देवघाट आश्रममा स्वास्थ्यपरीक्षणबाट कालिकाको वार्षिकोत्सव सुरु, ‘वृद्धाश्रममा लुगाभन्दा उपचार दिनुस्’

वसन्त ढुंगाना
प्रकाशित
२०७६ असोज २ गते १४:०१

चितवनको भरतपुरमा रहेको कालिका मिडियाले आफ्नो १७औँ वार्षिकोत्सवका अवसरमा देवघाटमा रहेका वृद्धवृद्धाको निःशुल्क स्वास्थ्यपरीक्षण गरेको छ । कालिकाले वार्षिकोत्सवको बृहत् एकमहिने कार्यक्रमअन्तर्गत बुधबार देवघाटका वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्यपरीक्षणसँगै सम्मान तथा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको निर्देशक दीपक पौडेलले बताए ।

पौडेलका अनुसार देवघाटका आश्रममा रहेका ३३ जना वृद्धवृद्धाको निःशुल्क स्वास्थ्यपरीक्षण गरिएको छ । कालिकाले फिजिसियन चिकित्सकद्वय शान्ति भण्डारी र विकास भण्डारीमार्फत आश्रममै पुगेर वृद्धवृद्धाको स्वास्थ्यपरीक्षण गराएको हो । उपचारका क्रममा त्यहाँका अधिकांश वृद्धावृद्धामा सुगर, प्रेसर तथा मुटुसम्बन्धी समस्या पाइएको डा. शान्ति भण्डारीले बताइन् । आश्रमका वृद्धवृद्धालाई हेरचाह नपुगेको उनको भनाइ छ ।

सामान्यतया बुढेसकालमा आफ्नो घरपरिवारसित विछोड भएकाहरू हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिने देवघाटमा गएर आश्रय लिएर बस्ने गरेका छन् । यसरी घरपरिवारबाट वञ्चित वृद्धवृद्धालाई सम्मान गरे कालिकाले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रमको सुरुवात गर्दै आएको छ ।

कार्यक्रममा कालिकाका निर्देशक पौडेलले वृद्धवृद्धाको आशीर्वादले आफूहरू अहिलेको स्थानमा आइपुगेको बताए । उनले एकदिनको कार्यक्रमले केही नभए पनि एकजनाले एउटा संस्थाले एकदिन यस्ता कार्यक्रम गरिदिए वर्षभरि नै वृद्धवृद्धाका लागि अभाव नहुने धारणा राखे । ‘हाम्रो एकदिनको कार्यक्रमले केही हुने होइन । तर, सबैले एकदिन यस्तो कार्यक्रम गर्ने हो भने सरकारले सहयोग नगरे पनि वृद्धाश्रम राम्ररी सञ्चालन हुन्छ,’ उनले भने, ‘कालिका मिडिया वृद्धवृद्धालाई सम्मान गर्न पाउँदा खुसी छ ।’

‘हामीलाई लत्ताकपडा आवश्यक छैन, तत्कालका लागि वृद्धवृद्धाको उपचार गर्न समस्या छ,’ उनले भने, ‘हामीलाई सहयोग गर्नुहुन्छ भने स्वास्थ्योपचारका कार्यक्रम ल्याइदिन हामी सहयोगदातालाई आग्रह गर्छौं ।’

कालिका एफएमका स्टेसन म्यानेजर ओमप्रकाश आचार्यले आफ्ना बुबाआमालाई वृद्धाश्रममा ल्याएर छोड्ने संस्कारको अन्त्य हुनुपर्ने बताए । वृद्धावृद्धालाई सम्मान गर्दै उनले कालिकाले आवश्यक परेको खण्डमा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

देवघाट गाउँपालिका–५ का अध्यक्ष एलबहादुर गुरुङले देवघाट वृद्धाश्रममा लत्ताकपडाभन्दा पनि स्वास्थ्योपचारको आवश्यकता रहेको बताए । ‘हामीलाई लत्ताकपडा आवश्यक छैन, तत्कालका लागि वृद्धवृद्धाको उपचार गर्न समस्या छ,’ उनले भने, ‘हामीलाई सहयोग गर्नुहुन्छ भने स्वास्थ्योपचारका कार्यक्रम ल्याइदिन हामी सहयोगदातालाई आग्रह गर्छौं ।’

देवघाट क्षेत्र विकास समितिबाट सञ्चालित वृद्धाश्रममा हाल ३३ जना वृद्धवृद्धाले आश्रय लिइरहेका छन् । आगामी दिनमा ५० जनालाई आश्रय दिने लक्ष्य रहेको गुरुङले बताए । पछिल्ला वर्षमा वृद्धाश्रममा देवघाट क्षेत्र विकास समिति, देवघाट गाउँपालिका तथा प्रदेश सरकारको सहयोगमा फर्निचर तथा शौचालय व्यवस्थित बनाइएको उनले बताए ।

कालिकाले १७औँ वार्षिकोत्सवमा विभिन्न क्षेत्रलाई लक्षित गरी १४ वटा कार्यक्रम तय गरेको छ । यस वर्ष नयाँ कार्यक्रमका रूपमा महिला हिंसा तथा चेलिबेटी बेचबिखनविरुद्ध अन्तरक्रिया कार्यक्रम र लागुऔषध प्रयोगकर्ताको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम कालिकाले थप गरेको छ ।

कालिका म्युजिक अवार्ड, बृहत् राष्ट्रिय लोकदोहोरी तथा विविध सांस्कृतिक महोत्सव, राष्ट्रिय पञ्चै तथा सारंगी गन्धर्व बाजा प्रतियोगिता, शिक्षक तथा प्राध्यापकलाई लक्षित गर्दै फुटसल प्रतियोगिता, अन्तरसहकारी महिला हाजिरीजवाफ प्रतियोगिता, कृषक समूहबीच हाजिरीजवाफ प्रतियोगिता, श्रष्टा, सिर्जना र संवाद कार्यक्रम, अन्तरकर्मचारी प्रतियोगितालगायत कार्यक्रम वार्षिकोत्सवअन्तर्गत सञ्चालन हुनेछन् । यस वर्ष प्रदान गरिने १५औँ संस्करणको कालिका म्युजिक अवार्ड ३० विधामा प्रदान गरिने आयोजकले जनाएको छ । कालिकाको वार्षिकोत्सव विशेष कार्यक्रम ३० असोजमा समापन हुनेछ ।

आश्रमका ज्येष्ठनागरिक अगमप्रसाद लामिछानेलाई प्रमुखअतिथि बनाइएको कार्यक्रममा पुरानो मेडिकल कलेज भरतपुरका जनसम्पर्क अधिकृत दुर्गाप्रसाद न्यौपाने, देवघाट क्षेत्र विकास समितिका सदस्य किरण सुवेदीलगायतले कालिका मिडियालाई १७औँ वार्षिकोत्सवको सफलताको शुभकामना दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय