स्वास्थ्यबिमा लागू भएसँगै विराट मेडिकल कलेज टिचिङ हस्पिटलबाट लाभान्वित हुनेक्रम बढ्दो

‘स्वास्थ्यबिमा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७४’ लागू भएसँगै विभिन्न निकायले यसलाई कार्यान्वयनमा ल्याउन थालेका छन् । सरकारी स्तरमा मात्रै नभएर निजी अस्पतालहरूले पनि स्वास्थ्यबिमालाई प्राथमिकतामा राखेको पाइन्छ ।

पूर्वको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा पनि बिमा योजना प्रभावकारी बन्दै गएको कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार स्वास्थ्यबिमा गराउनेको संख्या दैनिक बढ्दो छ । उनी भन्छन्, ‘समयमै स्वास्थ्यबिमा गराइराख्यो भने आपत्कालीन अवस्थामा पैसाका लागि छटपटिनुपर्दैन ।’

बुढीगंगा गाउँपालिका–२, टंकीसिनवरीस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा पनि ‘स्वास्थ्यबिमा सेवा’को सुरुवात भएपछि यो सेवा लिने स्थानीयको संख्या बढ्न थालेको छ । स्वास्थ्यबिमा लागू भएपछि स्थानीय सबैभन्दा बढी लाभान्वित भएको अस्पतालले जानकारी दिएको छ ।

७० वर्षमाथिका ज्येष्ठनागरिकलाई पनि सरकारले थप सेवा दिन थालेको छ । उनीहरूले बर्सेनि एक लाख रूपैयाँबराबरको निःशुल्क उपचार सुविधा पाउन थालेका छन् । मन्त्रिपरिषद् बैठकले ‘स्वास्थ्यबिमा नियमावली २०७५’ले ज्येष्ठनागरिकको बिमाशुल्क सरकारले तिर्ने व्यवस्था गरेको छ । स्वास्थ्यबिमा बोर्डको आकलनअनुसार मुलुकमा ७० वर्षमाथिको जनसंख्या करिब १० लाख छ ।

नियमावलीअनुसार राष्ट्रिय स्वास्थ्यबिमा कार्यक्रमअन्तर्गत परिवारका ५ जनासम्म सदस्यले ३ हजार ५ सय रूपैयाँ तिरेर एक वर्षका लागि बिमाअन्तर्गत उपचारसेवा लिन सक्छन् । यसअघि वार्षिक २ हजार ५ सय रूपैयाँ प्रिमियम तिरेर ५ जनाको परिवारले स्वास्थ्यबिमाअन्तर्गत वार्षिक ५० हजार रूपैयाँबराबरको स्वास्थ्योपचार सेवा पाउने प्रावधान थियो । एक हजार प्रिमियर बढाउँदा उपचारसेवामा ५० हजार थप गरी एक लाखबराबरको उपाचारसेवा पाउने प्रावधान ल्याइएको छ । ५ जनासम्मको परिवारका हकमा प्रतिसदस्य १० हजारबाट बढाएर २० हजारबराबरको उपचारसेवा पाउने व्यवस्था गरिएको हो ।

नयाँ नियमअनुसार एउटा परिवारमा ५ जनाभन्दा बढी सदस्य भए प्रत्येक सदस्यबापत थप ७ सय रूपैयाँ तिर्नुपर्छ । सदस्यसंख्या थपिँदा एउटा परिवारले अधिकतम २ लाख रूपैयाँसम्मको बिमा गराउन पाउँछन् । बिमांक रकम धेरै नहुने भए पनि स्वास्थ्यबिमा साक्षरतामा सरकारले ध्यान दिन भने सकेको पाइँदैन ।

बिमासेवा प्रायः सबैखाले रोगको उपचारमा प्रयोग हुन्छ । सरकारले पहिले नै निःशुल्क गरेको रोगको उपचारसेवा भने यथावत् रहन्छन् । बिमित र स्वास्थ्यसंस्थाबीचको दूरी राम्रो बन्न सक्यो भने यो सेवा अझै प्रभावकारी बन्ने देखिन्छ । स्वास्थ्यबिमा बोर्डले पनि यसलाई प्रभावकारी ढंगले लैजानुपर्ने सुझाब सरोकारवालाको छ ।

पहिलोपटक गरेको बिमाको अवधि एक वर्ष हुन्छ । अर्को वर्ष सेवा लिन तोकिएको प्रिमियम बुझाएर बिमा नवीकरण गराउनुपर्छ । जनतालाई आधारभूत स्वास्थ्यसेवा उपलब्ध गराउन २५ चैत ०७२ देखि सरकारले कैलालीबाट स्वास्थ्यबिमा कार्यक्रम सुरु गरेको हो ।

बिमितले आफूलाई पायक पर्ने तोकिएका सरकारी वा निजी स्वास्थ्यसंस्थामा गई बिमा फर्म भरेर उपचार सुविधा लिन सक्छन् । त्यहाँ उपचार हुन नसकेमा रेफरल प्रणालीमार्फत जिल्ला, अञ्चल, क्षेत्र वा केन्द्रीय अस्पतालमा उपचार गराउन पाइन्छ । गाउँका स्वास्थ्यसंस्थामा उपचार र औषधि दुवै नहुँदा एकैपटक केन्द्रीय अस्पताल आउन चाहनेलाई बिमा झन्झटिलो लाग्न सक्छ ।

स्वास्थ्यबिमाले विलासिता तथा स्वसिर्जित घटनामा उपचारसेवालाई बन्देज गरेको छ । जस्तै, प्लास्टिक सर्जरी, महँगा चस्मा, कान सुन्ने मेसिन र कुटपिट वा रक्सी खाएर झगडा गरी घाइते भएकाले उपचारमा बिमामार्फत सेवा नपाउने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय