श्रीमानले रक्सी पिइरहँदा श्रीमतीलाई डिप्रेसन

५० वर्षीया कान्छी तामाङका १० छोरा–छोरी छन् । उनमा १ महिनाअघिदेखि ढाड दुख्ने रोग सुरु भयो । बिस्तारै उनलाई आत्तिने, छटपटी हुने, राति ननिदाउने एक ठाउँमा अडिन नसक्ने हुँदै आयो । उनले अनेकौँ उपचार केन्द्रमा गई उपचार गराइन् । उनको रगत, एक्स–रे, सिटी स्क्यान, इन्डोस्कोपी, अल्ट्रासाउन्डलगायत जाँच गरियो, तर रोग पत्ता लागेन ।

उनी ‘नसा पोल्यो, नसा झमझम गर्यो, मलाई क्यान्सर भयो’ भनेर रुन थालिन् । उनी अहिले न्युरोसाइक्याट्रिक विभागमा उपचार गराइरहेकी छिन् । अहिले उनको स्वास्थ्य राम्रो हुँदै गएको छ, उनले पुनर्जीवन पाएकी छिन् । यो पनि डिप्रेसन रोगको एउटा उदाहरण हो ।

विश्व स्वस्थ्य संगठनले डिप्रेसन जीवनकालमा पुरुषमा १५ प्रतिशत र महिलामा २५ प्रतिशतसम्म हुने बताएको छ । डिप्रेसन रोग लागेको बिरामीलाई आफूलाई अर्कै रोग लागेको भान हुन्छ । यस रोगका बिरामीले पटक–पटक उपचारको सिकायत गर्ने, रगत, एक्स–सेलगायत परीक्षण धेरै गर्ने तर रोग नभेटिने, केही बिरामी पीडा सहन नसकेर आत्महत्या गर्ने गरेको पनि पाइएको छ । एकैपटक धेरै अंगमा लक्षण देखिने रोग डिप्रेसन हो । केही बिरामी नसा पोल्यो, हातखुट्टा झमझम गर्यो, सिल्का हान्ने भयो, शरीर तात्यो भन्ने गर्छन् ।

विभिन्न कारणले हुन्छ डिप्रेसन
– वंशानुगत रूपमा सर्ने ।
– न्युरोट्रान्समिटरको गढबढी, जस्तै– डोपामिन, सेरोटोरिन र नोरपाइरफ्राइन ।
– ब्रेनमा कुने भिकष्यल भएमा ।
– आमा बाबुबाट बाल्यावस्थामा टाढा रहनाले ।
– हर्मोनको गडबडी, जस्तै– थाइराइड, एड्रिनल, ग्रोथ हर्मोनको गडबडी भएमा ।
– लामो समयसम्म शारीरिक रोग लाग्नु, जस्तै– चिनीरोग, मृगौलारोग आदि ।
– बिरामी हुनुअघिको व्यक्तित्व (पर्सनल फ्याक्टर)
– तत्कालीन घटनाक्रम, जस्तै– मानिस मर्नु, नोक्सानी हुने कुनै पनि घटना घट्नु ।
– अस्वस्थ पारिवारिक सम्बन्ध ।
– लागुपदार्थ सेवन ।
– गर्भावस्थामा संक्रमण, मस्तिष्कको वृद्धिमा रोक आदि ।
– समाजबाट टाढा रहनु, बसाइ सर्नु ।

डिप्रेसन रोगका बिरामी कस्ता समस्या लिएर आउँछन् ?
– बिरामीहरू आफूलाई टाउको दुख्ने रोगको लक्षण बताउँछन् ।
– कतिपय बिरमी आफूलाई क्यान्सर लागेको शंका गर्छन् ।
– कोही घाँटीमा केही अड्कियो भनी आत्तिलिन्छन् ।
– कोही यौनांगको समस्या, यौनक्षमतामा कमी भएको बताउँछन् ।
– केही बिरामी बारम्बार पेट पोलेको, पेटमा अप्ठ्यारो महसुस भएको बताउँछन् ।
– कोही भने मुटुको रोग लाग्यो भन्दै मुटुरोग विशेषज्ञकहाँ पुग्छन् ।
– कोही ढाड दुख्ने, जोर्नी दुख्ने समस्याको सिकायत गर्छन् ।
– कोही खाना अपच, पाचनशक्तिमा कमी भएको सिकायत गर्छन् ।
– कोही काम्ने र बक्ने गर्छन् र बोक्सी लागेको विश्वास गर्छन् ।
– कोही अचानक बेहोस भएको बताउँछन् ।
– डिप्रेसनका बिरामी एक्लै शान्त ठाउँमा बस्न रुचाउँछन् । रेडियो, टिभी हेर्ने चाख हुँदैन ।
– बढी चिन्ता गरिरहने र आप्mनो जीवनदेखि नै हरेस खाएका हुन्छन् ।

श्रीमान्ले रक्सी पिइरहँदा श्रीमतीलाई डिप्रेसन
रक्सी पिउने मानिसमा अचानक रक्सी छाड्दा हात काम्ने, मुटु ढुकढुक हुने, अनौठो वस्तु देखिनाले आत्तिने तथा डराउने हुन्छ । कोही सर्प देख्छन् त कोही बाघ देखेर आत्तिन्छन् । कतिपय बिरामी कानमा गाली गरेको आवाज आउनाले घरपछाडि भाग्छन् । रक्सी पिउने मानिस यौनक्रियामा रुचि नभएको सिकायत गर्छन् । कतिपयचाहिँ श्रीमतीसँग शंका गर्छन् । यस्ता क्रियाकलाप घरायसी झगडाको बिउ बन्छन् ।

जब मानिस बिहानैदेखि रक्सी लिन सुरु गर्छन्, यो कडा समस्या मानिन्छ । रक्सी पिउँदा मानसिक रूपमा अचेत हुनाले ठूला–ठूला अप्रिय घटना पनि घट्न सक्छन् । रक्सी लिने मानिसलाई कोठामा थुनेर राख्नुहुँदैन, अचानक घोर रोग निक्लिई मर्न सक्छन् । डाक्टरको सल्लाह लिएर मात्र रक्सी छोडाउनुपर्छ । एकतिहाइ रक्सी लिने मानिस डिप्रेसन, आत्तिने रोग, निद्रा नपर्ने समस्याबाट पनि पीडित हुन्छन् । रक्सी छोडेपछि यस्तो समस्याको पनि उपचार गरे मात्र पूर्ण रूपमा रक्सी लिन छाड्छन् । पारिवारिक कलह भइरहँदा प्रायः रक्सी पिउने व्यक्तिकी श्रीमतीमा डिपे्रसन रोग भेटिएको छ ।

डिप्रेसन रोग लागेका बिरामीले पालना गर्नुपर्ने कुरा
– एउटै कुरामा गहिरो सोचाइ नराख्ने ।
– मनको कुरा अरूलाई भन्ने बानी गर्ने, जसले गर्दा मनमा अन्तद्र्वन्द्व कम हुन्छ । जस्तै, कसैले मनदुख्ने कुरा भन्यो, तर यो कुरा मनमा बस्यो भने त्यसले जटिल रूप लिन्छ ।
– आफूलाई टेन्सन, तनाव दिने पुराना कुरामा दिमाग नलाने, जे छ त्यसमा सन्तुष्ट हुने तर त्यसमा मिहिनेत गर्न नछाड्ने ।
– मन दह्रो पार्ने ।
– लागुपदार्थ वा रक्सी सेवन नगर्ने ।
– कुनै पनि कुरा पाउँदा मात्तिने र नपाउँदा आत्तिने बानी छाड्ने ।
– टेलिभिजन धेरै नहेर्ने, कविता वा साहित्यमा बढी गहिरिएर प्रवृत्त नहुने ।

नेपालमा मानसिक स्वास्थ्यमा असर पार्ने कुराहरू
मानिसको दैनिक जीवनमा आइपर्ने घटनाक्रम नै मानसिक रोगका कारण बन्छन् । जस्तै ः
– पति वा पत्नी बिदेसिनु : यसरी बिदेसिँदा स्वदेशमा बस्नेमा यो रोग देखिन्छ ।
– विदेशमा गई काम गर्नेलाई पनि यो रोग देखिएको छ ।
– प्रेममा विछोड हुनु ।
– जागिरबाट निकालिनु ।
– पढाइमा असफल हुनु ।
– घरायसी झगडा भइरहनु, परिवारका सदस्यको मृत्यु हुनु ।
– सानो छँदा आमाबुबाबाट टाढा रहनु ।
– राजनीति पीडा वा द्वन्द्वको असर ।
– लागुपदार्थ सेवन ।
– समाज बढ्दै जाँदा बढ्दो चाहना ।

उल्लेखित कारणहरू मुख्य भए पनि वंशानुगत गुण तथा मानिसको व्यक्तित्वको पनि मानसिक स्वास्थ्यमा ठूलो भुमिका रहन्छ । एउटै घटनाक्रमले कसैमा मानसिक रोग ल्याउँछ त कसैमा ल्याउँदैन । कतिपय मानिस धामी–झाँक्रीबाट उपचार गराउनतर्फ लाग्छन्, जसले गर्दा बिरामी अस्पताल आइपुग्दा रोग जटिल अवस्थामा पुगिसकेको हुन्छ र निको पार्न कठिन हुन्छ ।

डिप्रेसन रोगको उपचार गर्दा जान्नैपर्ने मनोवैज्ञानिक पक्ष
– धेरैजसो रोग विभिन्नखालको स्ट्रेस (टेन्सन)ले गर्दा हुने भएकाले घर–परिवारमा यस्तो वातावरणको अन्त्य गर्नुपर्छ ।
– जे छ त्यसमा सन्तुष्ट बन्न सक्नुपर्छ र मिहिनेत गर्न छाड्नुहुँदैन ।
– मनको कुरा अरूलाई भन्नुपर्छ ।
– रिल्याक्सेसन एक्सरसाइज, योग, ध्यान गर्दा फाइदा हुन्छ ।
– एउटै कुरामा गहिरो सोचाइ राख्नुहुँदैन ।
– दैनिक काममा धेरै व्यस्त हुनुहुँदैन, साथै कुनै काम नै नगरी बस्दा पनि राम्रो हुँदैन ।
– आफूभन्दा ठूलालाई हेरेर पूरा नहुने माग हेर्ने होइन, आफूभन्दा साना ओहोदाका मानिसलाई पनि हेर्ने बानी गर्नुपर्छ ।
– हरेक काममा सुखी र सन्तुष्ट बन्न सिक्नुपर्छ ।

डिप्रेसनका बिरामीको उपचार
– सम्बन्धित विशेषज्ञकहाँ सम्पर्क गर्ने ।
– औषधि, काउन्सिलिङ, साइकोथेरापी तथा योगबाट रोग निको पारिन्छ ।
– केही बिरामीलाई इसिटी (विद्युतीय उपचार) को आवश्यकता पर्छ ।

काउन्सिलिङ तथा साइकोथेरापी
कतिपय डिप्रेसन रोगका बिरामी रोगबारे नबुझ्दा पीडादायी जीवन बिताइरहेका हुन्छन् । बिरामीमा मन दह्रो पार्ने तथा तनाव सहन सक्ने क्षमता बढाउने यसको उद्देश्य हो । मानिसको जीवनमा सुख, दुःख दुवै आइपर्छन् । सुख हुँदा मात्तिने र दुःख पर्दा आत्तिने बानीले मनोवैज्ञानिक समस्या ल्याउँछ । मनमा परेको पीडा अर्कालाई भनिदिँदा चोट कम हुन्छ र मन हल्का हुन्छ । मानिसमा ठूला–ठूला समस्या पनि मनमा राखिराख्ने बानी हुन्छ, जसले आफैँलाई खराब गर्छ । कुनै काममा असफल भएको कुरा सधैँ मनमा लिइरहँदा भोलिको प्रगति रोकिन्छ, मानसिक रोगी बनिन्छ । जुन कुरा भइसक्यो, पछि फर्काउन सकिँदैन । त्यसलाई सम्झिएर समय बर्बाद गर्नुहुँदैन, अब के गर्ने भन्ने योजनाका साथ बाटो समातेर अघि बढ्नुपर्छ । कतिपय मानिस तनाव घटाउन रक्सी सेवन गर्छन्, जसले ऊ स्वयंमा कमजोर बन्दै जान्छ र र रोगले ग्रस्त हुन्छ ।

मानिस जहिले पनि आशावादी नै हुनुपर्छ, निराशावादी कहिल्यै हुनुहुँदैन, मन कमजोर पार्नुहुँदैन । मैले भनेको नै हुनुपर्छ भन्ने सोचाइ होइन, लचिलो हुन सक्नुपर्छ । अर्काले दिएको तर्क पनि ध्यान दिएर सुन्नुपर्छ । म गल्ती गर्दिनँ, तर मलाई अरूले दुःख दिन्छन् भनेर मन खुम्च्याउनुभन्दा भएको भइहाल्यो, अब कसरी अगाडि बढ्ने भन्नेतिर लाग्नुपर्छ । हरेक काममा योजना बनाउनुपर्छ– योपछि यो गर्ने, सफल भए कसरी अघि बढ्ने, असफल भए के गर्ने आदि ।

मानिस जहिले पनि आशावादी नै हुनुपर्छ, निराशावादी कहिल्यै हुनुहुँदैन, मन कमजोर पार्नुहुँदैन । मैले भनेको नै हुनुपर्छ भन्ने सोचाइ होइन, लचिलो हुन सक्नुपर्छ । अर्काले दिएको तर्क पनि ध्यान दिएर सुन्नुपर्छ । म गल्ती गर्दिनँ, तर मलाई अरूले दुःख दिन्छन् भनेर मन खुम्च्याउनुभन्दा भएको भइहाल्यो, अब कसरी अगाडि बढ्ने भन्नेतिर लाग्नुपर्छ । हरेक काममा योजना बनाउनुपर्छ– योपछि यो गर्ने, सफल भए कसरी अघि बढ्ने, असफल भए के गर्ने आदि । दैनिक शारीरिक व्यायाम, सन्तुलित भोजन र समाजमा स्वस्थ प्रतिस्पर्धा हुनु पनि उत्तिकै आवश्यक छ । मानिस अति नीतिवान् पनि हुनुहुँदैन । दैनिक रूपमा मानिस त्यसै बस्दा राम्रो हुँदैन । त्यसैले औषधि प्रयोग गरेको बिरामीले पनि आफ्नो काम गर्नु राम्रो हुन्छ । काम नै नगरी बस्दा मनमा सोचाइ बढ्छ । त्यस्तै, काम अत्यधिक गर्दा पनि मस्तिष्कमा असर पर्न सक्छ । खाने र सुत्ने समय एउटै हुनुपर्छ ।

डिप्रेसनका बिरामीमा मेरो सबै कुरा बिग्रयो, म असफल भएँ, मैले ठूलो गल्ती गरेँजस्ता सोचाइ आउँछन्, जुन वास्तविकताभन्दा टाढा हुन्छन् । डिप्रेसनका बिरामी मैले केही गर्न सक्दिनँ भन्छन्, तर यथार्थमा त्यस्तो हुँदैन । उनीहरू आफूभन्दा ठूला मानिससित मात्र आफ्नो तुलना गर्छन्, आफलाई अत्यन्त दुःखी ठान्छन्, जुन वास्तविकताभन्दा टाढा हुन्छ । बिरामीको पीडा अरूले सुनिदिँदा हल्का महसुस हुन्छ । उपचार गर्दा बिरामीलाई वास्तविकताको जानकारी दिइन्छ र नकारात्मक सोचाइ साँचो होइन भनी प्रमाण देखाइन्छ । र, भविष्यमा आशावादी हुन प्रोत्साहन गरिन्छ । एउटा नराम्रो घटनालाई आधार मानेर सबै कुरा नराम्रो हुन्छ भन्ने धारणामा परिवर्तन ल्याइन्छ ।

(नसा तथा मानसिकरोग विशेषज्ञ डा. सेढाईं चितवन मेडिकल कलेज (सिएमसी) मा कार्यरत छन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय