मायादेवीमा ग्रामीण क्षेत्रकेन्द्रित बर्थिङ सेवा

कृष्ण मल्ल
प्रकाशित
२०७६ असोज १६ गते १८:२२

 

रुपन्देहीको मायादेवी गाउँपालिकाले ग्रामीण क्षेत्रका गाउँलाई प्राथमिकतामा राखेर स्वास्थ्य गतिविधि सुरु गरेको छ । गाउँपालिकाका गाउँको अवस्थालाई मध्यनजर गर्दै ग्रामीण क्षेत्रलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीले बताए ।

गाउँपालिकामा आठवटा वडा रहेकोमा चारवटामा मात्रै स्वास्थ्यसंस्था छन् । गाउँपालिकाको आधा हिस्सा स्वास्थ्यसंस्थाविहीन बनिरहँदा स्थानीय सरकारले भएका स्वास्थ्यसंस्थाको स्तरोन्नति र सेवा थप्दै जाने नीति लिएको छ । त्यसैगरी, स्वास्थ्यसंस्था नभएका वडाहरुमा क्रमशः स्वास्थ्यसंस्था स्थापना गर्ने कार्यक्रम गाउँपालिकाले अगाडि सारेको छ ।

वडा नं. ३ मा रहेको कम्हरिया स्वास्थ्यचौकीमा गाउँपालिकाले बर्थिङ सेवा सुरु गरेको छ । उक्त स्वास्थ्यचौकीले गाउँपालिकाको वडा १, २, ३ र ४ मा सेवा दिइरहेको छ । उक्त स्वास्थ्यचौकीमा गाउँपालिकाले गत वर्षदेखि आफ्नै बजेटबाट एम्बुलेन्स खरिद गरी सेवा सुरु गरेको छ । बर्थिङ सेन्टर सञ्चालनका लागि गाउँपालिकाले ३० लाख बजेट विनियोजन गरी भवन निर्माणको काम गरिरहेको छ ।

कम्हरिया स्वास्थ्यचौकीको बर्थिङ सेन्टरबाट आर्थिक वर्ष ०७५÷७६ मा १६४ जनाले प्रसूतिसेवा लिएका छन् । त्यसमध्ये १३ जना २० वर्षभन्दा कम उमेरका आमा रहेको स्वास्थ्यचौकीका हेल्थ असिस्टेन्ट प्रदीपकुमार पण्डितले जानकारी दिए । त्यसैगरी, चालू आवमा ४० जनाले सेवा लिएकोमा ६ जना २० वर्षमुनिका छन् । स्वास्थ्यचौकीमा १२ जना कर्मचारी रहेकोमा बर्थिङ सेन्टरमा मात्रै तीनजना अनमी र २ जना कार्यालय सहयोगीको व्यवस्था गरिएको छ । गाउँपालिकाको पहलमा बर्थिङ सेन्टर स्थापना र सञ्चालन गरिएको हो । बर्थिङ सेन्टर सञ्चालनका लागि संघीय सरकारबाट प्राप्त सहयोगमा अपुग आर्थिक व्ययभार गाउँपालिकाले बेहोर्दै आएको छ । गत आर्थिक वर्षका लागि कर्मचारी व्यवस्थापनका लागि गाउँपालिकाले ५ लाख ३२ हजार बजेट खर्च गरेको थियो । वडा ३ ले अल्ट्रासाउन्ड र गाउँपालिकाले ल्याबका लागि बजेट छुट्याएका छन् ।

गाउँपालिकाले पिछडिएको क्षेत्रबाट बर्थिङ सेन्टर सुरु गरेको र अबको वर्ष वडा ५ गोनाहा गाउँमा बर्थिङ सेन्टर स्थापना गर्ने गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले बताए । गोहानामा स्वास्थ्यचौकी स्थापना भए पनि यस क्षेत्रका ३३ प्रतिशत जनताले मात्र सेवा लिइरहेको अध्यक्ष चौधरीको भनाइ छ । खोला–नाला र सडकको सुविधा नपुगेका कारण गाउँसम्म स्वास्थ्यसेवाको पहुँच नपुगेको उनले बताए । मुख्यगरी, यहाँका जनता छपियाँ, लुम्बिनी, सूर्यपूरा र भैरहवाका स्वास्थ्यसंस्थासम्म सेवा लिन पुग्ने गरेको उनले बताए ।

गाउँपालिकाका ८ वटा वडामध्ये वडा २, ४, ६ र ८ मा स्वास्थ्यसंस्था छैनन् । यस वर्ष वडा ८ बसडिलवामा स्वास्थ्यकेन्द्र खोल्ने योजना रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक गणेश भण्डारीले बताए । उनका अनुसार गोनाहा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी बर्थिङ सेन्टर बनाउनका लागि यस वर्ष भवन बनाउने काम सुरु गरिँदै छ । जिल्ला समन्वय समितिसँगको सहकार्यमा भवन निर्माणका लागि ५० लाख बजेट विनियोजन गरिएको उनले बताए । साबिकको कम्हरिया, गोनाहा, धमौली र हाटी बनगाई गरी ४ गाविस मिलाएर मायादेवी गाउँपालिका बनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय