आइओएम डिनमाथि दुर्व्यवहारको चौतर्फी निन्दा, दोषीलाई ४८ घण्टाभित्र कारबाही नगरे आन्दोलनमा उत्रिने फ्याकल्टी डक्टर्स एसोसिएसनको चेतावनी

हेल्थपोस्ट नेपाल

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालमाथि आइतबार भएको दुर्व्यवहारको चौतर्फी निन्दा भएको छ । झुक्याएर डिनको कार्यकक्षमै गई डा. अग्रवालमाथि गरिएको आक्रमणको चिकित्सक तथा स्वास्थ्यकर्मीका विभिन्न संघ–संगठनले घोर भर्त्सना गरेका छन् । दोषीलाई अविलम्ब पक्रिई हदैसम्मको सजाय दिनुपर्ने उनीहरुको माग छ । आइतबार पत्रकार हुँ भन्दै अन्तर्वार्ताका लागि दिउँसो २ बजेको समय लिएर कुराकानी गर्न आएका एक युवकले डा. अग्रवालमाथि एक्कासि दुर्व्यवहार गरेका थिए । डा. अग्रवालको मुख र जिउमा कालो मसी छर्किएर भागेका अभियुक्त अझै फरार छन् ।

चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए) ले घटना घटाइएकै दिन आइतबार विज्ञप्ति जारी गर्दै आफ्ना आजीवन सदस्य डा. अग्रवालमाथि घटाइएको अमानवीय घटनाको निन्दा गरेको छ । चिकित्साजस्तो मर्यादित पेसाको महत्त्वपूर्ण जिम्मेवारीमा बसेका व्यक्तिलाई अन्तर्वार्ता लिने भन्दै झुक्याएर गरिएको दुर्व्यवहार पत्रकारिताजस्तो मर्यादित पेसालाई नै कलंकित तुल्याउने दूषित मनसायका साथ भएको एनएमएको ठहर छ ।

दोषीलाई विनाधरौटी जेलचलान गर्न र स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र सोको नियमावली २०६९ मा अविलम्ब ‘विनाधरौटी जेलचलान’को व्यवस्था संशोधनमार्फत ल्याउन एनएमएले माग गरेको छ । विनाधरौटी जेलचलानको प्रावधान कानुनमा थप गर्न सहमति भएर प्रक्रिया अघि बढाइए पनि लामो समयदेखि मन्त्रिपरिषद्मा अड्किएर बसेको छ ।

त्यसैगरी, आइओएमका चिकित्सकहरुको संगठन फ्याकल्टी डक्टर्स एसोसिएसनले पनि सोमबार विज्ञप्ति जारी गर्दै डा. अग्रवालमाथिको दुर्व्यवहारको घोर भर्त्सना गरेको छ । एसोसिएसनले दोषीलाई तुरुन्त पत्ता लगाई कारबाही गर्न र भविष्यमा यस्ता घटना हुन नदिन प्रहरी प्रशासनसँग माग गरेको छ । दोषीलाई ४८ घण्टाभित्र कारबाही नगरे एसोसिएसनआबद्ध सम्पूर्ण चिकित्सकहरु आन्दोलनमा उत्रिने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।



Leave a Reply

Your email address will not be published.