डेंगुको प्रचलित उपचारविधि नै त्रुटिपूर्ण छ

पछिल्लो समय अनियन्त्रित बन्दै गएको डेंगुको संक्रमण देशका अधिकांश भागमा फैलिसकेको छ । ३० वैशाखमा सुनसरीबाट सुरु भएको डेंगुको चपेटामा लाखको हाराहारीमा मानिस आइसकेका छन् भने संक्रमण रोकिनै कुनै संकेत देखिएको छैन । कुनै क्षेत्रविशेष वा वर्गविशेष मात्र नभएर डेंगु सर्वत्र फैलिएको छ । के गाउँ, के सहर, के तराई, के पहाड सबै–सबै नै डेंगुको चपेटा झेल्न बाध्य भएका छन् । सर्वसाधारण जनता मात्र होइनन्, उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी, सरकारी अधिकारी, सरकारका मन्त्री र वरिष्ठ नेतासमेतलाई डेंगुले छोडेको छैन ।

डेंगुले महामारीको रूप लिइरहँदा नियन्त्रणको प्रमुख जिम्मेवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने हरेस खाएर बसेको छ । मन्त्रालयले डेंगुका कारण भएको मृत्यु तथा संक्रमितको तथ्यांक संकलन नै आफ्नो दायित्व सम्झिएझैँ देखिन्छ । वास्तवमा डेंगु के हो ? यसले कसरी महामारीको रूप लियो ? किन रोग अनियन्त्रित बन्ने अवस्था उत्पन्न भयो ? डेंगु संक्रमितमा के–कस्ता स्वास्थ्य समस्या आउँछन् र उपयुक्त उपचार विधि के हो ? यसबाट कसरी बच्ने ? स्वास्थ्यकर्मी तथा आममानिसलाई डेंगु संक्रमणका विषयमा कसरी चेतना फैलाउन सकिन्छ ? यस्तै ज्वलन्त विषयमा आधारित भएर हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्टेन्ट सरुवारोग विशेषज्ञ डा. अनुरूप बास्तोलासँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ ।

यो भाइरसका ४ प्रजाति छन् । यीमध्ये डेंगुको कुनै एक प्रजातिको इन्फेक्सन भएको खण्डमा जीवनभर शरीरमा त्यो प्रजातिविरुद्ध शक्ति बन्दछ र त्यो प्रजातिको संक्रमण हुँदैन । तर, अन्य ३ प्रजातिको भने संक्रमण फेरि पनि हुन सक्छ । यदि लामखुट्टे दोस्रो प्रजातिको डेंगु भाइरसबाट संक्रमित छ वा भयो भने सार्न सक्छ र दोस्रोपटकको संक्रमण जटिल बन्न जान्छ ।

डा. बास्तोला भन्छन्–
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि सहरमा बढी लामखुट्टे देखिने गर्छन् ।

डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु१, डेंगु२, डेंगु३ र डेंगु४ गरी चार प्रकारका हुन्छन् । एडिज नामक लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । यो लामखुट्टे फरकखालको रहेकाले दिउँसोको समयमा टोक्ने गर्दछ । पोथी जातको लामखुट्टेले अण्डा पार्नेवेलामा टोक्ने गर्छ । एक व्यक्तिको रगतले नअघाउँदा पुनः अर्को व्यक्तिलाई टोक्ने गर्छ, जसका कारण धेरै मानिसमा डेंगुको संक्रमण हुन जान्छ ।

लामखुट्टेले प्रत्येकपटक ६० देखि १५० हाराहरीमा अण्डा पार्ने गर्दछ । आफ्नो जीवनकलमा ३ देखि ५ पटकसम्म फुल पार्न सक्छ । यो अण्डा विकसित हुनका लागि ८ देखि १० दिन लाग्ने गर्छ । यसबाट (संक्रमित लामखुट्टेबाट) जन्मिएका लामखुट्टे डेंगु संक्रमित हुने गर्छन् ।

संक्रमितमध्ये १०% मा मात्र लक्षण
१० हजार मानिसलाई डेंगु भयो भने १ हजारमा मात्र लक्षण देखापर्छन् । बाँकी ९ हजार मानिसमा लामखुट्टेलाई इन्फेट गर्ने क्षमता हुन सक्छ । सुरुमा भाइरस छिरेपछि शरीरमा रोगसँग लड्ने क्षमता (एन्टिबडी) नबन्दासम्मको समयमा लामखुट्टेले टोकेमा शरीरको भाइरसले लामखुट्टेमा संक्रमण हुन्छ । एकपटक लामखुट्टे संक्रमित भएपछि उसका वंशजहरूमा समेत संक्रमण हुने गर्छ । डेंगु बढ्नुको कारण नै यही हो ।

लक्षण देखिएका एक हजारमा पनि ५ सयजति व्यक्तिमा भाइरल ज्वरोको जस्तो लक्ष्यण देखिन्छन् । बाकीँ ५ सयजनालाई डेंगु ज्वरो आउँछ, जसमा ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, मांसपेशी र हड्डी करकरी खाने, जोर्नी दुख्ने, वाकवाकी लाग्ने, रिँगटा लाग्ने र ज्वरो घटेको २–४ दिनमा शरीर चिलाउने र राता दानाहरू आउने हुन्छ । यिनीहरूमा सानो संख्यामा हेमोह्रेजिक ज्वरो आउन सक्छ र तिनीहरूमा केही मानिस रक्तनलीबाट पनि बाहिर निस्केर फोक्सो र पेटमा पानी जमी रक्तचाप घटेर जान सक्छ ।

डेंगु संक्रमित बिरामीमा सेता रक्तकोषको मात्रा घट्ने तथा प्लेटलेट्सको मात्रा घटेर जाने हुन्छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मीले नै बिरामीलाई अत्याउने गरेको पाइन्छ । तर, यसरी घट्नु डेंगुको प्रक्रिया नै हो । शरीरमा डेंगु संक्रमण हुँदा त्यसले बोनम्यारोलाई केही समय निष्क्रिय गराउँछ, जसले गर्दा सेतो रक्तकोषको मात्रा र प्लेटलेट्सको मात्र बिस्तारै घटेर जान्छ, जुन स्वाभाविक प्रक्रिया हो । यी कोषिका ज्वरो घटेको केही दिन तल झरेर आफैँ माथि आउँछन् । त्यसैले घटेर गएको अवस्थामा आत्तिनुपर्दैन ।

दोस्रोपटकको संक्रमण गम्भीर
यो भाइरसका ४ प्रजाति छन् । यीमध्ये डेंगुको कुनै एक प्रजातिको इन्फेक्सन भएको खण्डमा जीवनभर शरीरमा त्यो प्रजातिविरुद्ध शक्ति बन्दछ र त्यो प्रजातिको संक्रमण हुँदैन । तर, अन्य ३ प्रजातिको भने संक्रमण फेरि पनि हुन सक्छ । यदि लामखुट्टे दोस्रो प्रजातिको डेंगु भाइरसबाट संक्रमित छ वा भयो भने सार्न सक्छ र दोस्रोपटकको संक्रमण जटिल बन्न जान्छ ।

डेंगुको संक्रमण दोस्रोपटक (दोस्रो प्रजातिको संक्रमण) भएको खण्डमा मानिस सिभियरमा जाने सम्भावना हुन्छ । अर्कोपटक अर्को प्रजातिको इन्फेक्सन भयो भने त्यो एन्टिबडीले त्यसलाई प्रतिरोध गर्न सहयोग गर्दैन, बरु भाइरसलाई शरीरमा फैलाउन र यसको असर बडाउन मद्दत गर्छ ।

डेंगुसँगै अन्य ब्याक्टेरिया वा अन्य इन्फेक्सन भएमा अवस्था जटिल
डेंगुसँगसँगै टाइफाइट, स्क्रबटाइफस, लेप्टोस्पैरोसिस आदिको इन्फेक्सन भएको खण्डमा डेंगु जटिल बन्न सक्छ । १४ देखि ४४ प्रतिशत डेंगुको कारणले हुने मृत्युमा डेंगुसँगसँगै अर्को संक्रमण भएको पाइन्छ । तर, एसियामा भएका अनुसन्धानमा ७ प्रतिशत मान्छेमा यस्तो हुने देखिन्छ । डेंगुसँगै अन्य इन्फेक्सन भएको चिकित्सकले अनुमान लगाउन सक्छन् । यस्तोमा बिरामीमा फरक लक्षण देखापर्छन् र ल्याब रिपोर्ट डेंगुभन्दा फरक आउँछ । त्यसैले एन्टिबायोटिकको अनावश्यक प्रयोग गर्नुहुँदैन । सबै डेंगु संक्रमितलाई एन्टिबायोटिक चलाए ९३ प्रतिशतमा अनावश्यक रूपमा प्रयोग हुन्छ र यी दबाइको साइडइफेक्टले झन् रोगका लक्षण गाँजिन्छन् ।

कसलाई भर्ना गरेर उपचार गर्नुपर्छ ?
डेंगु संक्रमित व्यक्तिमा श्वास–प्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगेजस्तो हुने, कालोखालको दिसा आउने, उल्टी हुँदा रगत देखिने, बिरामी मूच्र्छा हुनेलगायत लक्षण देखिएमा सारो डेंगु (जटिल) हो भनेर चिन्न सकिन्छ । यस्ता लक्षणका संक्रमितलाई भर्ना गरेर उपचार गर्नु जरुरी हुन्छ । यस्ता बिरामीको ब्लड प्रेसर, पल्स नियमित जाँच्नुपर्छ । यी बिरामीको सिबिसी र हेमाटोक्रिट नियमित रूपमा जाँच्नुपर्छ । प्लेटलेट घटेर हेमाटोक्रिट २० प्रतिशतले बढेर गयो भने त्यो बिरामीको प्लाज्मा लिक भयो भन्ने बुझिन्छ र रक्तचाप बढाउन उपचार गर्नुपर्छ । हेमाटोक्रिट घट्यो भने रक्तस्राव भयो भन्ने बुझिन्छ र रगत चढाउनुपर्ने हुन्छ ।

के हुन्छ डेंगुमा ?
डेंगु ज्वरोका विभिन्न चरण हुन्छन् । डेंगु भएका थोरै संख्याका मानिसलाई हेमोजेरिक हुने गर्छ । यसमा बढी मात्रमा रक्तस्राव हुने, गिजाबाट रगत बग्ने हुन्छ । साथै, अन्तरिक रक्तस्राव पनि हुन्छ ।

डेंगु संक्रमित बिरामीलाई २ देखि ७ दिनसम्म ज्वरो आउने गर्छ । त्यसपछि, ज्वरो घटेर गएका वेला २४ देखि ४८ घण्टासम्मको समयमा क्रिटिकल फेजमा केही व्यक्तिको शरीरबाट रक्तस्राव भएको देखिन्छ र थोरै मानिसमा रक्तचाप घटेर सकमा जान सक्ने सम्भावना हुन्छ ।

उपचार
सामान्य डेंगु ज्वरो आएका मानिसमा प्रशस्त पानी पिउने र प्यारासिटामोलको सेवन गर्नाले नै रोग ठिक हुन्छ । डेंगु लागेको मानिसलाई पेनकिलर नखान सल्लाह दिइन्छ । किनकि, यस्ता दबाइ खाँदा आन्द्रा सुन्निने, घाउ हुने र रगतमा प्लेटलेट कम भएका वेला रगत बग्न सक्नेजस्ता जोखिम हुन्छन् ।

सेतो रक्तकोष र प्लेटलेट्स
डेंगु संक्रमित बिरामीमा सेता रक्तकोषको मात्रा घट्ने तथा प्लेटलेट्सको मात्रा घटेर जाने हुन्छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मीले नै बिरामीलाई अत्याउने गरेको पाइन्छ । तर, यसरी घट्नु डेंगुको प्रक्रिया नै हो । शरीरमा डेंगु संक्रमण हुँदा त्यसले बोनम्यारोलाई केही समय निष्क्रिय गराउँछ, जसले गर्दा सेतो रक्तकोषको मात्रा र प्लेटलेट्सको मात्र बिस्तारै घटेर जान्छ, जुन स्वाभाविक प्रक्रिया हो । यी कोषिका ज्वरो घटेको केही दिन तल झरेर आफैँ माथि आउँछन् । त्यसैले घटेर गएको अवस्थामा आत्तिनुपर्दैन ।

उपचारमै त्रुटि भइरहेको छ
सेतो रक्तकोषिका घटेको देखिएमा स्वास्थ्यकर्मीले प्लेटलेट्स र एन्टिबायोटिक चढाउने गर्छन्, जुन बिल्कुलै गलत कुरा हो । त्यस्तै, प्लेटलेट्स कम भएका वेला रक्तस्राव नहोस् भनेर प्रोफाइलएक्सिस प्लेटलेट्स टान्सफर गरिन्छ, जुन गलत हो ।

डेंगु संक्रमणको अवस्थामा विशेषगरी बोेनम्यारोले काम नगरेकाले र प्लेटलेट्स बाहिर चाँडै मर्ने र प्रयोग हुनाले घट्ने गर्छ । यो घट्दैमा रक्तास्राव भने हुने होइन । डेंगु रोगमा केही समयका लागि मात्रै बोनम्यारो खुम्चिएको हुन्छ । पछि बोनम्यारोले राम्रोसँग काम गर्ने तथा सिबिसी र प्लेटलेट्स नर्मल अवस्थामा आउने गर्छन् । तर, हामी स्वास्थ्यकर्मीले प्लेटलेट्स घटेको अवस्थामा रक्तस्राव हुन्छ भनेर प्लेटलेट्स दिइरहेका छौँ । विभिन्न अनुसन्धानले के देखाएका छन् भने प्लेटलेट्स गणनाका आधारमा मात्र प्लेटलेट्स चढाउनुहुँदैन, डेंगुको प्रक्रियामा यो घट्ने प्रक्रिया नर्मल हो । मैले ८ हजार प्लेटलेट्स भएका बिरामीको उपचार गरेको छु, जुन पछाडि बिस्तारै बढ्दै गएको छ र बिरामी कुनै जटिलताविना अस्पतालबाट बिदा भएका छन् । प्लेटलेट्स घटेका कारणले मात्र रक्तस्राव हुन्छ भन्ने होइन, अन्य कारण पनि हुन्छन् । हेमोरेजिक डेंगुमा आन्द्राबाट रगत बग्न सक्छ, तर प्लेटलेट्सका कारण रक्तस्राव हुने भने होइन । प्लेटलेट्स दिँदाका दुुष्प्रभाव धेरै छन् र बिरामीले यसका कारण निकै दुःख र सस्ती भोगेका छन् । डेंगुमा घटेको सिबिसी पनि पछि नर्मल ठाउँमा आउँछ । यो घट्यो भनेर एन्टिबायोटिक चलाउनु गलत हो ।

रक्तस्राव कस्ता मानिसमा बढी हुन्छ ?
हर्मोटोकेडिड बढेको, रगत जमाउने एपिटिटी बढेको छ, ज्वरो आएका वेला देखिने प्लेटलेट्स पनि (२० हजार) घटेको अवस्था छ भने रक्तस्राव हुन सक्छ । तर, जस्तो अवस्थामा प्लेटलेट्स घटे पनि यो मात्र रक्तस्राव गट्ने कारण होइन । विश्वव्यापी अध्ययनबाट बनेका गाइडलाइनले पनि १० हजारभन्दा तल घटे दिन सकिने भनेका छन्, तर दिनैपर्छ भन्दैनन् । विश्व स्वास्थ्य संगठनले त यसबारे बोलेको पानि छैन । तर, हाम्रो देशमा यसको प्रयोग गलत हिसाबले गरेको देखिएको छ ।

एन्टिबायोटिक्स
डेंगु भनेको भाइरस वा इन्टिब्याक्टेरियल रोग हो, इन्टिबायोटिक्स होइन । त्यसैले डेंगुमा एन्टिबायोटिक्स नचाहिने भन्ने कुरा आउला । तर, जति पनि दक्षिण एसियामा गरिएका अनुसन्धान छन्, तिनलाई हेर्दा डेंगुसँगसँगै अर्को ब्याक्टेरियाको इन्फेक्सन, प्रोटोजोवाको इन्फेक्सन पनि पाइएको छ । अध्ययनमा ७ प्रतिशतजति बिरामीमा अर्को ब्याक्टेरियाको इन्फेक्सन देखिएको छ, जुन ब्याक्टेरियाको उपचारमा ट्याबलेट र पानी मात्र खाएर हुँदैन, एन्टिबायोटिक्स नै खानुपर्छ । तर, डेंगु ज्वरो आएका प्रत्येक बिरामीलाई चिकित्सकले अनावश्यक रूपमा एन्टिबायोटिक्स चलाएको पाइन्छ । हामीले ९३ प्रतिशतलाई अनावश्यक रूपमा एन्टिबायोटिक्स चलाइरहेका छौँ । डेंगु ज्वरो पहिचान भइसकेपछि एन्टिबायोटिक्स आवश्यक छ कि छैन भनेर हेर्नुपर्छ ।

डेंगुका बिरामीमा अन्य ब्याक्टेरिया, प्रोटोजोवालगायतको इन्फेक्सन भएमा जटिलता धेरै हुन जान्छ । यस्ता बिरामीमा मृत्युदर १४ देखि ४४ प्रतिशतसम्म भएको अध्ययनले देखाएका छन् । एन्टिबायोटिक्स चलाउने विभिन्न आधार हुन्छन्– वृद्ध अवस्थाको बिरामी छ, डेंगुका लक्षण भयानक रूपमा देखिएका छन्, ७ दिनभन्दा बढी ज्वरो आएको छ, सोडियम घटेर गएको छ, सक नभई मिर्गौला तथा कलेजोको रिपोर्ट बिग्रिएको छ, डेंगुका साधारणभन्दा जटिलखालका लक्षण देखिएका छन् भने त्यस्तो अवस्थामा एन्टिबायोटिक्स चलाउन सकिन्छ ।

स्लाइन पानी चढाउँदा गम्भीर जोखिम, कस्तोमा चढाउने ?
डेंगु ज्वरो सामान्य ज्वरो हो । यसमा दुखाइ धेरै हुने गर्छ । यसको व्यवस्थापन सामान्य झोल कुरा तथा सिटामोल खाएर गर्न सकिन्छ । यदि केही व्यक्तिलाई उल्टी हुने, गिजाबाट रगत आउने, श्वास–प्रश्वासमा समस्या हुने, कालोखालको दिसा आउने, उल्टी हुँदा रगत देखिने, बिरामी मूच्र्छा हुने भयो भने चिकित्सकको सल्लाहअनुसार स्वास्थ्यसंस्थामा भर्ना हुनुपर्छ । भर्ना भएका बिरामीमा पनि रक्तचाप घटेर सकमा गएमा बल्ल फ्ल्युड हालेर आसियूमा राखेर उपचार गर्नुपर्छ । यस्तो क्रिटिकल फेजको लक्षण भएका मानिसको उपचारका क्रममा केही समयका लागि पानी चढाउने गरिन्छ ।

डेंगु ज्वरो सुरु हुनासाथ ४–५ बोतल स्लाइन पानी दिएर राखेको पाइन्छ, जुन घातकसिद्ध हुन सक्छ । यसले शरीरमा पानी जम्मा भएर बस्न सक्छ, जसका कारण केही व्यक्तिमा लिक भयो भने सबै पानी फोक्सो र पेटमा जान्छ र दुर्घटना निम्तिन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय