अब पुरुषले पनि लिन सक्छन् गर्भनिरोधक चक्की, परीक्षणमा पास भयो साइडइफेक्टरहित पुरुष पिल्स

हेल्थपोस्ट
प्रकाशित
२०७६ असोज १० गते १४:४३

अहिले विश्वबचारमा गर्भनिरोधक औषधि माहिलाका लागि मात्र उपलब्ध छ । तर, यो सुविधा अब चाँडै नै पुरुषका लागि पनि उपलब्ध हुने भएको छ । तीव्र गतिमा बढिरहेको जनसंख्यादर समग्र विश्वकै लागि ठूलो समस्याका रूपमा रहेको छ । महिलाका लागि गर्भनिरोधक साधनको अनेक विकल्प भए पनि पुरुष भने वैकल्पिक छनोटको अवसरबाट वञ्चित हुँदै आएका छन् । हालसम्म पुरुषका लागि गर्भनिरोधक साधनका रूपमा कन्डमको प्रयोग प्रचलनमा रहँदै आएको छ । तर, वैज्ञानिकले पुरुषका लागि पनि गर्भनिरोधक औषधिको विकास गरेका छन् । भर्खरै यो औषधि ‘ह्युमन सेफ्टी टेस्ट’मा पास भएको छ ।

शोधमा सफलता
यो शोध संयुक्त राज्य अमेरिका (युएसए)को वासिंटन युनिभर्सिटीको स्कुल अफ मेडिसिन र लस एन्जलस बायोमेड रिसर्च इन्स्टिच्युटमा गरिएको हो । पहिलो चरणको ट्रायलमा यो शोध ४० स्वस्थ पुरुषमा गरिएको छ । गोली वा क्याप्सुलमा तयार पारिएको यो औषधिले स्पर्मको एक्टिभिटीलाई कम गरिदिन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा यो औषधिको प्रयोगमा साइडइफेक्ट ज्यादै नै न्यून पाइएको छ ।

कसरी गरियो शोध
शोधका लागि वैज्ञानिकले एउटा खास क्याप्सुल बनाए र उक्त क्याप्सुलको सेवनपश्चात् पुरुषमा टेस्टोस्टेरन हार्मोन र स्पर्मको क्वालिटीमा के–कस्तो प्रभाव पर्छ भन्ने कुराको विस्तृत परीक्षण गरे । परीक्षण गरिएका सबै ४० पुरुषलाई यो क्याप्सुल २८ दिनसम्म दैनिक निश्चित डोज दिइयो, जसमध्ये १४ पुरुषमा २०० मिलिग्राम र १६ पुरुषमा ४०० मिलिग्राम औषधिको डोज दिइयो । यसका अतिरिक्त १० पुरुष यस्ता थिए, जसलाई इन्ग्रेडिएन्ट्स एक्टिभ नगरीकन ‘प्लेसबो पिल्स’ दिइएको थियो । यो नयाँ गर्भनिरोधक औषधिको नाम ११–बिटा–मिथाइल–१९–नरटेस्टोस्टेरन डोडिसाइलकार्बोनेट (११–बिटा–एमएनटिडिसी) दिइएको छ ।

नगण्य साइडइफेक्ट
शोधको निष्कर्षमा यो गर्भनिरोधक औषधिको प्रयोगले ज्यादै न्यून मात्र साइडइफेक्ट हुने पाइएको छ । २८ दिनसम्म निरन्तर गर्भनिरोधक चक्की खाएका पुरुषमा नगण्य मात्रामा साइडइफेक्ट पाइएको हो । परीक्षण गरिएका केही व्यक्तिमा थकान, टाउकोको दुखाइ र डन्डिफोर आउनेजस्ता लक्षण देखिएका थिए । तर, अधिकतर पुरुषमा ठोस साइडइफेक्ट नदेखिएपछि यो औषधि ‘ह्युमन सेफ्टी टेस्ट’मा पास भएको छ ।

पुरुष गर्भनिरोधक औषधिबारे शोधकर्ताको राय
शोधकर्ताहरूले यो गर्भनिरोधक औषधिको आविष्कारलाई ठूलो सफलताका रूपमा लिएका छन् । शोधकर्ता प्रोफेसर स्टेफनी पेजले भने, ‘हाम्रो उद्देश्य यो छ कि, जसरी महिलाका लागि अनेक गर्भनिरोधका विकल्प छन्, त्यसैगरी पुरुषका लागि पनि गर्भनिरोधको विकल्प होस् । अहिले पुरुषमा यसको ज्यादै कम मात्र विकल्प विद्यमान छन्, त्यसबाट हामीले जनसंख्याको ठूलो हिस्सालाई नजरन्दाज गरिरहेको पुष्टि हुन्छ । यो शोधको सफलताले पुरुषले पनि गर्भनिरोधको विकल्प छनोट गर्ने अवसर पाउनेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय