विश्व नेपाली स्वास्थ्य सम्मेलनबाट २५ बुँदे एटलान्टा घोषणापत्र जारी, मन्त्री यादवद्वारा उद्घाटन तथा सम्मानग्रहण

हेल्थपोस्ट
प्रकाशित
२०७६ असोज ५ गते २०:४१

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा संयुक्त राज्य अमेरिकाको एटलान्टा सहरमा जारी तीनदिने विश्व नेपाली स्वास्थ्य सम्मेलनले २५ बुँदे घोषणापत्र जारी गरेको छ । शुक्रबारदेखि सुरु भएको सम्मेलनको औपचारिक उद्घाटन भने उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपाली समयअनुसार शनिबार राति १० बजे गरेका थिए । सम्मेलनमा विश्वभर छरिएर रहेका नेपालीको समग्र स्वास्थ्य अवस्था, पहुँच तथा सुधारबारे १५ वटा वैज्ञानिक कार्यपत्र प्रस्तुत भएका छन् । मन्त्री यादव संयुक्त राष्ट्र संघको महासभाअन्तर्गत स्वास्थ्सम्बन्धी विभिन्न फोरममा सरिक हुन शनिबार नै न्युयोर्क प्रस्थान गरे । सम्मेलनको औपचारिक समापन आइतबार राति हुँदै छ ।

एनआरएनए आइसिसीको ग्लोबल हेल्थ एन्ड हाइजिन कमिटीले आयोजना गरेको पहिलो विश्व नेपाली स्वास्थ्य सम्मेलन सोचेभन्दा पनि भव्य रूपमा सफल भएको सम्मेलन आयोजक समितिका अध्यक्ष तथा हाइजिन कमिटीका संयोजक डा. सञ्जीव सापकोटाले बताए । उनका अनुसार सम्मेलनमा अमेरिकाका विभिन्न राज्य र नेपालसहित दक्षिण कोरिया, न्युजिल्यान्ड, क्यानडा, बेलायतलगायत देशबाट सयौँको संख्यामा प्रतिनिधि सहभागी छन् ।

सम्मेलनमा संयोजक डा. यादवले सम्मेलनको उद्देश्य प्रस्ट्याउँदै दिएको मन्तव्यको सहभागीले निकै प्रशंसा गरेका थिए । डा. यादवले विश्वभरमा स्वास्थ्य क्षेत्रमा संलग्न स्वास्थ्यकर्मीलाई एकजुट भएर नेपालीको स्वास्थ्य सुधारका लागि समन्वय र आपसी समझदारी बढाउन आह्वान गरेका थिए । उनले संसारभरि छरिएका नेपाली मूलका स्वास्थ्यकर्मीबीच समन्वय र सहकार्यमा जोड दिए ।

मन्त्री यादवद्वारा उद्घाटन तथा सम्मान ग्रहण
एटलान्टामा जारी पहिलो विश्व नेपाली स्वास्थ्य सम्मेलनको शनिबार उद्घाटन गर्दै मन्त्री यादवले अति आवश्यक विषयलाई उठान गरी विश्व सम्मेलन गरेकोमा आयोजकलाई धन्यवाद दिए । सम्मेलनप्रति आफ्नो पूर्ण रूपमा समर्थन रहेको बताउँदै मन्त्री यादवले यसबाट जारी हुने घोषणापत्रमा उल्लेखित स्वास्थ्यका विषय, कार्यपत्र तथा प्यानल डिस्कसनका क्रममा आएका विषय नेपाल सरकारको भावी स्वास्थ्य नीति तथा कार्यक्रम तर्जुमामा समेत मार्गदर्शक बन्न सक्ने बताए ।

‘यो अत्यन्त सफल र जरुरी सम्मेलनमा सहभागी हुन पाउँदा खुसी लागेको छ,’ मन्त्री यादवले भने, ‘यसलाई अघि बढाउनुहोस्, हाम्रो समर्थन छ ।’ मन्त्री यादवले २५ बुँदे घोषणापत्रको समेत खुलेर प्रशंसा गरे । ‘घोषणापत्रमा समेटिएका कुरा सकारात्मक छन्,’ मन्त्री यादवले भने, ‘यसलाई विदेश मन्त्रालयमार्फत नेपाल सरकारलाई पठाउनुहोला ।’ घोषणापत्रमा हस्ताक्षरका लागि मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने मन्त्री यादवले बताए । त्यसैले विदेश मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाउन मन्त्री यादवले आग्रह गरेका थिए ।

सम्मेलनमा नेपालमा व्याप्त डेंगुको महामारीबारे समेत छलफल भइरहँदा मन्त्री यादवले भने नेपालको सन्दर्भमा सरुवारोगभन्दा पनि क्यान्सरलगायत नसर्ने रोग बढी चुनौतीपूर्ण भएको बताए । नसर्ने रोगको रोकथामका निम्ति स्वास्थ्यशिक्षामा जोड दिनुपर्ने उनको भनाइ थियो । मन्त्री यादव बुधबार अमेरिका प्रस्थान गरेका थिए ।

सम्मेलनमा मन्त्री यादवले आयोजकका तर्फबाट गरिएको सम्मान ग्रहणसमेत गरे । नेपालका लागि अमेरिकी सामाजिक सुधारक मार्टिन लुथर किंग्ससरह सामाजिक न्याय र सबैको स्वास्थ्यका लागि लडेबापत मन्त्री यादवलाई विशेष सम्मान गरिएको आयोजकको भनाइ छ । मन्त्री यादवले स्वास्थ्यसेवाका हिसाबले अत्यन्तै पिछडिएका तराईका आदिवासी, दलित, पिछडिएको वर्ग तथा सर्वसाधारणको स्वास्थ्यमा पहुँच विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै संयोजक डा. सापकोटाले उनको उच्च प्रशंसा गरे ।

एटलान्टाका मेयर जोनी क्रिस्टले गरे विशेष स्वागत
विश्व नेपाली स्वास्थ्य सम्मेलनमा एनआरएनए तथा नेपालीको मात्र नभई अमेरिकी सरकारी तथा गैरसरकारी संघ–संस्थाको समेत सहयोग र सहभागिता थियो । एटलान्टाका मेयर जोनी क्रिस्टले सम्मेलनमा सहभागीलाई विशेष स्वागत गरेका थिए ।

स्वागत मन्तव्य दिँदै क्रिस्टले विश्वभर छरिएर रहेका नेपालीको स्वास्थ्यमा सुधार ल्याउन चलाइएको सम्मेलनका सहभागीलाई आफ्नो सहरमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले सम्मेलनको सफलताको कामनासमेत गरे ।

२५ बुँदे एटलान्टा घोषणापत्र जारी
सम्मेलनले २५ बुँदे एटलान्टा घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा नेपालभित्र तथा बाहिर रहेका नेपालीको स्वास्थ्य सुधारका लागि काम गर्ने व्यक्ति तथा संघसंस्थाका बीच सहकार्य, आपसी सहयोग र समझदारी बढाउने प्रतिबद्धता जनाउँदै त्यसका लागि सबैलाई आह्वान गरिएको छ ।

विश्वभरि रहेका नेपालीको स्वास्थ्यसमस्याबारे मिलेर काम गर्नुपर्नेमा घोषणापत्रले जोड दिएको छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीमा आधारभूत स्वास्थ्यसेवाको पहुँच सुनिश्चित गर्ने, स्वास्थ्यलाई आधारभूत अधिकारका रूपमा सम्मान गर्नेलगायत विषय घोषणापत्रमा अटाएका छन् । विदेशमा बसाइँसराइ गरेका नेपाली आधारभूत स्वास्थ्यसेवाबाट समेत वञ्चित भएको, खाडी मुलुकमा काम गर्ने नेपालीको स्वास्थ्य अवस्था र सेवाको पहुँच अत्यन्त कमजोर भएकाले पहुँच विस्तारका लागि काम गर्नेबारे घोषणापत्रले बोलेको छ ।

त्यसैगरी, पछिल्लो समय विश्वव्यापी रूपमा बढिरहेको मानसिक समस्या र त्यसले बढाएको आत्महत्यालगायत घटनाबारे घोषणापत्रमा उल्लेख गरिएको छ । अमेरिकामा बस्ने नेपाली बन्दुकको सिकार भएको तर्फ तथ्य उजागर गर्दै घोषणापत्रमा त्यसबाट नेपाली मूलका कामदारलाई जोगाउन पहल गर्ने उल्लेख छ । विशेषगरी, अमेरिकाका पेट्रोल पम्पमा काम गर्ने नेपाली बन्दुकधारीको चपेटामा पर्ने गरेका छन् । अमेरिकामा आम रूपमा बन्दुक साथमा राख्न पाउने कानुनका कारण पछिल्लो समय सार्वजनिक स्थल, विद्यालयलगायतका स्थानमा आमसंहारका घटना बढिरहेका छन्, जुन सरकारका लागि चुनौतीको विषय बनेको छ । बन्दुकधारीले तर्साएर पेट्रोल पम्प लुट्ने प्रवृत्ति पनि उल्लेख्य छ । पछिल्लो १० वर्षमा अमेरिकामा काम गर्ने ३ दर्जनभन्दा बढी नेपालीले बन्दुकधारीबाट ज्यान गुमाइसकेका छन् । सम्मेलनले यसरी असुरक्षाका बीच काम गर्ने नेपालीको सुरक्षाका लागि गाइडलाइन पारित गरेको छ ।

१५ वटा वैज्ञानिक कार्यपत्र प्रस्तुत
सम्मेलनमा अमेरिकाका विभिन्न विश्वप्रतिष्ठित विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक, विभिन्न देशमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी, जाजरकोट अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलागायत १५ जना विशेषज्ञले वैज्ञानिक कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यपत्र प्रस्तुत गर्नेमा डा. पीताम्बर दाहाल, डा. चाँदनी जैसवाल, डा. लौरा स्लोबलगायत छन् । यीमध्ये डा. स्लोब नेपाली मूलका नभएर नेपाली स्वास्थ्यबारे अध्ययन–अनसन्धान गरेका विदेशी हुन् । उनले दाँत स्वास्थ्यबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा जाजरकोट जिल्ला अस्पतालका मेसु डा. चाँदनी जैसवालले प्रस्तुत गरेको कार्यपत्रले सहभागीबीच छाप छोड्न सफल भएको छ । सबैजसो सहभागीको कार्यपत्र नेपाल, अमेरिका र बाँकी विश्वको जुनसुकै कुनामा रहेका नेपालीको स्वास्थ्यअवस्था सुधारमा केन्द्रित थियो । सबै कार्यपत्र प्रस्तोताले संसारभरका नेपालीमा स्वास्थ्यसेवाको पहुँच विस्तारमा जोड दिएका थिए ।

सम्मेलनमा एनआरएन अमेरिकाका अध्यक्ष सुनील शाह, उपाध्यक्ष कृष्णजिबी पन्त, पूर्वउपाध्यक्ष राधा पौडेल, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिकी सदस्य प्रमिला बस्नेत, डा. तारा सिग्देल, डा. उत्तम गाउँलेलगायतको सक्रिय सहभागिता रह्यो । मिस नेपाल नर्थ अमेरिका तथा युवा स्वास्थ्य जागरण अभियन्ता श्रिया गजुरोल सम्मेलन उद्घाटन समारोहको कार्यक्रम सञ्चालकका रूपमा देखिइन् । उनले आइतबार युवा स्वास्थ्यकेन्द्रित मन्तव्य राख्ने कार्यक्रम छ ।

सम्मेलनमा ‘विश्व नेपाली स्वास्थ्यका चुनौती र अवसर’ विषयमा प्यानल डिस्कसनसमेत भएको छ । १२ जना सहभागी सम्मिलित प्यानल डिस्कसनमा खाडी मुलुकलगायत विश्वभर छरिएर रहेका नेपालीको स्वास्थ्यमा पहुँच, चुनौती तथा अवसरबारे गहन छलफल गरिएको छ ।

सम्मेलनमा विभिन्न स्वास्थ्य गतिविधिसमेत सञ्चालन गरिएको छ । वाक एन्ड रन, सिपिआर ट्रेनिङ, मेडिकल क्याम्प, रक्तदान कार्यक्रम, महिला तथा युवाको स्वास्थ्यबारे विशेष कार्यक्रम सञ्चालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय