अमेरिकामा हुने प्रथम विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पूरा, उपप्रधानमन्त्री यादवले शनिबार उद्घाटन गर्ने

निश्चल अधिकारी
प्रकाशित
२०७६ असोज १ गते १४:५४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा यसै साता संयुक्त राज्य अमेरिका (युएसए) को एटलान्टा सहरमा प्रथम विश्व नेपाली स्वास्थ्य सम्मेलनको आयोजना हुँदै छ । ‘ग्लोबल नेपाली हेल्थ कन्फरेन्स’ नाम दिइएको सम्मेलन २० देखि २२ सेप्टेम्बरसम्म चल्नेछ । सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गर्ने सम्मेलनका संयोजक तथा एनआरएनए आइसिसीका ग्लोबल हेल्थ एन्ड हाइजिन कमिटीका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए । एनआरएनए आइसिसीको आगामी महिना नेपालमा हुने वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा हुन लागेको पहिलो विश्व स्वास्थ्य सम्मेलनलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

मन्त्री यादव नेपाल सरकारको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आजै (बुधबार) अमेरिका प्रस्थान गर्दै छन् । सोहीक्रममा मन्त्री यादवले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रमसमेत तय भएको उनको निजी सचिवालयले जनाएको छ । शुक्रबार सुरु हुने सम्मेलनको औपचारिक उद्घाटन भने मन्त्री यादवले २१ सेप्टेम्बरमा (शनिबार) गर्नेछन् । त्यसका लागि मन्त्री यादव बिहीबार नै सम्मेलनस्थल एटलान्टा पुग्ने र शनिबारसम्म सम्मेलनमा सहभागी हुनेछन् । मन्त्री यादव शनिबार नै महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्ने कार्यतालिका छ । २२ र २३ सेप्टेम्बरमा मन्त्री यादव महासभाको बैठकमा सरिक हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नेपालभित्र र बाहिर रहेका नेपालीको स्वास्थ्यसित प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राख्ने व्यक्ति, संस्था तथा निकायहरूबीच समन्वय र सहकार्य स्थापित गर्दै सूचना आदान–प्रदान गर्ने मूल उद्देश्यका साथ पहिलो ऐतिहासिक सम्मेलनको आयोजना गर्न लागिएको संयोजक डा. सापकोटा बताउँछन् । उनका अनुसार सम्मेलनमा युएसएसहित न्युजिल्यान्ड, क्यानडा, नेपाल, अस्ट्रेलिया, दक्षिण कोरियालगायत विश्वका विभिन्न राष्ट्रबाट डाक्टर, नर्स, स्वास्थ्य प्राविधिक, अन्य स्वास्थ्यकर्मी, एनआरएनए अभियन्ता तथा सर्वसाधारण नेपालीको उपस्थिति रहनेछ ।

‘ऐतिहासिक सम्मेलनको सबै तयारी पूरा गरिसकेका छौँ,’ संयोजक डा. सापकोटाले भने, ‘अब माननीय उपप्रधान एवम् स्वास्थ्यमन्त्रीबाट उद्घाटनको मात्र प्रतीक्षा छ ।’ सम्मेलनमा अमेरिकासहित विश्वभरबाट ३ सयको हाराहारीमा प्रतिनिधिले भाग लिने संयोजक डा. सापकोटाको अनुमान छ ।

करिब २ दर्जन अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत हुने, एटलान्टा घोषणापत्र जारी गरिने
सम्मेलनमा जनस्वास्थ्य तथा वैज्ञानिक सनुसन्धानसम्बन्धी करिब २ दर्जन अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत हुने सम्मेलनका वैज्ञानिक कमिटी प्रमुख सत्य चौधरीले जानकारी दिए । उनका अनुसार प्रस्तुत गरिने सबै कार्यपत्र विश्वभर छरिएका नेपालीको स्वास्थ्यसँग सम्बन्धित हुनेछन् ।

सम्मेलनमा युनिभर्सिटी अफ क्यालिफोर्निया, सनफ्रान्सिस्कोका असिस्टेन्ट प्रोफेसर डा. तारा सिग्देल, युनिभर्सिटी अफ क्यालिफोर्निया, डेभिसका रिटायर्ड रिसर्च साइन्टिस्ट डा. पीताम्बर दाहाल, युनिभर्सिटी अफ नर्थ टेक्सासका असिस्टेन्ट प्रोफेसर डा. एन्ड्र्यु नेल्सन, मोर्गन स्टेट युनिभर्सिटीका एसोसिएट प्रोफेसर डा. उत्तम गाउँले, मायामी इन्टरनेसनल युनिभर्सिटीका प्रोफेसर डा. चूडामणि खनालले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसैगरी, प्रा.डा. अच्युत शर्मा, अमेरिका–नेपाल फाउन्डेसनका अध्यक्ष डा. सन्तोष सापकोटा, हेल्थ फाउन्डेसन नेपालका कार्डियोलोजिस्टद्वय डा. मनोज भण्डारी र डा. यशस्वी पोखरेल तथा जाजरकोट जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चाँदनी जैसवालले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको संयोजक डा. सापकोटाले जानकारी दिए । उनका अनुसार जेभिया फाउन्डेसनका अध्यक्ष लाउरा स्पेरो, केही नर्स, स्वास्थ्यकर्मी तथा मेडिकल विद्यार्थीले समेत कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनले नेपाल सरकारका घोषित कार्यक्रमलाई समेत सहयोग पुर्याउने आयोजकको दाबी छ । नेपालीको विश्वव्यापी स्वास्थ्यका समस्या र अवसरका साथै नेपाल सरकारको ‘ब्रेन गेन’ प्रोजेक्टबारे सम्मेलनमा बृहत् छलफल तथा प्यानल डिस्कसन हुने बताइएको छ ।

सम्मेलनमा प्रस्तुत कार्यपत्रहरूमाथि गहन समूहगत छलफल, अन्तरक्रिया, विचारविमर्शबाट प्राप्त निष्कर्षलाई समेटेर सम्मेलनको अन्तमा ‘एटलान्टा विश्व नेपाली स्वास्थ्य घोषणापत्र’ जारी गरिने क्यालिफोर्निया विश्वविद्यालयका डा. तारा सिग्देलले जानकारी दिए । उनका अनुसार २२ सेप्टेम्बरमा घोषणापत्र जारी गर्दै ३ दिने ऐतिहासिक सम्मेलनको समापन हुनेछ ।

स्वास्थ्य गतिविधिसमेत सञ्चालन गरिने
सम्मेलनमा छलफल तथा अन्तरक्रियाका अतिरिक्त सामान्य स्वास्थ्यजाँच, ल्याब परीक्षण, योगाभ्यास, ध्यान, ताइची, दौड, वाकिङ, माउन्टेन हाइकिङ, सिपिआर, एइडीतालिमलगायत स्वास्थ्यसँग जोडिएका विभिन्न गतिविधिको समेत अभ्यास गरिने संयोजक डा. सापकोटा बताउँछन् । उनका अनुसार सम्मेलन मूलतः नेपालीले विदेशमा सिकेका स्वास्थ्यसम्बन्धी ज्ञान, सीप, प्रविधि तथा अनुभवलाई कसरी स्वदेश तथा विदेशमा बस्ने नेपालीको हितमा उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहनेछ ।

‘सम्मेलनको सुरुवात वाकिङ र रनिङबाट हुनेछ,’ सम्मेलनकी कार्यक्रमतालिका प्रमुख सिर्जना खतिवडा शर्माले भनिन्, ‘तत्पश्चात् स्वास्थ्य महोत्सव, निःशुल्क स्वास्थ्य परीक्षण, रक्त संकलन सिपिआरलगायत अन्य कार्यक्रम अघि बढाइनेछ ।’

मिस नेपाल नर्थ अमेरिका तथा युवा स्वास्थ्य अभियन्ता श्रियाको सक्रिय सहभागिता
शुक्रबार उपप्रधानमन्त्री यादवले उद्घाटन गर्ने ३ दिने सम्मेलनमा युवा स्वास्थ्य जागरण अभियन्ता तथा हालसालै घोषित मिस नेपाल नर्थ अमेरिका श्रिया गजुरेलको सक्रिय सहभागिता रहनेछ । उद्घाटन समारोहको कार्यक्रम सञ्चालन उनीबाटै हुने संयोजक सापकोटाले जानकारी दिए । सम्मेलनमा गजुरेलले युवा स्वास्थ्यबारे मन्तव्य राख्ने कार्यक्रमसमेत रहेको डा. सापकोटाको भनाइ छ ।
सम्मेलनमा अमेरिकाका विभिन्न संघ–संस्थामा आबद्ध चिरपरिचित व्यक्तित्वहरू सुनील शाह, अर्जुन बन्जाडे, प्रमिला बस्नेत, डा. उत्तम गौली, डा. अच्युत शर्मा, डा. सन्तोष सापकोटा, डा. रुद्र अर्याल, पशुपति पाण्डेलगायतको सक्रिय सहभागिता रहने आयोजकले जनाएको छ ।

सम्मेलनमा अमेरिकन संघ–संस्थाको समेत साथ
पहिलो विश्व नेपाली स्वास्थ्य सम्मेलनलाई सफल बनाउन अमेरिकी सरकारी तथा गैरसरकारी संघ–संस्थाले समेत सहयोग गरेका छन् । अमेरिकी सरकारको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी), सोसाइटी फर अमेरिकन–नेप्लिज नर्स (एसएएनएन), ब्लड डोनर्स अफ अमेरिका, नेपाली कल्चर सेन्टर (एनसिसी) एटलान्टा, नेप्लिज एसोसिएसन अफ जर्जिया (एनएजी), ग्रेटर एटलान्टा वैदिक मन्दिर (जिएभिटी), स्टार स्कोलार नेटवर्कलगायतको साथ र सहयोग रहेको संयोजक डा. सापकोटाले जानकारी दिए ।

अक्टोबरमा एनआरएनएको वार्षिक साधारणसभा
एनआरएनए आइसिसीको वार्षिक साधारणसभा आगामी अक्टोबरमा नेपालमा हुँदै छ । नयाँ कार्यसमितिको समेत चयन हुने साधारणसभाको पूर्वसन्ध्यामा आयोजना गरिएको उक्त सम्मेलनमा स्वास्थ्य प्रोफेसनल, एनआरएनए अभियन्ताहरू, विश्वभर छरिएर रहेका नेपालीको उपस्थिति रहनेछ भने एनआरएनए आइसिसीको आगामी कार्यसमितिका निर्वाचित हुन इच्छुक उम्मेदवारका लागि यो सम्मेलनले विशेष महत्त्व राख्नेछ ।

‘पहिलो ग्लोबल नेपाली हेल्थ कन्फरेन्स’मा गैरआवासीय नेपाली विशेषज्ञहरूले गहन छलफल गरेर तयार पारेको एटलान्टा घोषणापत्रको सन्देश लिएर एनआरएनए आइसिसीको वार्षिक साधारणसभामा भाग लिन पाउनु गैरआवासीय नेपालीका लागि गौरवको विषय हुनेछ,’ एनआरएनए अमेरिकाकी निवर्तमान उपाध्यक्ष राधा पौडेलले भनिन् ।

यसअघि आयोजक समितिले सम्मेलनमा भाग लिन चाहने प्रतिनिधिका लागि नाम रजिष्ट्रेसन गर्न, कार्यपत्र प्रस्तुत गर्नका लागि एब्स्ट्र्याक्ट बुझाउन, होटेल बुक गर्न तथा सोभेनियरमा आफ्ना लेख–रचना छपाउनका लागि अनलाइन सुविधा उपलब्ध गराएको थियो । उल्लेखित प्रयोजनका लागि एनआरएनए आइसिसीको आधिकारिक वेबसाइट https://nrna.org/Our-Work/Global-Health-Hygiene-Committee को प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र नेपालभित्र र बाहिर रहेका नेपालीको स्वास्थ्य सुधारमा केन्द्रित र अनुसन्धानात्मक हुनुपर्ने सर्त आयोजकले राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय