नर्भिकमा नेपाली शल्यचिकित्सक टोलीलाई तौल कम गर्ने जटिल शल्यक्रियामा सफलता, के हो यो शल्यक्रिया ?

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा नेपाली शल्यचिकित्सक टोलीले अस्वाभाविक वा ज्यादा मोटोपन कम गर्ने जटिल शल्यक्रिया सम्भव बनाएको छ । जनरल, जिआई एन्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकहरूको टोलीले नर्भिकमा हालै अस्वाभाविक मोटोपनका कारण सिर्जित उच्च रक्तचाप र अब्स्ट्रक्टिभ स्लिप अप्निया रोगले पीडित ६५ वर्षीया एक महिलामा उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो । यससँगै अस्पतालले मोटोपन कम गर्ने जटिल शल्यक्रिया सेवाको सुरुवात गरेको हो ।

ललितपुरको इमाडोलनिवासी श्रीमती अञ्जु बुढाथोकी विगत लामो समयदेखि मोटोपनको समस्याबाट पीडित थिइन् । उनमा डिँडडुल गर्न गाह्रो हुने, रक्तचाप बढेर १६०/९० भन्दा तल नझर्ने, अलिकति हिँड्दा पनि स्वाँ–स्वाँ हुनेजस्ता समस्या त छँदै थिए, त्यसमाथि राति निद्रा नपर्ने समस्याले उनलाई बढी नै सताएको थियो । साथै, उनमा राति तारन्तार पिसाब फेर्न गइरहनुपर्ने अर्को विकराल समस्या पनि थियो । कैयौँ हस्पिटलको चक्कर काट्दा पनि समस्या ज्युँका त्युँ रहेपछि उनी नर्भिक आइपुगेकी थिइन् ।
केही समयपूर्व उनी नर्भिकको जनरल, जिआई एन्ड ल्यापारोस्कोपिक सर्जरी विभागमा परामर्शका लागि आइपुगिन् । अब्स्ट्रक्टिभ स्लिप अप्निया (राति घुर्ने र निद्रा नपर्ने) समस्याका लागि नर्भिकका वरिष्ठ श्वास–प्रश्वास रोग विशेषज्ञ प्रा.डा. रमेश चोखानीसँगको परामर्शपश्चात् जिआई एन्ड ल्याप्रोस्कोपिक शल्यचिकित्सकहरूको टोलीसँगको उनी परामर्शमा रहिन् ।

स्लिभ ग्यास्ट्रेक्टोमी एउटा शल्यक्रियात्मक प्रक्रिया हो, जसले आमाशयमा खाना अट्ने क्षमता कम गर्छ । यस प्रक्रियामा आमाशयको करिब ७५ प्रतिशत भाग हटाइन्छ र आमाशयलाई नली आकारमा परिवर्तन गरिन्छ, ताकि त्यहाँ कम मात्रै खाना अट्न सकोस् ।

‘सुरुमा निर्णय लिन निकै गाह्रो पर्यो, तर शल्यचिकित्सकको टोलीको लगातार परामर्श र सहयोगपछि शल्यक्रिया गर्ने निर्णयमा पुगेँ,’ सफल शल्यक्रियापछि उनले भनिन् ।

अञ्जुमा हिँडडुल गर्न नसक्नु, श्वास–प्रश्वासमा समस्या हुनु, निद्रा नपर्नु, रक्तचाप बढ्नु, राति तारन्तार पिसाब फेर्न गइरहन पर्नुजस्ता समस्या अश्वाभाविक मोटोपनबाटै सिर्जित भएका थिए । तसर्थ, मोटोपन कम नगरिएसम्म उनमा प्रभावकारी उपचारको सम्भावना नभएको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ । त्यसैले पारिवारिक सरसल्लाहपश्चात् मोटोपनको शल्यक्रिया गराउन अञ्जु तयार भएकी थिइन् ।

अञ्जुको पित्तथैलीमा स–साना तर धेरै संख्यामा पत्थरी (मल्टिपल कोलिलिथियासिस) पनि थिए, जसको पनि उपचार गराउनुपर्ने आवश्यकता उनमा थियो । सोहीअनुरूप एक साताअघि २५ भदौमा अञ्जु नर्भिकमा भर्ना भइन् । २६ भदौमा उनका दुवै शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरियो । शल्यक्रियापूर्व हस्पिटलमा भर्ना हुँदा उनको तौल ९० केजी । अहिलो उनको तौल ८५ केजीमा झरिएको छ र विएमआई ४१ भएको छ । अञ्जु मंगलबार साँझ अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

बेरियाट्रिक शल्यक्रिया (जसलाई तौल कम गर्ने शल्यक्रिया वा मेटाबोलिक (चयापचय) शल्यक्रिया पनि भनिन्छ) विशेषतः ज्यादा मोटोपन भएका (बिएमआई ३५ प्रतिकेजीभन्दा बढी) कारण सिर्जित मधुमेह, उच्च रक्तचाप, अब्स्ट्रक्टिभ स्लिप अप्नियालगायत डिसलिपिडिमियाजस्ता मुटुजन्य रोग र निःसन्तान वा बाँझोपनजस्ता समस्याको उपचार गर्ने गरिन्छ । यसखाले शल्यक्रियाबाट केवल शारीरिक तौल कम हुने मात्र नभई उल्लेखित चिकित्सकीय समस्याको न्यूनीकरण वा निराकरणमा समेत सहयोग पुग्छ ।

नर्भिकको जनरल, जिआई एन्ड ल्याप्रोस्कोपिक शल्यक्रिया विभागले ल्याप्रोस्कोपिक कोलो–रेक्टल शल्यक्रिया, ल्याप्रोस्कोपिक हर्निया शल्यक्रिया, ल्याप्रोस्कोपिक इन्टेस्टाइनल शल्यक्रिया (पित्तथैली, एपेन्डिक्स र सानो आन्द्राका विविध शल्यक्रिया), पेट÷आमाशय, प्यांक्रियाजका शल्यक्रिया तथा ल्याप्रोस्कोपिक लिभर (कलेजो) शल्यक्रिया सफलताका साथ नियमित रूपमा गर्दै आएको छ ।

बेरियाट्रिक शल्यक्रिया (जसलाई तौल कम गर्ने शल्यक्रिया वा मेटाबोलिक (चयापचय) शल्यक्रिया पनि भनिन्छ) विशेषतः ज्यादा मोटोपन भएका (बिएमआई ३५ प्रतिकेजीभन्दा बढी) कारण सिर्जित मधुमेह, उच्च रक्तचाप, अब्स्ट्रक्टिभ स्लिप अप्नियालगायत डिसलिपिडिमियाजस्ता मुटुजन्य रोग र निःसन्तान वा बाँझोपनजस्ता समस्याको उपचार गर्ने गरिन्छ ।

यस्ता तमाम शल्यक्रियात्मक उपचार विश्वसनीय रूपमा स्वदेशमै र सर्वसुभल रूपमा उपलब्ध हुन थालेपश्चात् स्तरीय शल्यक्रियाका लागि अथाह धनराशि खर्चिएर विदेश धाउनुपर्ने बाध्यता अब नरहेको शल्यक्रिया टोलीका सदस्य डा. प्रकाश चौधरीले बताए ।

के हो ल्याप्रोस्कोपिक स्लिभ ग्यास्ट्रेक्टोमी शल्यक्रिया ?
स्लिभ ग्यास्ट्रेक्टोमी एउटा शल्यक्रियात्मक प्रक्रिया हो, जसले आमाशयमा खाना अट्ने क्षमता कम गर्छ । यस प्रक्रियामा आमाशयको करिब ७५ प्रतिशत भाग हटाइन्छ र आमाशयलाई नली आकारमा परिवर्तन गरिन्छ, ताकि त्यहाँ कम मात्रै खाना अट्न सकोस् ।

अञ्जुको सफलतम शल्यक्रियात्मक उपचार नर्भिकका वरिष्ठ जनरल, जिआई एन्ड ल्याप्रोस्कोपिक सर्जन प्रा.डा. मुकुन्दराज जोशीको टोलीले गरेको थियो । उनी नेतृत्वको टोलीमा डा. सञ्जय पौड्याल, डा. टंकप्रसाद बोहरा, डा. प्रकाश चौधरी र एनेस्थेसियोलोजिस्ट डा. सुरेश लामिछानेको संलग्नता थियो । शल्यक्रियापश्चात् अञ्जुलाई एक दिन आइसियूमा राखेपछि वार्डमा सारियो ।

यसअघि पनि नर्भिकमा यसखाले शल्यक्रिया नभएका भने होइनन् । तर, यसअघिका शल्यक्रियामा विदेशी विशेषज्ञहरूको प्रत्यक्ष निगरानी र संलग्नता रहँदै आएको थियो । नर्भिकमा नेपाली चिकित्सक टोलीको मात्र संलग्नतामा गरिएको यसखाले सफलतम शल्यक्रिया भने यो नै पहिलो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय