बुटवल उपमहानगर कार्यालयपरिसर नै डेंगुको घर, ४ कर्मचारी संक्रमित, नगरभर निःशुल्क परीक्षण गराइँदै

बुटवल उपमहानगरपालिकाको कार्यालयपरिसर नै डेंगुको घर भएको रहस्य बाहिर आएको छ । उपमहानगर क्षेत्रभित्र फेलापरेका ४० जना डेंगुका बिरामीमध्ये पाँचजना नगरपालिका कार्यालयपरिसरभित्रका भेटिएपछि यस्तो खुलासा भएको हो ।

कार्यालयपरिसरभित्र भेटिएका ५ जना डेंगु संक्रमितमा ४ जना कर्मचारी हुन् भने १ जना पालिका कार्यालयभित्रको क्यान्टिनका सञ्चालक हुन् । त्यसमा ३ जना पुरुष कर्मचारी, १ जना महिला कर्मचारी क्यान्टिन सञ्चालक पुरुष छन् ।

नगरपालिका स्रोतका अनुसार डेंगु प्रभावित ५ मध्ये २ जना उपचारपछि काममा फर्किएका छन् भने बाँकी ३ जनाको उपचार भइरहेको छ । नगरपालिका कार्यालयभित्रै ५ जना डेंगुका बिरामी भेटिएपछि कर्मचारीहरू जुत्ता र पूरा बाहुला भएको कपडा लगाएर आउन थालेका छन् । उपमहानगरको पुरानो भवनको तल्लो तलामा कार्यरत कर्मचारी डेंगुको अधिक त्रासमा देखिएका छन् ।

उपमहानगरको पछाडिपट्टि रहेको झाडी, कवाडी वस्तु र नयाँ बन्दै गरेको उपमहानगरको प्रशासनिक भवन क्षेत्रबाट डेंगु फैलिएको नगरपालिकाका अधिकारीहरूको अनुमान छ । झाडी र पानी जमेको क्षेत्र भएको हुँदा त्यस क्षेत्रमा मोबिल छर्किने र सरसफाइ गर्ने काम गरेको नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख मित्रमणि खनालले बताए । उनले बुटवल उपमहानगरपालिका क्षेत्रभित्र मात्रै सोमबारसम्म ४० जना डेंगुका बिरामी भेटिएको जानकारी दिए ।

उपमहानगरका ५ स्वास्थ्यसंस्थामा डेंगुको निःशुल्क परीक्षण
जनस्वास्थ्य प्रमुुख खनालका अनुसार बुटवल उपमहानगरभित्रका ५ वटा स्वास्थ्यसंस्थाबाट निःशुल्क डेंगु परीक्षण भइरहेको छ । ती स्वास्थ्यसंस्थालाई डेंगु परीक्षण किट निःशुल्क उपलब्ध गराएर परीक्षण सेवा दिइँदै आएको उनको भनाइ छ । निःशुल्क सेवा दिँदै आएका स्वास्थ्यसंस्थामा नगर स्वास्थ्यकेन्द्र दीपनगर, सहरी स्वास्थ्य प्रवर्धन केन्द्र नयाँगाउँ, नगर स्वास्थ्यकेन्द्र बुद्धनगर, सेमलार स्वास्थ्यचौकी र मोतीपुर स्वास्थ्यचौकी छन् ।

डेंगु देखिएपछि नगरभित्रका ९५ वटा विद्यालय, १९ वटा वडा कार्यालय, ३ सयभन्दा बढी टोल विकास संस्थालाई डेंगुबारेको सचेतनाका लागि परिचालन गरिएको खनालको भनाइ छ । सचेतना कार्यक्रमअन्तर्गत नगर प्रहरीबाट माइकिङ गर्ने, पत्रपत्रिका, रेडियो, टेलिभिजनबाट सूचना प्रसार गर्ने काम भइरहेको उनले बताए ।

मेयरद्वारा औषधि छर्न निर्देशन
बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले डेंगु नियन्त्रणका लागि औषधि छर्किन नगरको जनस्वास्थ्य शाखालाई निर्देशन दिएका छन् । उनले आवश्यक समन्वय गरी आवश्यकता देखिए औषधि र जनशक्तिको व्यवस्थापन गरी औषधि छर्किन निर्देशन गरेको खनालले बताए ।

उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार घरदैलो, माइकिङ, रेडियो सूचना र पम्प्लेटका माध्यमबाट सचेतना अभियान चलाइएको छ । लामखुट्टेको वासस्थान तथा लार्भा खोज र नष्ट गर अभियानसमेत चलाइएको उपमहानगरले जनाएको छ । टोल विकास संस्था, महिला स्वास्थ्य स्वयंसेविका र नगरभित्रका स्वास्थ्यसस्ंथालाई अभियानमा सहभागी गराइएको नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत कपिल गौतमले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय