२३औँ वर्ष पार गर्दा बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र आत्मनिर्भर, वार्षिक १ लाख ३४ हजारलाई सेवा

हेल्थपोस्ट
प्रकाशित
२०७६ भदौ २४ गते १९:४०

बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रले स्थापनाको २३ वर्ष पूरा गरेको छ । तेस्रो दशकमा सेवा दिइरहँदा केन्द्र आय–व्ययका हिसाबले आफैँमा आत्मनिर्भर बनेको छ । आर्थिक वार्ष ०७५/७६ मा केन्द्रले कुल वार्षिक खर्चभन्दा झन्डै १ करोड रुपैयाँ बढी आफ्नै आम्दानी गरेको केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

बिपी जयन्तीको अवसर पारेर महाराजगन्जस्थित केन्द्रपरिसरमा मंगलबार आयोजित समारोहबीच केन्द्रले २३औँ वार्षिकोत्सव तामझामका साथ मनाएको छ । त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष तथा निमित्त उपकुलपति प्रा. डा. सुधा त्रिपाठीको प्रमुख आतिथ्यमा केन्द्रले समाजवादी विचारक एवम् नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको १०५औँ जन्मजयन्ती तथा संस्थाको २३औँ स्थापना दिवस मनाएको हो । कार्यक्रममा केन्द्रले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

वार्षिक १ लाख ३४ हजारलाई सेवा, १०,१६९ शल्यक्रिया
केन्द्रबाट गत आर्थिक वर्ष २०७५/०७६ मा केन्द्रबाट कुल १ लाख ३४ हजार ७ सय ८७ जनाले सेवा लिएको केन्द्रका प्रशासन प्रमुख टेकबहादुर कार्कीले जानकारी दिए । गत आवमा ८२ हजार ५ सय १५ जनाले केन्द्रबाट अन्तरंग सेवा लिएको केन्द्रले जनाएको छ । यस अवधिमा केन्द्रले ५ हजार ४४ जनाको केन्द्रमै आँखाको सर्जरी गरेको छ भने अन्य विभिन्न स्थानमा गरी कुल १० हजार १ सय ६९ जनाको शल्यक्रिया गरेको केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. आनन्दकुमार शर्माले जानकारी दिए । गत आवमा केन्द्रमा इएचएसतर्फ १० हजार ७ सय ६, सबस्पेसियालिटी क्लिनिकल सेवा ४ हजार १ सय ८९, कम्युनिटी ओटीमा १ सय ६१, स्याटेलाइट क्लिनिकमा ५ हजार ६ सय १५, स्क्रिनिङ क्याम्पमार्फत १ हजार ६ सय ९६ र सर्जिकल क्याम्पमार्फत २ हजार ३ सय २७ बिरामीले सेवा लिएका थिए । यस अवधिमा केन्द्रले २ सय ७१ बिरामीलाई भर्ना गरेर उपचार सेवा दिएको वार्षिक प्रतिवेदनले देखाएको छ ।

नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. तीर्थप्रसाद मिश्रले आँखा उपचारमा नेपाल धेरै अगाडि रहेको बताए । ‘नेपालमा केही वर्षअघि अन्धोपन ०.८४ प्रतिशत भएकोमा हाल उक्त संख्या घटेर ०.३५ प्रतिशतमा आएको छ,’ डा. मिश्रले भने, ‘अहिले पनि ठूलो जमात भारतबाट उपचारका लागि नेपाल आउने गरेको छ । यस संस्थाले सार्क मुलुकलगायत विश्वमै नेपालको गरिमा बढाएको छ ।’

केन्द्रबाट ९ करोड आम्दानी, कुल आय १३ करोड १५ लाख, कुल खर्च ८ करोड ७६ लाख
आर्थिक वर्ष ०७५÷७६ मा केन्द्रका लागि त्रिभुवन विश्वविद्यालयले कुल १ करोड ३७ लाख ४० हजार ८ सय ५२ रुपैयाँ बजेट निकासा गरेको थियो । यस अवधिमा केन्द्र आफैँले ९ करोड ६० लाख ६३ हजार ३ सय ९ रुपैयाँ आम्दानी गरेको छ । त्यसैगरी, ३ करोड ५५ लाख २ हजार ३ सय ८९ रुपैयाँ केन्द्रले अन्य स्रोतबाट आर्जन गरेको छ ।

व्ययतर्फ केन्द्रले गत वर्ष कुल ८ करोड ७६ लाख ९१ हजार ६ सय ९३ रुपैयाँ खर्च गरेको छ । यसमध्ये पुँजीगततर्फ २ करोड २३ लाख १० हजार ३ सय ४६ र कार्यक्रमतर्फ ६ करोड ५३ लाख ८१ हजार ३ सय ४७ रुपैयाँ केन्द्रले खर्च गरेको छ । यसरी हेर्दा केन्द्र पूर्ण रुपमा आत्मनिर्भर बनेको छ । कुल वार्षिक खर्चभन्दा बढी आफैँले आम्दानी गर्न सफल भएसँगै केन्द्रमाथि त्रिविको दायित्व नगण्य हुँदै गएको देखिन्छ ।

जनशक्ति
केन्द्रमा विभागीय प्रमुख १, अब्थाल्मोलोजी फ्याकल्टी ८, अप्टोमेट्री फ्याकल्टी ४ जना कार्यरत छन् । कर्मचारीतर्फ त्रिविअन्तर्गतका ४८ जना र अन्य ८ जना गरी जम्मा ५६ जना कार्यरत भएको प्रशासन प्रमुख कार्कीले जानकारी दिए । केन्द्रमा एमडी रेजिडेन्ट १५ जना र अप्टोमेट्री प्रशिक्षार्थी ४० जना छन् ।

५० वर्षअघि आँखाको उपचारका लागि भारत जानुपर्ने बाध्यताको स्मरण गर्दै हाल नेपालमा ६ लाख मोतीविन्दुका बिरामीमध्ये २ लाख नेपाली तथा ४ लाख भारतीय नागरिक उपचार गर्न आउने गरेको जानकारी दिए । विदेशमा समेत नेपालमा आँखाको उपचार राम्रो हुन्छ भन्ने प्रभाव पार्न केन्द्र सफल भएको उनी बताउँछन् ।

कसले के भने ?
केन्द्रले भित्री र बाहिर दुवै आँखाबाट काम गरिरहेको डा. सुधा त्रिपाठीको भनाइ छ । ‘केन्द्रले भित्री आँखाका रुपमा शैक्षिक कार्यक्रम गरिरहेको र बाहिर आँखाका रुपमा उपचारबाट सेवा प्रदान गरिरहेको छ,’ डा. त्रिपाठीले भनिन्, ‘केन्द्रले राम्रो सेवा दिन सकिरहेको खण्डमा यसको महिमा अझै बढेर जान्छ ।’

त्यसैगरी, नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. तीर्थप्रसाद मिश्रले आँखा उपचारमा नेपाल धेरै अगाडि रहेको बताए । ‘नेपालमा केही वर्षअघि अन्धोपन ०.८४ प्रतिशत भएकोमा हाल उक्त संख्या घटेर ०.३५ प्रतिशतमा आएको छ,’ डा. मिश्रले भने, ‘अहिले पनि ठूलो जमात भारतबाट उपचारका लागि नेपाल आउने गरेको छ । यस संस्थाले सार्क मुलुकलगायत विश्वमै नेपालको गरिमा बढाएको छ ।’

४ लाख भारतीय र २ लाख नेपालीको मोतीविन्दुको उपचार
कार्यक्रममा वरिष्ठ नेत्ररोग विशेषज्ञ एवं नेत्रज्योति संघका पूर्वअध्यक्ष प्रा.डा. रामप्रसाद पोखरेलले बिपी कोइराला लायन्स नेत्र अध्ययन प्रतिष्ठानले नेपालबाट ट्रकोमा (खस्रेरोग) उन्मूलन गराउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । केन्द्रले हालसम्म ६ लाख मोतीविन्दुका बिरामीको सफल शल्यक्रिया गरेको डा. पोखरेलले जानकारी दिए । पोखरेलले ५० वर्षअघि आँखाको उपचारका लागि भारत जानुपर्ने बाध्यताको स्मरण गर्दै हाल नेपालमा ६ लाख मोतीविन्दुका बिरामीमध्ये २ लाख नेपाली तथा ४ लाख भारतीय नागरिक उपचार गर्न आउने गरेको जानकारी दिए । विदेशमा समेत नेपालमा आँखाको उपचार राम्रो हुन्छ भन्ने प्रभाव पार्न केन्द्र सफल भएको उनी बताउँछन् ।

नेपालमा मात्रै नभई विश्वका जुनसुकै क्षेत्रमा केन्द्रबाट उत्पादित जनशक्ति कार्यरत रहेको निर्देशक आनन्दकुमार शर्मा बताउँछन् । केन्द्रले हालसम्म करिब ६५ रिसर्च पेपर प्रकाशन गरेकोमा ३६ रिसर्च पेपर अन्तर्राष्ट्रिय जर्नलहरुमा समेत प्रकाशित छन् । केन्द्रले आँखा सेवाअन्तर्गत ओपिडी तथा इमर्जेन्सी दुवै प्रकारका सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय