बुटवलमा प्रदेशकै पहिलो ट्रमा अस्पताल सुरु
बुटवलमा प्रदेशकै पहिलो ट्रमा अस्पतालको रुपमा तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि.ले आफ्नो सेवा शुरु गरेको छ । प्रदेश पाँचको अस्थायी राजधानी बुटवल सुख्खानगरमा आफ्नै भवनमा अस्पतालले प्रारम्भिक सेवा शुरु गरेको हो । अस्पताल संचालन गर्नका लागि १६ करोड लगानी भएको संचालकहरुले जनाएका छन् ।
अस्पतालमा बुटवल क्षेत्रका बिभिन्न पेशा व्यबसायमा संलग्न रहेका युवाहरुको लगानी रहेको छ । यस क्षेत्रमा न्यूरो र ट्रमाको स्तरीय सेवा नभएकाले र यहाँका जनताको आधारभूत आवश्यकता पूरा गर्नकालागि न्यूरो र ट्रमालाई लक्षित गरेर बिशेषज्ञ सेवा सुरु गरिएको हो । अस्पतालको यहि असोजको अन्तिम साता औपचारिक उद्घाट गर्ने तयारी गरिएको अस्पतालका अध्यक्ष करुण खनालले गराए । बुटवल तथा आसपासका जनता सामान्य उपचारकालागि पनि काठमाण्डौ वा बिदेश जानुपर्ने बाध्यता रहेको छ । प्रदेश राजधानी भएसागै घरआँगानमै सेवा दिने र छिटो छरितो स्वास्थ्य सेवाका लागि बाहिर जाने बाध्यता हटाउनका लागि अस्पताल सञ्चालन गरिएको अध्यक्ष खनालले बताए ।
अस्पतालका अनुसार विशेषज्ञ सेवा प्रदान गर्नेगरी सञ्चालनको तयारी गरिएको उक्त अस्पतालमा हाडजोर्नी तथा ट्रमा, नसा तथा स्पाईनल सर्जरी, न्यूरो सर्जरी, स्त्री रोग तथा प्रसुती, जनरल तथा न्यूरो सर्जरी, नाक कान घाँटी, म्याक्सीयोफेसीयल सर्जरी, वाल रोग तथा फिजियोथेरापी सेवा दिनेछ । अस्पतालबाट इमर्जेन्सी सेवा, आईसीयु, प्रसुती, फार्मेसी, एम्बुलेन्स लगायतका सेवा २४ सै घण्टा इमरजेन्सी प्रदान गरिने अस्पतालले जनाएको छ ।