डेंगुका बिरामीका लागि नर्भिकमा सुविधासम्पन्न विशेष वार्ड, रोगको शंका लागे फोन गर्न सकिने

हेल्थपोस्ट नेपाल

मुलुकभर महामारीको रुप लिइरहेको डेंगुका बिरामीको चाप बढेसँगै काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले छुट्टै वार्डको व्यवस्था गरेको छ । डेंगु संक्रमित बिरामीको विशेष व्यवस्थापन तथा उपचारका लागि उनीहरुका लागि छुट्टै वार्डको व्यवस्था गरेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार नर्भिकमा हाल १ दर्जनभन्दा बढी डेंगु ज्वरोका बिरामी उपचाररत छन् ।

‘बिरामीको चाप बढ्दो क्रममा रहेका कारण त्यस्ता बिरामीका लागि छुट्टै क्लिनिक र छुट्टै वार्डको व्यवस्था गरिएको हो,’ अस्पतालका नायबमहाप्रबन्धक आरपी मैनालीले भने । नवस्थापित विशेष वार्डमा हालका लागि सुविधासम्पन्न ६ वटा शय्याको व्यवस्था गरिएको उनले जानकारी दिए । मैनालीका अनुसार विशेष वार्डमा डेंगु हेल्प डेस्क र डेंगुका बिरामीको शीघ्र तथा उपयुक्त रेखदेख, व्यवस्थापन एवम् उपचारका लागि छुट्टै हेल्पलाइनको समेत व्यवस्था गरिएको छ ।

विशेष वार्डमा सहुलियतपूर्ण दररेटमा सेवा उपलब्ध गराइने अस्पतालको भनाइ छ । अस्पतालका अनुसार उक्त वार्डमा २४सै घण्टा चिकित्सक तथा नर्सिङ स्टाफ बिरामीको सेवामा हाजिर रहनेछन् । डेंगु परीक्षणका लागि आवश्यक किटसमेत विशेष सहुलियत दरमा उपलब्ध गराउने अस्पतालले जनाएको छ । कसैलाई डेंगु ज्वरो भएको शंका लागेमा अस्पतालको हटलाइनमा सम्पर्क गर्न सकिने र अस्पतालले तुरुन्त सेवा उपलब्ध गराउनेसमेत अस्पतालले जनाएको छ । त्यसका लागि अस्पतालले मोबाइल नम्बर ९८०१२४७७५० मा सम्पर्क गर्न भनेको छ ।



Leave a Reply

Your email address will not be published.