आत्महत्या न्यूनीकरण : मनोरोगीको पहिचान, माया र उपचार

सम्पूर्ण प्राणीलाई जन्मेदेखि प्रकृतिले बाँच्ने इच्छाशक्ति हालिदिएको छ । बच्चादेखि नै च्याँ गर्छ, रुन्छ, जीवनलाई अप्ठ्यारो पर्यो भने प्रतिक्रिया देखाउँछ, जुन बाच्नकै लागि हो । तर, कुनै समयमा मानिसमा आफ्नो जीवनलाई माया नगर्ने, जीवनलाई नै समाप्त पार्नेजस्ता सोच उत्पन्न हुन्छन् । जीवनप्रति यस्ताखाले नकारात्मक सोच विकसित भएपछि कुनै माध्यमद्वारा मानिसले आफ्नो जीवन समाप्त पार्छ । यसरी आफ्नो जीवनलाई आफैँले समाप्त पार्ने, हत्या गर्ने प्रक्रियालाई आत्महत्या भनिन्छ ।

आत्महत्याका विभिन्न कारण रहँदै आएका छन् । धेरैजसो कारण मानसिकरोगसँग सम्बन्धित भएर आएका हुन्छन् । करिब ८० प्रतिशतभन्दा बढी आत्महत्याका केस कुनै न कुनै रूपमा मनोरोगसँग सम्बन्धित हुने गर्छन् । मनोरोगहरू मध्य पनि आत्महत्या निम्त्याउने प्रमुख समस्या डिप्रेसन हो । त्यसैगरी, विक्षिप्त पार्ने साइकोसिस्, लागुपदार्थ दुर्व्यसनका कारण तथा तनाव व्यवस्थापन गर्न नसक्दा पनि मानिस आत्महत्यातर्फ लाग्ने गर्छ ।

मनोरोगको कारण भने यही नै हो भन्ने यकिन छैन । यसलाई सामाजिक, साइकोलोजिक, बायोलोजिकल कारणका रूपमा हामी अध्ययन गर्ने गर्छौं । बायोलोजिकल कारण मनोरोग लगाउने तथा आत्महत्याका लागि लालायित बनाउने कारणमा व्यक्तिको आनुवंशिक गुण, मस्तिष्कमा हुने उतार–चढाव पर्छन् । त्यस्तै, साइकोलोजिकल कारणमा व्यक्तिको तनाव व्यवस्थापन गर्ने क्षमता, समस्यालाई हल गर्ने क्षमता, समाजलाई हेर्ने दृष्टिकोणजस्ता कुराले प्रभाव पारिरहेको हुन्छ । त्यसैगरी, अर्को विषय भने सामाजिक मुद्दाले आत्महत्यामा सहयोग पुर्याइरहेको हुन्छ । कुनै व्यक्तिको सामाजिक परिवेश, पेसाको तह, शैक्षिक अवस्था, बसाइँसराइ, समाजमा घट्ने वा ऊ स्वयम्ले घटाउने आपराधिक क्रियाकलापलगायत विषय आत्महत्यासँग जोडिएका हुन्छन् । त्यसैले मानिस यही कारणले आत्महत्या गर्छ भनेर यकिनसाथ भन्न सकिँदैन ।

मानिसको मन, सोचाइ र व्यवहार बुझ्नु धेरै जटिल विषय हो । सामान्यतया मर्दै गरेको वा आत्महत्या गर्न लागेको मानिसले झुटो बोल्दैन भनिन्छ, धेरै हदसम्म सही पनि होला । तर, पूर्ण मनोरोग लागिसकेको अवस्थाको मानिस छ र औषधोपचार पाएको छैन भने मानिस र समाजबीचको इन्टिग्रेसन नभएको अवस्थामा उत्पन्न विचार पनि दोषपूर्ण हुन सक्छ । त्यसकारण पनि आत्महत्या गर्ने मानिसले सधैँ सत्य नै बोल्छन् भन्न सकिँदैन । कुनै व्यक्तिले मलाई आत्महत्या गर्न दुरुत्साहन गर्यो, त्यसैले म आत्महत्या गर्दै छु भनेर लेखेकै भरमा अकाट्य रूपमा आरोपित व्यक्ति दोषी हुन्छ भन्ने मलाई विश्वास लाग्दैन ।

मनोरोगको सिकार हुन नदिनका लागि स्वास्थ जीवनशैलीको अनुसरणका साथै दिनचर्यामा बदलाव जरुरी छ । उदाहरणका लागि सरल दिनचर्या अपनाउने, पुरा हुन नसक्नेखालका उच्च महत्त्वाकांक्षा नराख्ने, कुनै कुरामा असफल भएको खण्डमा त्यसलाई सहज रूपमा लिने, लागुपदार्थ दुर्व्यसनबाट टाढा बस्ने, मनमा आएका विकार तथा अप्ठ्यारा सोच साथीसँग भन्ने र हल गर्न खोज्ने, मनोरोगका लक्षण आफू, साथी वा परिवारमा देखियो भने मानसिक परामर्शदाता तथा विशेषज्ञ चिकित्सककहाँ समयमै पुग्ने–पुर्याउने गर्नुपर्छ ।

आत्महत्याका धेरैजसो केस डिप्रेसनसँग सम्बन्धित छन् भनिरहँदा हामीले डिप्रेसनका सुरुवाती लक्षण विचार गर्नुपर्छ । माइल्ड खालको डिप्रेसनमा नैराश्य उत्पन्न हुने, पहिले रमाइलो लाग्ने कुराहरूमा रमाउन छोड्ने, भोक, निद्रामा गडबढी आउनेजस्ता लक्षण देखिन्छन् । यद्यपि, माइल्ड खालको डिप्रेसनमा मानिसले पेसा, व्यवसाय, समाजिक सम्बन्धहरू कायम राखेरै अघि बढिरहेको हुन्छ । कतिपय अवस्थामा आफू डिप्रेसनको सिकार हुँ भन्ने थाहा पनि नहुन सक्छ । माइल्डबाट मोडरेटमा गइसकेपछि मानिसको जीवनयापनमा समस्या ल्याउने, सामाजिक सम्बन्धमा असर पार्ने, थाक्ने, गल्नेक्रम बढ्न थाल्छ । निरासा पैदा हुनेक्रम बढ्दै जान्छ, आफ्नो दैनिक जीवन बिताउन अलि गाह्रो हुन्छ कि भन्ने सोच आउने गर्छ । त्यसैगरी, शारीरिक रूपमा धेरै थकान हुने, आत्महत्याको सोच व्यापक रूपमा बढ्दै जाने र जीवन नै समाप्त पार्ने सोच भने सिभियर अवस्थामा आउने गर्छ ।

हाम्रो समाजमा गलत सोच विद्यमान छ । मानिसले यदि सोच–विचार गर्यो भने आत्महत्या गर्दैन भन्ने धारणा छ, जुन सही होइन । जब कुनै व्यक्तिको मनमा आत्महत्याको सोच–विचार आउँछ र उसले कुनै तरिकाले वर्णन गर्यो भने हामीले त्यसलाई संकेतका रूपमा लिनुपर्छ । आत्महत्या गर्नुअघि मानिसले २०औँपटकसम्म आत्महत्याबारे कुराकानी गर्ने, प्रक्रियाहरूबारे खोज्ने, अलि–अलि पूर्वजानकारी दिने सम्भावना प्रचुर मात्रामा हुने गर्छ ।

संसारमा धेरै त्यस्ता घटना छन्, कुनै सेलिब्रिटी तथा ख्यातिप्राप्त मानिसले आत्महत्या गरिसकेपछि त्यस्तैखालको व्यक्तित्व भएका अन्य मानिसले पनि आत्महत्या गरेका छन् । त्यसैले आत्महत्याका समाचारको रिपोर्टिङ तथा सम्प्रेषणमा मिडिया संवेदनशील र उत्तरदायी हुनु जरुरी छ । आत्महत्याबारे आममानिसलाई सुसूचित गर्नुपर्छ, तर सन्देश दिनेवेला मानसिक स्वास्थ्यबारेका जानकारीमूलक तथा जीवनलाई माया गर्न सिकाउनेखालका सन्देश दिनुपर्छ ।

नेपाल बढी आत्महत्या गर्ने देशमा विश्वकै सातौँ नम्बरमा परेको छ । नेपालमा औसत दैनिक १६ जनाले आत्महत्या गरिरहेको तथ्यांक हामीसामु छ । यसरी आत्महत्याको दर बढ्दै जानुमा सञ्चारको विकाससँगै घटनाको रिपोर्टिङमा आएको परिर्वतन पनि एउटा कारण हो । आत्महत्या बढ्नुमा मनोरोगका विभिन्न कारण जस्तै, बेरोजगारी, बसाइँसराइ, वैदेशिक रोजगारी, लागुपदार्थ दुर्व्यसनजस्ता कारकतत्व रहेका छन् । मुख्य कारण भनेको मनोरोगको उचित समयमा पहिचान र उपचार नहुनु नै हो ।

उपचार तथा रोकथाम
आत्महत्यालाई मानसिक समस्यासँग जोडेर हेरिएपछि रोकथामको प्रथम उपाय पनि समयमै मनोरोगको पहिचान र उपचार नै हुन जान्छ । मनोरोगको सिकार हुन नदिनका लागि स्वास्थ जीवनशैलीको अनुसरणका साथै दिनचर्यामा बदलाव जरुरी छ । उदाहरणका लागि सरल दिनचर्या अपनाउने, पुरा हुन नसक्नेखालका उच्च महत्त्वाकांक्षा नराख्ने, कुनै कुरामा असफल भएको खण्डमा त्यसलाई सहज रूपमा लिने, लागुपदार्थ दुर्व्यसनबाट टाढा बस्ने, मनमा आएका विकार तथा अप्ठ्यारा सोच साथीसँग भन्ने र हल गर्न खोज्ने, मनोरोगका लक्षण आफू, साथी वा परिवारमा देखियो भने मानसिक परामर्शदाता तथा विशेषज्ञ चिकित्सककहाँ समयमै पुग्ने–पुर्याउने गर्नुपर्छ ।

मनोरोगीलाई हेर्ने समाजको दृष्टिकोण बदलिनु जरुरी छ । मानसिक रोग लागेको व्यक्ति पागल हो, काम नलाग्ने हो भन्ने जुन भ्रम व्याप्त छ, त्यसलाई चिर्नु आवश्यक छ । मनोरोग पनि अन्य रोगजस्तै हो, जुन उपचार गरेमा ठिक हुन्छ । यो रोगबाट कोही पनि अछुत रहन सक्दैन । त्यसैले मनोरोगीको पहिचान गर्नु, उनीहरूलाई माया दिनु, समाजले भरिदिएको कलंकलाई चिर्नु अत्यावश्यक छ ।

यदि कुनै परिवारको सदस्यमा मनोरोगका लक्षण देखिएमा कोठमा एक्लै बस्न नदिने, उसको व्यवहारलाई नजिकबाट नियाल्ने, उसलाई विषादीको पहुँचमा नराख्ने, धारिलो हतियार तथा डोरी उसको नजिकमा नराखिदिनेजस्ता कुराले केही हदसम्म आत्महत्याका अप्रिय घटनाको रोकथाम गर्न सकिन्छ ।

आत्महत्याको दर १५ देखि २९ वर्ष उमेर समूहका मानिसमा धेरै देखिँदै आएको छ । यो आफ्नो बौद्धिक तथा समग्र मस्तिष्कको वृद्धि–विकास हुने उमेर हो । यतिवेला महत्त्वाकांक्षा बढी हुने गर्छ । यो उमेरका युवा–युवतीको बाबु–आमासँगको व्यवहार कस्तो छ, यस्ता कुरामा ख्याल गर्नुपर्ने हुन्छ । इन्टरनेटको गलत प्रयोगलगायत लागुपदार्थको दुर्व्यसनको रोकथाम गर्नुपर्छ । त्यसैगरी, अपरिपक्व रूपमा विकास भएको प्रेमसम्बन्धका कारणले पनि आत्महत्याको दर बढिरहेको छ, जसको रोकथामका लागि शिक्षक, समुदाय, परिवारका सदस्यले नजर राखिराख्नु आवश्यक हुन्छ ।

आत्महत्या मनोरोगसँग सम्बन्धित समस्या हो । यसलाई न्यूनीकरण गर्नमा सबैको भूमिका हुन्छ । घर–परिवार, डाक्टर, पत्रकार, राजनीतिकर्मी, समाजसेवी सबैले आ–आफ्नो तहबाट महत्त्वपूर्ण भूमिका निभाएमा आत्महत्यालाई न्यूनीकरण गर्न सकिन्छ ।

मनोरोगीलाई हेर्ने समाजको दृष्टिकोण बदलिनु जरुरी छ । मानसिक रोग लागेको व्यक्ति पागल हो, काम नलाग्ने हो भन्ने जुन भ्रम व्याप्त छ, त्यसलाई चिर्नु आवश्यक छ । मनोरोग पनि अन्य रोगजस्तै हो, जुन उपचार गरेमा ठिक हुन्छ । यो रोगबाट कोही पनि अछुत रहन सक्दैन । त्यसैले मनोरोगीको पहिचान गर्नु, उनीहरूलाई माया दिनु, समाजले भरिदिएको कलंकलाई चिर्नु अत्यावश्यक छ ।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय