आन्दोलनरत मेडिकल विद्यार्थीले मागे शिक्षामन्त्रीको राजीनामा, लाचार भएर मेडिकल माफियाको मतियार बनेको आरोप
नारायणगढस्थित चितवन मेडिकल कलेजमा पछिल्लो ३ सातादेखि पढाइ ठप्प पारेर आन्दोलनमा उत्रिएका विद्यार्थीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् । मन्त्री र कलेज सञ्चालकप्रति निकै आक्रोशित देखिएका विद्यार्थीले आन्दोलनलाई देशव्यापी रूपमा चर्काउ घोषणा गरेका छन् । गत साता विद्यार्थीको शान्तिपूर्ण धर्नामा कलेज प्रशासनको इसारामा प्रहरीले हस्तक्षेप गर्दा शिक्षणसंस्था रणमैदानमा परिणत भएको थियो ।
सरकारले तोकेभन्दा बढी शुल्क नतिर्ने र कलेजले अवैध रूपमा लिँदै आएको शुल्क फिर्तालगायत विभिन्न शैक्षिक सुधारका मागसमेत विद्यार्थीको छ । विद्यार्थीले प्रस्तुत गरेका मागलाई बेवास्ता गर्दै कलेज प्रशासन प्रशासनले सूचना टाँस गरी कलेज बन्द गरेको छ ।
सोमबार चिकित्साशिक्षा संघर्ष समिति तथा चितवन मेडिकल कलेजका सम्पूर्ण विद्यार्थीले संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षामन्त्री पोखरेलको राजीनामा मागेका हुन् । मन्त्री पोखरेलले आफैँले दिएको अवैध शुल्क फिर्ताको निर्देशन कार्यान्वयन गर्न नसकेकाले उनले पदमा बसिरहन नैतिकताले पनि नमिल्ने विद्यार्थीको भनाइ छ ।
‘आफैँले दिएको शुल्कफिर्तासम्बन्धी निर्णय कार्यान्वयन गराउन नसक्ने तपाईंजस्तो लाचार मानिस पदमा बसिरहन कसरी मिल्छ ?’ आन्दोलनरत विद्यार्थीले मन्त्री पोखरेललाई प्रश्न गरेका छन्, ‘मन्त्री पदको गरिमा यही हो ?’
‘अर्बौंको आर्थिक अपराध गर्ने अपराधीहरूलाई जेल हालेर कारबाही गर्नुपर्नेमा तपाईंले बिचौलिया बनेर कानुनको धज्जी उडाउँदै मिलाउन खोज्नुभयो’
मेडिकल माफियाको मतियार बनेको आरोप, मन्त्रीले लाचार बन्न नसुहाउने
विद्यार्थीबाट अर्बौं अवैध असुलेर शोषण गर्ने मेडिकल माफियालाई कारबाही गर्नुको साटो मन्त्री पोखरेल उल्टै उनीहरूको मतियार बनेको आरोप विद्यार्थीको छ । ‘अर्बौंको आर्थिक अपराध गर्ने अपराधीहरूलाई जेल हालेर कारबाही गर्नुपर्नेमा तपाईंले बिचौलिया बनेर कानुनको धज्जी उडाउँदै मिलाउन खोज्नुभयो,’ विद्यार्थीको विज्ञप्तिमा भनिएको छ, ‘वर्षौंदेखि असुलिएको अवैध अतिरिक्त रकम फिर्ता हुन्छ भने ठिकै छ भनेर हामीले त्यसलाई स्विकार्यौँ पनि । तर, अब त आर्थिक अपराध, ठगी र कालोबजारी मात्रै भएन, मन्त्री तथा दुवै विश्वविद्यालयको सहकुलपतिको निर्देशनको सरासर उल्लंघन भयो । तपाईं लाचार र निकम्मा हो कि माफियाको अनुचित आर्थिक लाभमा फसेको ? हामी यसको जवाफ चाहन्छौँ ।’ शिक्षामन्त्रीले माफी माग्दै पदबाट राजीनामा दिनुपर्ने विद्यार्थीको माग छ ।
जति अन्याय सहनु सहियो, अब सहँदैनौँ
विद्यार्थीले यसपटक अहिलेसम्म आन्दोलन नभएका देशभरका मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीलाई समेत अन्याय सहेर नबस्न आह्वान गरेका छन् । अहिलेसम्म जेजति अन्याय सहे पनि अब भने अन्याय सहेर नबस्ने विद्यार्थीको अठोट छ । विद्यार्थीले अबको आन्दोलन कुनै अमूक कलेजका विरुद्ध नभएकाले न्यायका लागि आ–आफ्ना कलेजविरुद्ध आन्दोलनमा उत्रिन सम्पूर्ण मेडिकल विद्यार्थीलाई आह्वान गरेका छन् ।
सरकारले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीको शुल्क उपत्यकाबाहिरका लागि ४२ लाख ४५ हजार तोकेको छ । तर, कलेजले ५४ लाखभन्दा बढी उठाउने गरेका छन् । मन्त्रिपरिषद्ले बिडिएसका लागि १९ लाख रूपैयाँ शुल्क तोके पनि कलेज विद्यार्थीसँग २६ लाख रूपैयाँसम्म असुल्ने गरेका छन् । त्यसमा पनि कलेजले विद्यार्थीपिच्छे मोलमोलाईमा असमान शुल्क उठाउँदै आएका छन् । विद्यार्थीबाट पटक–पटक आवाज उठेपछि गठित छानबिन समितिहरूले पनि यसको सत्यता पुष्टि गरिसकेका छन् । सरकारका विभागीय मन्त्रीले अवैध शुल्क फिर्ता गर्न निर्देशनसमेत दिइसकेका छन् । तैपनि शुल्क फिर्ता र अवैध असुली बन्द हुन सकेको छैन । यसबाट मेडिकल माफियाको जालो कति मजबुत छ भन्ने स्पष्ट अनुमान लगाउन सकिन्छ ।