स्वास्थ्यका समायोजित कर्मचारीलाई पुनः एकपटक गुनासो दर्ता गर्ने अवसर, १७ असोजसम्म निवेदन दिन मन्त्रालयको आह्वान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यसेवाअन्तर्गतका समायोजित भइसकेका कर्मचारीलाई समायोजनबारे कुनै गुनासो भए मन्त्रालयमा निवेदन दिन समय दिएको छ । समायोजन सूची सार्वजनिक भइसकी पदस्थापनका लागि पत्राचार भइसकेका विभिन्न समूह/उपसमूहका विभिन्न तह र पदका कर्मचारी पर्याप्त कारण, आधार र प्रमाणसहित समायोजनप्रतिको गुनासो १७ आसोजभित्र निवेदनका रुपमा दर्ता गराउन सक्ने मन्त्रालयले जनाएको छ । कर्मचारीबाट आउने गुनासो सम्बोधनका लागि सिफारिस गर्न मन्त्रालयले यसअघि नै समिति गठन गरिसकेको छ ।

मन्त्रालयले ३१ भदौमा समायोजित कर्मचारीमा आफ्नो समायोजनप्रति कुनै गुनासो भए त्यसको सम्बोधनका लागि सिफारिस गर्न ‘गुनासो व्यवस्थापन र सहजीकरण समिति’ गठन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार मन्त्रालयले बिहीबार सूचना जारी गर्दै समायोजित कर्मचारीलाई पर्याप्त आधारसहित गुनासोको निवेदन दर्ता गराउन समय तोकेर आह्वान गरेको हो ।

यसअघि गुनासो निवेदन दिनेले पुनः निवेदन दिनुपर्ने
मन्त्रालयले ३१ भदौसम्म मन्त्रालय वा अन्य निकायमा गुनासो निवेदन दिएका कर्मचारीलाई १७ असोजभित्र पुनः निवेदन दिन समेत भनेको छ । यसअघि समायोजित केही कर्मचारीले समायोजनमा आफूमाथि अन्याय भएकोलगायत विभिन्न समस्या देखाउँदै मन्त्रालयलगायत निकायमा निवेदन दिएका थिए । मन्त्रालयको सूचनाअनुसार उनीहरुले उक्त निवेदन मान्य हुने छैन । अब उनीहरुले अर्को साताको शुक्रबारभित्र पुनः मन्त्रालयको दर्ता शाखामा समायोजनमा गुनासो रहनुको उपयुक्त कारण, आफूसित भएको प्रमाण र आधारसहित निवेदन दिनुपर्नेछ ।

मन्त्रालयले समायोजनको काम अन्तिम चरणमा पुगेको जनाएको छ । कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजन गरी पत्राचार गर्ने काम लगभग टुंगिने अवस्थामा पुगेको मन्त्रालयको भनाइ छ । यससँगै निकै सकसपूर्ण बनेको स्वास्थ्यको समायोजन झन्डै वर्षदिनको स्वास्थ्य र सामान्य प्रशासन मन्त्रालयको अभ्यासपछि निष्कर्षमा पुग्न लागेको छ ।

यसअघि लामो कसरतपछि सामान्यले दिएको स्वास्थ्यको समायोजन सूचीमा व्यापक त्रुटि भेटिएपछि स्वास्थ्यले कर्मचारीलाई गुनासो दर्ता गर्ने समय दिएको थियो । त्यतिवेला १० हजारभन्दा बढीले गुनासो दर्ता गराएका थिए । त्यसमध्ये ७ हजार ७ सय ४० गुनासालाई जायज ठहर गर्दै तिनमा समायोजन सच्याउन गुनासो सम्बोधन प्राविधिक उपसमितिले सिफारिस गरेको थियो । सोही आधारमा मन्त्रालयले चरणबद्ध रुपमा समायोजन सूची सार्वजनिक गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय