डा. जोशीमाथिको दुर्व्यवहारको चिकित्सकका ८ संगठनको संयुक्त भर्त्सना, निष्पक्ष छानबिन र ‘जेल विदाउट बेल’को माग

नेपाल चिकित्सक संघका आजीवन सदस्य वरिष्ठ चिकित्सक प्रा.डा. भोलाराज जोशीमाथि उपचारसँग जोडेर भएको दुर्व्यवहारको नेपाल चिकित्सक संघसहित चिकित्सकका ८ वटा संगठनले घोर भर्त्सना गरेका छन् । डा. जोशीद्वारा शल्यक्रिया गरिएको बिरामीको उपचारका क्रममा मृत्यु भएपछि बिरामीका आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै उनीप्रति दुर्व्यवहार गरेका थिए ।

डा. जोशीमाथि सांघातिक र भौतिक आक्रमणको धम्की दिँदै फिरौती शैलीमा रकम असुल्ने काम भएको कुरा विभिन्न सञ्चारमाध्यमबाट प्रेषित भइरहँदा यसले समस्त चिकित्सा जगत्लाई नै दुरुत्साहित बनाइरहेको संयुक्त विज्ञप्तिमा जनाइएको छ । यस विषयको संवेदनशीलता मनन गरी, राज्यद्वारा कानुनी व्यवस्थाको रक्षा गर्दै, लोकतन्त्रको नाममा अराजक भिडतन्त्रलाई नियन्त्रण गर्न उनीहरुले माग गरेका छन् । साथै, तोडफोड हुल–हुज्जत गर्नेहरुलाई आवश्यक छानबिन गरी कारबाही गर्न र स्वास्थ्यसंस्थामा हुने दुर्घटनामा त्रुटि वा लापरबाही हुन् वा होइनन् भनी निष्पक्ष छानबिन गर्न उनीहरुले माग गरेका छन् ।

चिकित्सकका संघ–संगठनले स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई विनाधरौटी जेलचनानको माग दोहोर्याएका छन् । स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी ऐन तथा नियमावलीमा संशोधनमार्फत ‘जेल विदाउट बेल’को प्रावधान राख्नुपर्ने चिकित्सकको माग प्रक्रिया बढेर पनि पूरा हुन सकेको छैन । यथाशीघ्र देशका सम्पूर्ण स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिनुपर्ने माग संयुक्त विज्ञप्तिमार्फत अघि सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय