पूर्वसांसद साहले मेडिसिटीमा छोडेको बच्चाको डिस्चार्जबारे सरकारी मेडिकल बोर्डबाट जाँच गराउन उच्च अदालतको आदेश

मेडिसिटी अस्पतालमा डाउन सिन्ड्रोम लिएर जन्मिएको पूर्वसांसद गायत्री साह र राजेश महतोको नाबालक सन्तानलाई थप उपचार आवश्यक भए–नभएको परीक्षण सरकारी मेडिकल बोर्डबाट गराउन उच्च अदालत पाटनले आदेश दिएको छ । अस्पतालको लापरबाहीका कारण आफ्नो शिशुमा डाउन सिन्ड्रोम देखिएको भन्दै मेडिसिटीले नै बच्चाको जिम्मा लिई उपचार गराउनुपर्ने भन्दै अभिभावकले ६ महिनाभन्दा लामो समयदेखि बच्चालाई घर लान अस्वीकार गर्दै आएका थिए ।

साह दम्पतीले डिस्चार्ज गरिएको बच्चालाई स्वीकार नगरी अस्पतालमै छोडेपछि मेडिसिटीले अभिभावकविरुद्ध उच्च अदालत पाटनमा रिटनिवेदन दर्ता गराएको थियो । अस्पतालको रिटउपर सुनुवाइ गर्दै न्यायाधीश श्रीमणकुमार गौतम र टेकनारायण कुँवरको संयुक्त इजलासले बच्चालाई डाउन सिन्ड्रोम भएको निवेदक अस्पतालले नै स्वीकार गरेको अवस्थामा थप उपचार आवश्यक भए–नभएको पत्ता लगाउन चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १५ दिनभित्र परीक्षण गराउन निर्देशन दिएको छ ।

सरकारी मेडिकल बेर्डले बच्चालाई थप उपचार आवश्यक रहेको रिपोर्ट दिएमा अभिभावकले अन्यत्र उपचारका लागि लान इच्छा गरेको बाहेक अवस्थामा मेडिसिटीमै राखेर उपचार गराउन अस्पताललाई अदालतले निर्देशन दिएको छ । त्यसविपरीत सरकारी बोर्डले नाबालकलाई डिस्चार्ज गर्न उपयुक्त ठहर्याएको अवस्थामा भने विपक्षी अभिभावकलाई नाबालक जिम्मा लगाई नाबालकको हक प्रचलन गराउन आदेश जारी भएको छ । त्यसरी अभिभावकलाई जिम्मा लगाउँदा बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ७५ (३) बमोजिमको बालबालिकाको अधिकारबारे अभिभावकलाई जानकारी गराई सो पूरा गर्ने प्रतिबद्धता गराउनसमेत अदालतले भनेको छ । उपचार खर्चसम्बन्धी अस्पताल र अभिभावकबीचको विवादबारे भने नियमानुसार हुने भएकाले अदालतले बोलिरहनुपर्ने आवश्यकता नभएको फैसलामा उल्लेख छ ।

साह दम्पतीले अस्पतालको लापरबाहीका कारण आफ्नो शिशुमा डाउन सिन्ड्रोम भएको भन्दै बच्चा अस्पतालमा छोडे पनि पूर्व सांसद साह बच्चालाई स्तनपान गराउन भने दैनिक अस्पताल गइरहेकी छिन् । मेडिसिटीले डाउन सिन्ड्रोम भएका साह दम्पतीको नाबालकलाई अब उप्रान्त थप उपचारको आवश्यकता नभएकाले डिस्चार्ज गराई सम्बन्धित अभिभावकलाई नाबालक जिम्मा लगाइपाऊँ भनी रिटनिवेदनमा मागदाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय