुत्केरी गाउँपालिका
पूर्वखोला गाउँपालिका शून्य होमडेलिभरी गाउँपालिका बनेको छ । गाउँपालिकाका ६ वटै वडा संस्थागत सुत्केरी वडा घोषणासँगै गाउँपालिका शून्य होमडेलिभरी बनेको हो । तर, यसको औपचारिक घोषणा भने गरिएको छैन ।
२३ वैशाखदेखि वडा नं. ५ वीरकोटलाई पूर्ण संस्थागत वडा घोषणा गरेको गाउँपालिकाले अन्तिमपटक वडा १ सिलुवालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेसँगै गाउँपालिकाका ६ वटै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषित भएका हुन् । गाउँपालिकामा ६ वटा स्वास्थ्यचौकी र तीन स्वास्थ्य एकाइले सेवा प्रदान गर्दै आएका छन् ।
गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले गाउँपालिकाका स्वास्थ्यसंस्थाबाट १६९ जनाले संस्थागत सुत्केरीसेवा लिएको बताए । उनका अनुसार गाउँपालिकाका १४१ जनाले अन्य स्वास्थ्यसंस्थाबाट सुत्केरीसेवा लिएका छन् । गाउँपालिकाभित्रका सबै स्वास्थ्यसंस्थामा जनशक्ति र भौतिक पूर्वाधारको व्यवस्थापन गरी शून्य होमडेलिभरी गाउँपालिका बनाउन सफल भएको उनले बताए । यसलाई औपचारिकता मात्र दिन बाँकी रहेको उनको भनाइ छ ।
स्वास्थ्यसंस्थामा सुत्केरी हुने महिलाले नेपाल सरकारबाट २ हजार रुपैयाँ पाउँदै आएकोमा गाउँपालिकाले नियमित चारपटक गर्भपरीक्षण गर्दा थप ८ सय रुपैयाँ प्रदान गर्दै आएको छ । पूर्वखोला गाउँपालिकाले गर्भजाँच गराउने महिलालाई एक क्यारेट अण्डा र ६ सय रुपैयाँ रकमसमेत प्रदान गर्दै आएको छ ।
प्रदेश ५ का सांसद युवराज खनालले पछिल्लोपटक वडा १ सिलुवालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन् । उनले आमा तथा बच्चाको सुरक्षाका लागि स्थानीय तहले चालेको कदमको प्रशंसा गर्दै घोषणासँगै निरन्तरतामा ध्यान दिनु आवश्यक रहेको बताए । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले वडा १ का अध्यक्ष भोगबहादुर थापा र सिलुवा स्वस्थ्यचौकी प्रमुख वसन्ता केसीलाई प्रमाणपत्र हस्तान्तरण गरे । गाउँपालिका अध्यक्ष थापाले गाउँपालिकाले सम्भवतः प्रदेश ५ मै पहिलोपटक सम्पूर्ण वडा पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न सफल भएको बताए । उनले गत वर्ष सबै वडामा बर्थिङ सेन्टर घोषणा गरेको बताउँदै यसपालि पूर्ण संथागत सुत्केरी घोषणा गर्न सफल भएको बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका पब्लिक हेल्थ नर्स अधिकृत कल्पना पौडेल, पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक श्रीराज आचार्य, स्वास्थ्य शाखा उपसंयोजक मोहन ढकाल, सुआहारा कार्यक्रम पाल्पाका संयोजक ज्ञानदीप आचार्यलगायतले आमा शिशुको स्वास्थ्य र स्वास्थ्यसंस्थामा सुत्केरी गराउनुको महत्त्वका विषयमा चर्चा गरेका थिए ।