डा. सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, ५ लाख नगदराशिसहित सम्मान गरिने

हेल्थपोस्ट
प्रकाशित
२०७६ असोज २ गते १९:३५

सरकारले वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गर्ने भएको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले डा. रुइतलाई पुरस्कृत गर्ने निर्णय गरेको जानकारी दिए । उक्त पुरस्कारको राशि ५ लाख रूपैयाँ रहेको छ ।

विश्वकै बहुप्रतिष्ठित म्यागासेसे पुरस्कार (एसियाको नोबेल भनेर चिनिने) बाट समेत अलंकृत डा. रुइत आँखा उपचारको क्षेत्रमा विश्वभर सुप्रसिद्ध नाम हो । डा. रुइतको नेतृत्वमा तिलगंगा आँखा केन्द्रले उत्पादन गरेको लेन्सले लाखौँ नेपालीसहित विश्वका ६ दर्जनभन्दा बढी देशका बासिन्दालाई संसार देखाएको छ । मातियाविन्दुका कारण आँखाको ज्योति गुमाएका लाखौँलाख स्वदेशी तथा विदेशी जनले सस्तो, भरपर्दो र गुणस्तरीय नेपाली लेन्सबाट संसार देख्न पाएका छन् । तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वस्तरीय आँखा उपचारको केन्द्र बनाउनमा डा. रुइतको नेतृत्वकारी भूमिका रहेको छ ।

डा. रुइतले समग्र मानव जातिको कल्याणमा पुर्याएको अद्वितीय योगदनको कदरस्वरूप उनी दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा मानपदवीबाट पुरस्कृत भइसकेका छन् । निरन्तरको लगनशीलता, राष्ट्र र मानवताप्रतिको समर्पण तथा निष्काम कर्मका कारण पूर्वी नेपालको विकट हिमाली गाउँ ओलाङचुङगोलामा जन्मिएका रुइत विश्वमाझ आफूलाई मात्र नभएर नेपाललाई समेत सुपरिचित गराउन सफल बनेका छन् । उनी र उनीजस्तै प्रतिभावान् तथा कर्मनिष्ठ चिकित्सक तथा आविष्कर्ताकै कारण आज नेपाल आँखा उपचारको क्षेत्रमा आकर्षक गन्तव्यका रूपमा विश्वमाझ स्थापित भएको छ । हेल्थपोस्टनेपाल परिवार संविधान दिवसका अवसरमा स्वदेशको प्रतिष्ठित राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित भएकोमा डा. रुइतलाई बधाई तथा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय