दुर्गम गाउँमा एम्बुलेन्सभन्दा डोको भरपर्दो !(भिडियो सहित)

कृष्ण मल्ल
प्रकाशित
२०७६ असोज ३ गते १२:५७

प्युठानमा डोकोमा बच्चा राखेर स्वास्थ्यजाँचका लागि स्वास्थ्यसंस्था आएका महिला ।

पहाडको ग्रामीण क्षेत्रका बासिन्दा डोकोका भरमा स्वास्थ्यसंस्थामा उपचारका लागि आउनुपर्ने बाध्यता हटेको छैन । खनिएका ग्रामीण सडक वर्षाले बिग्रिँदा र गोरेटो बाटोको सुविधा नपुगेका गाउँमा यस्तो समस्या देखिएको हो । त्यस्ता गाउँमा एम्बुलेन्स त परको कुरा, स्टेचरको प्रयोग गर्नसमेत मिल्दैन । गोरेटो बाटो नभएका कारण उनीहरू बिरामी बोक्न डोकोको प्रयोग गर्दै आएका छन् ।

नौबहिनी गाउँपालिकाका स्वास्थ्य सहसंयोजक गोविन्द केसीले पालिकाका १३ वटा स्वास्थ्यसंस्थामा अधिकांश सेवाग्राही पैदल नै आउने गरेको बताए । ‘सडक भएका ठाउँमा गाडीको सहज सुविधा छैन,’ उनले भने, ‘स्वास्थ्यसंस्थामा आउँदा–जाँदा हिँड्नुको विकल्प छैन ।’

हिँड्न नसक्ने बिरामीका लागि गोरेटो बाटोको पहुँच भएका गाउँमा स्टेचरको प्रयोग अत्यधिक हुने गरेको उनको भनाइ छ । उनका अनुसार धेरैजसो ग्रामीण क्षेत्रमा गोरेटो बाटोसमेत नहुँदा डोको वा मान्छेको पिठ्युँमा बोकिएर स्वास्थ्यसंस्था पुग्नुपर्ने बाध्यता छ । ‘हाम्रो क्षेत्रमा एम्बुलेन्स र गाडीभन्दा डोको नै भरपर्दो छ,’ उनले भने, ‘धेरैजसो गाउँमा गोरेटो बाटोसमेत छैन, भएका सडक पनि बिग्रिरहन्छन् ।’

प्युठानमा जिल्ला अस्पताल १, स्वास्थ्यचौकी ४६, प्राथमिक स्वास्थ्यकेन्द्र २, सहरी स्वास्थ्यकेन्द्र ३, सामुदायिक स्वास्थ्य एकाइ ५ र आधारभूत स्वास्थ्यकेन्द्र ५ गरी ६२ वटा सरकारी स्वास्थ्यसंस्था छन् ।

स्वास्थ्य कार्यालय, प्युठानका प्रमुख विशाल सुवेदी जिल्लाका केही गाउँ अहिले पनि गोरेटो बाटोले नजोडिएको बताउँछन् । उनले सडक भएका ठाउँमा समेत वर्षाको समयमा सडक बिग्रिने हुँदा बिरामीका लागि समस्या हुने गरेको बताए । उनले त्यस्ता गाउँबाट बिरामी स्टेचर, डोकोमा बोकिएर उपचारका लागि स्वास्थ्यसंस्था आउने गरेको सुनाए । स्वास्थ्य कार्यालयले केही वर्षअघि जिल्लाका सबैजसो स्वास्थ्यसंस्थामा स्टेचर वितरण गरेको उनको भनाइ छ । दुर्गम गाउँमा बिरामीका लागि गाडीको भन्दा स्टेचर र डोकोकै प्रयोग बढी हुन्छ ।

प्युठानका ११ वडा स्वास्थ्यसंस्थाविहीन, धेरै गाउँमा स्टेचरका लागि समेत बाटो छैन
सुवेदीका अनुसार जिल्लामा अझै पनि गोरेटो बाटोसमेत नभएका केही गाउँ छन् । त्यस्ता गाउँमा स्टेचरमा बिरामी बोक्न मिल्दैन । यो अवस्थामा बिरामी डोकोमै बोकिएर आउनुपर्छ । जिल्लाका स्याउलीबाङ, अर्खा, रजबारा, कोचिबाङका केही गाउँमा यस्तो समस्या छ । ‘एक वडा, एक स्वास्थ्यसंस्था’ भन्ने सरकारको नीति रहे पनि अझै पनि प्युठानका ११ वटा वडा स्वास्थ्यसंस्थाविहीन छन् । आधा घण्टाको पहुँचमा नागरिकलाई स्वास्थ्यसेवा दिने नीति कार्यान्वयनमा ल्याइए पनि प्युठानमा ११ स्वास्थ्यसंस्था थपिँदासमेत लक्ष्यअनुरूप सेवा दिन नसकिने देखिन्छ । भौगोलिक अवस्थाका कारण वडामा एउटा स्वास्थ्यसंस्था स्थापना हुन सके पनि प्युठानका कतिपय गाउँवासीले आधा घण्टाको दूरीमा स्वास्थ्यसेवा पाउने देखिँदैन ।

प्रदेश सरकारले अन्य क्षेत्रमा सफलता हात पारिरहेको दाबी गरिरहे पनि स्वास्थ्यका सूचकहरूमा भने कमजोर देखिएको छ । प्रदेशमा प्रजनन उमेरका झन्डै ४४ प्रतिशत महिलामा रक्तअल्पता, २५ प्रतिशत गर्भवतीले घरमै बच्चा जन्माउने र नवजात शिशु मृत्युदर प्रतिहजारमा ३०, शिशु मृत्युदर ४२ र बालमृत्युदर ४५ रहेको प्रदेशको वस्तुस्थितिको पुष्टि तथ्यांकले गरिरहेको छ ।

प्युठानमा जिल्ला अस्पताल १, स्वास्थ्यचौकी ४६, प्राथमिक स्वास्थ्यकेन्द्र २, सहरी स्वास्थ्यकेन्द्र ३, सामुदायिक स्वास्थ्य एकाइ ५ र आधारभूत स्वास्थ्यकेन्द्र ५ गरी ६२ वटा सरकारी स्वास्थ्यसंस्था छन् ।

प्रदेश ५ स्वास्थ्यमा कमजोर साबित, ३२२ वडामा छैनन् स्वास्थ्यसंस्था
प्रदेश ५ का ३ सय २२ वडामा अझै पनि कुनै स्वास्थ्यसंस्था छैनन् । यो स्वास्थ्यका दृष्टिले गम्भीर विषय बनेको छ । वडामा आधारभूत स्वास्थ्यसेवा प्रदान गर्ने सामान्य स्वास्थ्यसंस्थासमेत नहुनु दुःखद पक्ष भएको स्वास्थ क्षेत्रका जानकारहरू बताउँछन् । नजिकमा स्वास्थ्यसंस्था नहुँदा वृद्ध, महिला तथा बालबालिका बढी प्रभावित हुने गरेका छन् । त्यसमा पनि प्रजनन स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ भने शून्य होम डेलिभरी बनाउने अभियान प्रभावित बनेको छ । त्यसले गर्दा गाउँवासी घण्टौँको पैदलदूरीमा बोकिएर स्वास्थ्यसंस्था पुग्न बाध्य छन् ।

प्रदेश सरकारले तयार गरेको मस्यौदामा सबै स्थानीय तहमा आधारभूत स्वास्थ्यसेवालाई प्राथमिकता दिइएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरी बताउँछन् । विद्यमान स्वास्थ्यसेवालाई सुदृढ गर्ने गरी प्रदेशले आफ्नो स्वास्थ्य नीतिको मस्यौदा निर्माण गरेको डा. चौधरीले बताए ।

प्रदेश सरकारले अन्य क्षेत्रमा सफलता हात पारिरहेको दाबी गरिरहे पनि स्वास्थ्यका सूचकहरूमा भने कमजोर देखिएको छ । प्रदेशमा प्रजनन उमेरका झन्डै ४४ प्रतिशत महिलामा रक्तअल्पता, २५ प्रतिशत गर्भवतीले घरमै बच्चा जन्माउने र नवजात शिशु मृत्युदर प्रतिहजारमा ३०, शिशु मृत्युदर ४२ र बालमृत्युदर ४५ रहेको प्रदेशको वस्तुस्थितिको पुष्टि तथ्यांकले गरिरहेको छ । प्रदेशमा कुपोषण भएको जनसंख्या ३७ दशमलव ६ र ५ वर्षमुनिका बालबालिकामा कुपोषणदर ४१ दशमलव १ प्रतिशत रहेको तथ्यांक छ ।

भिडियो सौजन्य : विशाल सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय