चितवन मेडिकल कलेजलाई विद्यार्थीको २४ घण्टे अल्टिमेटम, माग पूरा नभए आन्दोलन चर्काउने

हेल्थपोस्ट
प्रकाशित
२०७६ असोज १२ गते १८:४६

चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले कलेजलाई अवैध रूपमा असुलेको अतिरिक्त शुल्क पूर्वसहमतिअनुसार फिर्ता गर्न २४ घण्टे अल्टिमेटम दिएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै विद्यार्थीले सोमबार बिहान ११ बजेसम्म माग पूरा नभए मेडिकल कलेजको अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र आमनागरिक सम्मिलित बृहत् विरोध कार्यक्रम गर्ने जनाएका छन् । यसअघि विद्यार्थीले लामो करिब एक महिना पठन–पाठन ठप्प हुने गरी आन्दोलन चलाएपछि कलेज प्रशासन अवैध असुलिएको शुल्क एक महिनाभित्र फिर्ता गर्न सहमत भएको थियो ।

विद्यार्थीले न्यायका लागि चलाइएको आफ्नो आन्दोलनमा सहभागी हुन समग्र चितवनवासीलाई आग्रह गरेका छन् । ४ असोजमा जिल्ला प्रशासन कार्यालयमा भएको अतिरिक्त शुल्क फिर्ता गर्ने सम्झौताबाट कलेज पछि हटेमा अवैध शुल्कमा ब्याज र जरिवाना थपेर असुल गर्ने गरी आन्दोलनलाई थप घनीभूत बनाउँदै लैजाने चेतावनी विद्यार्थीले दिएका छन् ।

सिडियोको रोहबरमा भएको सम्झौतामा १० असोजसम्म फिर्ता गर्नुपर्ने रकमसम्बन्धी प्रतिवेदन तयार पार्न अभिभावक, विद्यार्थी, कलेज प्रशासन तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित समिति बनाइएको थियो । कलेजका प्रतिनिधि भर्पाइ नभएका विद्यार्थीलाई भपाइ नदिने, प्रतिवेदन तयार गर्नमा आलटाल, ढिलासुस्ती र अवरोध सिर्जना गर्ने तथा नाजायज विवाद उठाउनेतर्फ लागेका कारण तोकिएको समयमा प्रतिवेदन तयार हुन नसकेको विद्यार्थीको भनाइ छ । कलेज प्रशासनको रवैया हेर्दा तोकिएको एक महिनाभित्र रकम फिर्ता गर्ने छाँट नदेखिएकाले दबाबका लागि २४ घण्टे अल्टिमेटम दिएर विद्यार्थी आन्दोलित भएका हुन् ।

सरकारले देशका सबै मेडिकल कलेजलाई सरकारले तोकेको भन्दा बढी असुल गरेको रकम विद्यार्थीलाई एक महिनाभित्र फिर्ता गर्न तग साता नै निर्देशन दिइसकेको छ । गृहमन्त्री रामबहादुर थापा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कलेज सञ्चालकहरूलाई एक महिनाभित्र अवैध शुल्क फिर्ता नगरे कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय