बृहत् प्रभातफेरीसँगै नर्भिकले गर्यो विश्व मुटुदिवसको स्वागत, औपचारिक कार्यक्रम शनिबारका लागि तय

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले बृहत् प्रभातफेरीमार्फत यस वर्षको विश्व मुटुदिवस मनाउन सुरु गरेको छ । दिवसको अघिल्लो दिन शुक्रबार बिहान अस्पतालले राजधानीमा बृहत् प्रभातफेरी कार्यक्रम सम्पन्न गर्यो । प्रभातफेरीमा गत वर्ष नर्भिकमा विविधखाले मुटुरोगका सफलतापूर्वक उपचार गराई नवजीवन प्राप्त गरेका बिरामी, उपचारमा संलग्न चिकित्सक, अस्पतालमा कार्यरत कर्मचारी तथा सर्वसाधारणको संलग्नता रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका मुटुरोग विभागका निर्देशक प्रा.डा. यादवदेव भट्टसहित अन्य मुटुरोग विशेषज्ञहरू, कर्मचारी, विभिन्न संघ–संस्थाका पदाधिकारी, अस्पतालबाट स्वास्थ्यलाभ गरेका बिरामी तथा सर्वसाधारण गरी करिब २०० जनाले प्रभातफेरीमा सहभागिता जनाएको अस्पतालका नायबमहाप्रबन्धक आरपी मैनालीले जानकारी दिए । उनका अनुसार बिहान ६ः३० बजे नर्भिक प्रांगणबाट सुरु भएको प्रभातफेरी कुपन्डोल, पाटनढोका, कृष्णमन्दिर हुँदै पुनः नर्भिक पुगेर टुंगिएको थियो । मुटुदिवसको औपचारिक कार्यक्रम भने दिवसकै दिन शनिबार (भोलि) बिहान ११ ः ३० का लागि तय भएको अस्पतालले जनाएको छ । त्यसअघि अस्पतालले शनिबार नै बिहान ८ः०० देखि १०ः०० बजेसम्म मुटुरोग, यसका जटिलता, रोकथामका उपाय, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानी, जीवन बचाउका उपाय आदिबारे बिरामी पक्षलगायत सर्वसाधारणलाई विशेष प्रशिक्षण दिनेछ । प्रशिक्षण प्रा.डा. भट्टसहितको मुटुरोग विशेषज्ञको टोलीले अस्पतालको ओपिडी विभागमा दिने अस्पतालले जनाएको छ ।

दुई दशकदेखि २९ सेप्टेम्बरलाई विश्व मुटुदिवसका रूपमा मनाइँदै आएको छ । विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बरदेखि विश्व मुटुदिवस मनाउन थालिएको हो । यस वर्ष पनि २९ सेप्टेम्बर (भोलि शनिबार) विश्व मुटु महासंघका विश्वभरका १ सय ५० भन्दा बढी सदस्य राष्ट्रमा विभिन्न कार्यक्रमका साथ मुटु दिवस मनाइँदै छ । विश्वभर हरेक वर्ष १ करोड ७९ लाखभन्दा बढी मानिसले रक्तनली, पक्षाघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेको तथ्यांक छ । तसर्थ, मुटुरोगलाई संसारकै पहिलो प्राणघातक रोगका रूपमा मानिन्छ । अर्कोतर्फ मुटुजन्य रोग लागिसकेपछि यदि त्यसले ज्यान लिएन भने पनि अंगभंग हुनेलगायत अन्य जटिलता निम्त्याउने विशेषज्ञको भनाइ छ ।

पछिल्लो समय नसर्ने रोग मानव स्वास्थ्यको प्रमुख चुनौती बनिरहँदा त्यसमा मुटुजन्य रोगको हिस्सा अग्रणी छ । विश्वमै मानव मृत्युको प्रमुख कारण बनेको मुटुरोगले बिरामी तथा तिनका आफन्तमा सामाजिक र आर्थिक बोझ सिर्जना गरिरहेको छ । यसखाले विकराल समस्याबाट जोगिने एउटै उपाय मानिसलाई रोग लाग्नबाट जोगिने उपायबारे सचेत गराउनु नै भएकाले मुटुदिवसमा यसैमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्न लागिएको नर्भिकले जनाएको छ । यसमा जनचेतनाको अत्यन्तै ठूलो भूमिका हुने अस्पतालको ठहर छ । विश्व मुटुदिवसका अवसरमा संसारभरि नै बृहत् मुटु परीक्षण तथा प्रशिक्षण शिविरहरू, वैज्ञानिक एवम् चिकित्सकीय गोष्ठी तथा कार्याशालाहरू एवम् जनचेतना अभिवृद्धि गराउनेखालका प्रवचन, प्रभातफेरीजस्ता कार्यक्रम सञ्चालन गरिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय